सुदूरपश्चिम ।
सुदूरपश्चिम प्रदेशमा दुई पदका लागि हुने राष्ट्रियसभा निर्वाचनमा चारजनाको उम्मेदवारी दर्ता भएको छ । काँग्रेस र एमालेबीच गठबन्धन बनेको छ भने सो गठबन्धनविरुद्ध नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि उम्मेदवारी दिएको छ । काँग्रेसबाट खम्मबहादुर खाती र एमालेबाट लीलाकुमारी भण्डारीको मनोनयन दर्ता भएको हो ।
अन्य क्लस्टरबाट उम्मेदवार बनेका खाती पूर्वमहान्यायाधिवक्ता हुन् । महिला क्लस्टरबाट उम्मेदवार बनेकी भण्डारी माओवादी पृष्ठभूमिकी नेतृ तथा पूर्वराज्यमन्त्री हुन् । काँग्रेस–एमाले गठबन्धनविरुद्ध नेकपाबाट अन्यतर्फ टीकाराम जैसी र महिलातर्फ रोजी बस्नेत सुनारले उम्मेदवारी दर्ता गराएका छन् । जैसी माओवादी पृष्ठभूमिका नेता हुन् भने बस्नेत एकीकृत समाजवादी हुँदै नेकपामा प्रवेश गरेकी हुन् ।
छ वर्षअघि निर्वाचित एमालेकी शारदादेवी भट्ट र नेकपाका तारामान स्वाँरको पदावधि सकिन लागेपछि उनीहरूको स्थानमा निर्वाचन हुन लागेको हो । ११ माघमा हुने निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुनेछन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको मतभार १९ तोकिएको छ । सुदूरपश्चिम प्रदेशमा कुल ६ हजार १५३ मतभार रहेको छ ।
प्रदेशसभामा १८ सदस्य रहेको काँग्रेससँग स्थानीय तहतर्फ ८६ जना अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख छन्, जसअनुसार काँग्रेसको कूल मतभार २ हजार ६०७ पुगेको छ । दोस्रो स्थानमा रहेको नेकपाको एक प्रदेशसभा सदस्य निलम्बनमा रहेकाले उसको मतभार १ हजार ८१६ छ। एमालेको मतभार १ हजार ५३३ रहेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको ५३–५३ तथा स्वतन्त्रतर्फ ३८ मतभार रहेको छ ।









प्रतिक्रिया दिनुहोस्