राहुललाई डीएन्डडी एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि



धरान ।

डीएन्डडी एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि राहुल विश्वकर्माले जितेका छन् । राहुलले दोस्रो तथा अन्तिम राउन्डमा ४–अन्डर ६६ को उत्कृष्ट कार्डकासाथ समग्रमा २–अन्डर १ सय ३८ स्कोर गरे । उनले प्रकृत तामाङ र सुन्दर राईलाई ९ स्ट्रोकको फराकिलो अन्तरले पछि पार्दै उपाधि जितेका हुन् । च्याम्पियन राहुलले नगद ५० हजार प्राप्त गरे । नेपाली एमेच्योर गल्फरले कुनैपनि प्रतियोगितामा नगद पुरस्कार प्राप्त गरेको पहिलो पटक हो ।

प्रकृत र सुन्दर राईले समग्रमा ७–ओभर १ सय ४७ को नतिजा निकाले । काउन्ट ब्याकमा प्रकृत दोस्रो भएका हुन् । प्रकृतले सोमबार ३–अन्डर ६७ को स्कोर बनाए । उनले ३० हजार प्राप्त गरे । तेस्रो भएका सुन्दरले सोमबार ४–ओभर ७४ को प्रदर्शन गरे । उनले २४ हजार प्राप्त गरे ।
राम तामाङले ३–ओभर ७३ खेलेर कुल ८–ओभर १४८ सहित चौथो स्थान हासिल गरे । उनले २० हजार रूपैयाँँ प्राप्त गरे । राजेश राईले ४–ओभर ७४ खेलेर १४९ स्कोरसहित पाँचौँ स्थानमा रहे ।

उनले १६ हजार नगद पुरस्कार पाए । सुमन भुजेल (७३), गजेन्द्र लिम्बु (७७) र पदम हाङ लिम्बु (७५)ले समान १ सय ५१ स्कोर गरे । काउन्ट ब्याकमा सुमन छैटौँ, गजेन्द्र सातौँ र पदम आठौँ भए । उनीहरूले क्रमशः १४ हजार, १३ हजार र १२ हजार पाए । दीपेन्द्र राई (७४) र देउकुमार राई (७६)ले समान १२–ओभर १ सय ५२ स्कोर गरेसँगै काउन्ट ब्याकमा नवौँ र दशौँ भए । उनीहरूले क्रमशः ११ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । पहिलो दिनका लिडर राहुलले फ्रन्ट नाइनमा ३–अन्डर ३३ खेले ।

उनले दोस्रो, तेस्रो, चौथो र छैटौँ होलमा बर्डीको सफलता प्राप्त गरे । पाँचौँ होलमा एक सट खेर फाले । ब्याक नाइनमा १–अन्डर ३३ खेल्ने क्रममा १४औँ होलमा एक सट गुमाए पनि १५औँ र १८औँ होलमा बर्डी प्रहार गरे । दोस्रो भएका प्रकृतले फ्रन्ट नाइनमा प्रभावशाली ४–अन्डर ३२ को स्कोर निकाले । पहिलो होलमा बोगी खेपेपनि उत्कृष्ट कमब्याक गरे । दोस्रो, पाँचौँ, छैटौँ, आठौँ र नवौँ होलमा बर्डी प्रहार गरे । उनले १–ओभर ३५ मा ब्याक नाइन सकाए । १२औँ होलमा एक सट बचाउँदा ११औँ र १४औँ होलमा बोगी खेले ।

सुन्दरले पाँचौँ होलमा डबल बोगी खेप्दा बाँकी होलमा पार जोगाउँदै फ्रन्ट नाइन २–ओभर ३८ खेले । ब्याक नाइन उनले २–ओभर ३६ खेले । जहाँ ११औँ, १२औँ, १५औँ र १७औँ होलमा बोगी खेपे । १०औँ र १६औँ होलमा बर्डी प्रहार गरे । बेलायतमा रहेका धरानका गल्फर देउ कुमार राई र दीपेन्द्र राईको प्रायोजनमा आयोजित ३६ होलको प्रतियोगितामा कूल ३८ खेलाडीले सहभागिता रहेको थियो । नेपालमै पहिलो पटक एमेच्योर गल्फमा नगद पुरस्कार प्रदान गरिएको यो प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख रूपैयाँँ रहेको थियो । जसले नेपाली गल्फ इतिहासमा ऐतिहासिक महत्व बोकेको छ ।

विजयी खेलाडीहरुलाई देउकुमार राई र दीपेन्द्र राईले पुरस्कार वितरण गरे । सहप्रायोजक देउकुमार राईले कम्तीमा पाँच वर्षसम्म प्रतियोगिता निरन्तर गर्ने बताए । उनले आगामी संस्करणमा पुरस्कार राशि बढाइने र विजेताले कम्तीमा ८० हजार रूपैयाँँ प्राप्त गर्ने जानकारी दिए । सहप्रायोजक दीपेन्द्र राईले नेपाल गल्फ संघ र धरान गल्फ क्लबसहित सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै एमेच्योर गल्फरको हितका लागि प्रतियोगिता आयोजना गरिएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार