मोतिराज र सुनितामीको स्वरमा गुन्जियो मालारानी भजन



अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको धार्मिक तथा पर्यटकीय पहिचान बोकेको मालारानी क्षेत्रको महिमा उजागर गर्ने नयाँ भजन ‘मालारानी’ सार्वजनिक गरिएको छ । यस भजनले स्थानीय आस्था, संस्कृति र प्राकृतिक सौन्दर्यलाई संगीत र दृश्यको माध्यमबाट प्रभावशाली रूपमा प्रस्तुत गरेको छ ।

लोकप्रिय गायक तथा सर्जक मोतिराज खनाल र गायिका सुनितामी परियारको सुमधुर स्वरमा सजिएको भजनमा शब्द र संगीत पनि मोतिराज खनालकै रहेको छ । संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् भने भजन सुमन खनालको परिकल्पनामा तयार भएको हो । मालारानी गाउँपालिकाको सहयोगमा निर्माण गरिएको यसको म्युजिक भिडिओमा चर्चित कलाकारहरू सुरबिर पण्डित, शर्मिला शर्मा र सुस्मिता बुढाथोकीको सशक्त अभिनय देख्न सकिन्छ ।

भिडिओ निर्देशन सुरज खनालले गरेका हुन्, जसले मालारानी क्षेत्रको धार्मिक महत्व, सांस्कृतिक पहिचान र प्राकृतिक सुन्दरतालाई कलात्मक ढंगले समेटेका छन् । भिडिओ सम्पादन बिनोद बोमले गरेका हुन । निर्माण टोलीका अनुसार भजन ‘मालारानी’ले स्थानीय धार्मिक विश्वासलाई उजागर गर्नुका साथै अर्घाखाँची जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

संगीत, दृश्य र सन्देशको संयोजनले यो भजनलाई दर्शक तथा श्रोतामाझ विशेष आकर्षणको केन्द्र बनाउने विश्वास लिइएको छ । गायक खनालका दर्जनाँै गीत बजारमा छन । केही समय अगाडि बजारमा आएको सुपा देउराली भजनले पनि चौतर्फी चर्चा कमाएको थियो । खनालले काठमाडौँमा बसेर पनि जिल्लाका मठमन्दिर र पर्यटन क्षत्रमा योगदान दिँदै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार