धान उत्पादनमा गिरावट



नेपालमा गतवर्षको तुलनामा चालु आर्थिक वर्षमा धान उत्पादनमा गिरावट आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०८२–०८३ को प्रारम्भिक अनुमान अनुसार धान उत्पादन, क्षेत्रफल र उत्पादकत्व तीनै सूचकमा गत वर्षको तुलनामा कमी आएको छ ।

चालु आवमा धान बाली भित्र्याइएको कुल क्षेत्रफल १३ लाख ६७ हजार ७२ हेक्टर कायम भएको छ, जुन गत आव ०८१–८२ को तुलनामा ३ दशमलव ८ प्रतिशतले न्यून रहेको मन्त्रालयको विवरणमा उल्लेख छ । गत आर्थिक वर्षमा १४ लाख २० हजार ६ सय ३६ हेक्टरमा धान खेती गरिएको थियो ।

यसैगरी धानको कुल उत्पादनमा पनि ४ दशमलव २ प्रतिशतले ह्रास आएको पाइएको छ ।

गत आवमा ५७ लाख ५५ हजार चार सय ६७ टन धान उत्पादन भएकोमा चालु आवमा ५५ लाख पाँच हजार एक सय २६ टनमात्र उत्पादन हुने प्रारम्भिक मन्त्रालयको अनुमान छ । यस्तै प्रतिहेक्टर उत्पादकत्व पनि गत वर्ष ४ दशमलव १९ टनबाट १ दशमलव १६ प्रतिशत घटेर ४ दशमलव १४ टनमा सीमित हुन पुगेको छ मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालयले धान बाली क्षेत्रफल र उत्पादन घट्नुमा पहाडी क्षेत्रमा बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको आकर्षणले खेतीयोग्य जमिन बाँझो रहने क्रम बढनु, धान बाली छाडेर फलफूल तथा नगदे बालीतर्फ आकर्षित हुनुजस्ता कारण रहेको भनेको छ ।

खेतीयोग्य जमिन खण्डीकरण भई औद्योगिक र अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुनाले धान खेती क्षेत्रफल खुम्चिएको र मधेस प्रदेशमा धान लगाउने मुख्य समयमा परेको खडेरीले क्षेत्रफलमा ठूलो असर पारेको मन्त्रालयको भनाइ छ ।
अनुमान तयार गर्दा निकै वैज्ञानिक र आधुनिक विधि अपनाएको दाबी गरेको मन्त्रालयले सात वटै प्रदेशका कृषि विकास सम्बन्धी मन्त्रालयबाट प्राप्त तथ्यांकलाई मुख्य आधार बनाइएको जानकारी दिएको छ ।

यसका साथै रोपाइँको अवस्था, सिँचाइ सुविधामा आएको परिवर्तन र किसानहरूसँगको अन्तर्क्रिया, कृषि ज्ञान केन्द्र, स्थानीय तह र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका इकाइ मार्फत गरिएको ‘बाली कटानी’ को तथ्यांकलाई पनि अनुमानको आधार मानिएको मन्त्रालयको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार