जसपा नेपाल र लोसपाबीच १२ बुँदे सम्झौता



जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकताका लागि १२ बुँदे सम्झौता भएको छ । समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर चयन भएका छन् भने उपेन्द्र यादव अध्यक्ष चयन भएका छन् ।

काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकताका लागि १२ बुँदे सम्झौता भएको छ । आइतबार भएको सो सम्झौताबमोजिम ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर चयन भएका छन् भने उपेन्द्र यादव अध्यक्ष चयन भएका छन् । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमतिपत्रमा उल्लेख छ ।

एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने सहमतिपत्रमा उल्लेख छ । पार्टीको थप एकीकरण प्रक्रिया प्रचलित कानुनबमोजिम हुने उल्लेख छ । पार्टी एकता पूरा नहुन्जेलसम्म केन्द्रीय समन्वय समितिले पार्टी सञ्चालन गर्ने सहमतिपत्रमा उल्लेख छ ।
दुवै पार्टीको भातृ संगठन, शुभेच्छुक संगठन तथा विभागहरू जसपा नेपालअन्तर्गत रही केन्द्रीय समन्वय समितिको मातहतमा रहेर कार्य गर्ने उल्लेख छ ।

पार्टी एकता भइ समायोजना पूरा नहुन्जेलसम्म दुवै पार्टीका अन्य संगठन तथा विभागहरू आआफ्नो जिम्मेवारीअनुसार समन्वय समितिको मातहतमा रहेर काम गर्ने सहमति भएको छ । फागुन २१ गते चुनावका लागि चयन गर्ने उम्मेदवारको लागि संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर रहनेसमेत सहमति भएको छ । यसैगरी एकीकृत पार्टीको झण्डा लोसपा नेपालको रहने सहमति भएको छ ।

यस्तै राष्ट्रियसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार निष्क्रिय हुने भएका छन् । आइतबार यी दुई दलहरूबीच भएको सम्झौतामा राष्ट्रियसभा सदस्यको उम्मेदवारमा जसपा नेपालका उम्मेदवार निष्क्रिय हुने विषयसमेत समावेश रहेको छ । महन्थ ठाकुर र उपेन्द्र यादवले हस्ताक्षर गरेको सहमतिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि महिला समूह, अल्पसंख्यक समूह र दलित समूहमा दिइएको उम्मदेवारी निष्क्रिय गर्न सहमति गरियो ।’

राष्ट्रियसभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । त्यसमध्ये एकजना राष्ट्रपतिबाट मनोनित सांसद हुन् । बाँकी १८ पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । त्यसका लागि यही पुस २३ मा उम्मेदवारको मनोनयन दर्ता भएको छ । त्यसक्रममा राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा जसपा नेपालबाट तीन जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्दा साह र दलिततर्फ चमेलीदेवी दास रहेका छन् । उनीहरूको उम्मेदवारी निष्क्रिय पार्ने सहमति भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २८ गते सोमबार