बाँके र बर्दियामा पछिल्ला पाँच वर्षमा वन्यजन्तुको आक्रमणका कारण दर्जनौँ नागरिकले ज्यान गुमाएका छन् । दुवै जिल्लाका निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन क्षेत्रमा रहेका मानव बस्ती वन्यजन्तुको उच्च जोखिममा छन् । बर्सेनि वन अतिक्रमण बढ्नु र भौतिक पूर्वाधारको विकासले वन्यजन्तुको वासस्थान खण्डित हुँदै जानु जस्ता कारणले मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा छ ।

तस्बीरः गतवर्ष बर्दिया ठाकुरबाबा नगरपालिकामा महिलालाई बाघले आक्रमण गरेको ठाउँमा जम्मा भएका स्थानीय ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
गत शनिबार बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ कुसुमस्थित सौरी सामुदायिक वन मध्यवर्ती क्षेत्रमा पाटेबाघको आक्रमणबाट ६२ वर्षीय मरिचमान भण्डारीको ज्यान गयो । सामुदायिक वनको देसीमारे चौर क्षेत्रमा गाई चराउन गएका उनलाई पाटेबाघले आक्रमण गरेको थियो । यस्तै, ८ कात्तिकमा राप्ती सोनारी–९, गुरुवागाउँका ४० वर्षीय इन्द्रबहादुर खत्रीले बाघको आक्रमणमा परी ज्यान गुमाए । स्थानीय रिम्ना सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका उनलाई बाघले आक्रमण गरेको थियो ।
वेपत्ता भएको भोलिपल्ट खत्रीको शव क्षतविक्षत अवस्थामा फेला प¥यो । डिभिजन वन कार्यालय बाँकेका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१–०८२ मा वन्यजन्तुको आक्रमणबाट दुईजनाले ज्यान गुमाएका थिए । राप्ती सोनारी र खजुरामा चितुवाको आक्रमणबाट दुई जनाले ज्यान गुमाएको कार्यालयका सूचना अधिकारी टंक गुरुङले जानकारी दिए । मृत्यु हुनेमा खजुरा गाउँपालिका वडा नम्बर ६ का २ वर्षीय बालक र राप्ती सोनारी–८ की एक महिला रहेको उनको भनाइ छ ।
सोही वर्ष राप्ती सोनारी–७ मण्डफवा सामुदायिक वनमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका थिए । दुवै जनाको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । सोही वर्ष बाँकेमा घरपालुवा जनावर क्षतिका ४३ वटा घटना घट्नुका साथै राप्ती सोनारी–८ मा हात्तीले ओभरी त्रिशक्ति सामुदायिक वनको भवनमा क्षति पु¥याएको थियो । बाँकेमा चालू आव २०८२–०८३ को हालसम्म पाटेबाघको आक्रमणबाट दुई जना पुरुषले ज्यान गुमाएका छन् ।
डिभिजन वन कार्यालय बाँकेले आर्थिक वर्ष २०८२–०८३ को हालसम्म वन्यजन्तुको १० वटा बोका÷खसी÷पाठा, ८ वटा बाख्रा, ६ वटा बंगुर,३ वटा भेडा, ३ वटा बाच्छा र ३ वटा गाईगोरुको मृत्यु भएको जनाएको छ । चालू आवको हालसम्म बाँकेमा कूल २९ वटा घटना घटेको सूचना अधिकारी गुरुङले जानकारी दिए । तीमध्ये सबैभन्दा धेरै राप्ती सोनारी गाउँपालिकामा १६ वटा घटना घटेका छन् । बोका, खसी, पाठा, बाख्रा र बंगुर लगायतका घरपालुवा जनावरको क्षति चितुवा र मानवीय क्षति पाटेबाघको आक्रमणबाट हुने गरेको कार्यालयले जनाएको छ ।
पाँच वर्षमा बर्दियामा ३७ नागरिकको मृत्यु
बर्दियामा साउन ३० गते गुलरिया–१२ भैसाहीकी जगतरानी थारू, भदौ २९ गते गुलरिया–१२ टडुवाकी कविता मुक्तान, मंसिर १२ गते गोपी थरुनी, पुस १ गते बारबर्दिया–१० डफैयाका दिनेश थारू र पुस ९ गते पार्वती डाँगीले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा मात्रै पछिल्लो पाँच वर्षमा १२ जनाको ज्यान गइसकेको छ । यस्तै पुस १५ गते मधुवन–२ कोठियागाउँकी १७ वर्षीया विनिता परियारले बाघको आक्रमणबाट ज्यान गुमाइन् ।
यस्तै पुस १७ गते राजापुर–१० कर्मोहनीकी ४० वर्षीया बालिका पुरीको हात्तीको आक्रमणमा परी मृत्यु भयो । माथि उल्लेखित घटना त पुस महिनामा घटेका प्रतिनिधि घटना मात्रै हुन् । बर्दियामा पछिल्ला पाँच आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट कूल ३२ जनाले ज्यान गुमाएको डिभिजन वन कार्यालय बर्दियाको तथ्यांक छ । तथ्यांकअनुसार चालू आर्थिक २०८२–०८३ को हालसम्म सातजनाले विभिन्न वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाइसकेका छन् भने दशजना घाइते भएका छन् ।
५९ वटा पशुवस्तुको क्षति भएको छ । कार्यालयका सूचना अधिकारी रामगोपाल चौधरीका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा वन्यजन्तुको आक्रमणबाट ६ जनाले ज्यान गुमाउनुका साथै १५ जना घाइते भएका थिए । आर्थिक वर्ष २०८०–०८१ मा ४ जनाको मृत्यु र ७ जना घाइते भएको, आर्थिक वर्ष २०७९–०८० मा ३ जनाको मृत्यु र ६ जना घाइते भएको सूचना अधिकारी चौधरीले जानकारी दिए । आर्थिक वर्ष २०७८–०७९ मा पाँचजनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएको र आर्थिक २०७७–०७८ मा ७ जनाले ज्यान गुमाएको र सातैजना घाइते भएको तथ्यांक छ ।
सूचना अधिकारी चौधरीले वन क्षेत्रमा पशुवस्तुको क्षति, बाली नोक्सान गर्नुका साथै घरगोठसमेत नोक्सान गरेको जानकारी दिए । मृत्यु र घाइते हुनेमा अधिकांश चितुवा, हात्ती, गैडा र बाघको आक्रमण मुख्य कारण रहेको उनको भनाइ छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०८१–०८२ र २०८२–०८३ को हालसम्म निकुञ्ज क्षेत्रमा कूल पाँच जनाले ज्यान गुमाएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकरी सरोजमणी पौडेलले आर्थिक वर्ष २०८१–०८२ बाघको आक्रमणबाट एकजना महिला र हात्तीको आक्रमणबाट तीनजनाको मृत्यु भएको जानकारी दिए । २०८२–०८३ को हालसम्म निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
मानव–वन्यजन्तुबीच द्वन्द्व झन् बढ्दै
बाँके र बर्दियामा दुई राष्ट्रिय निकुञ्ज छन् । यी दुवै निकुञ्ज बाघ, हात्ती, चितुवा लगायतका वन्यजन्तुको प्रमुख वासस्थान हुन् । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यगरी पाटेबाघका लागि प्रमुख तथा सुरक्षित वासस्थानका रुपमा रहेका छन् । सन २०२२ को बाघ गणनाअनुसार बर्दियामा १२५ र बाँकेमा कूल २५ वटा बाघ रहेका छन् ।
दुवै जिल्लामा मध्यवर्ती तथा सामुदायिक वन क्षेत्रमा मानव वस्ती प्रशस्तै छन् । त्यसैले दुवै जिल्लामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दो छ । मानव–वन्यजन्तुको द्वन्द्व व्यवस्थापन मुख्य चुनौतीका रुपमा रहेको छ । मानव–वन्यजन्तुको द्वन्द्वकै कारण निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरु सधैँ त्रासमा हुने गरेका छन् । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दासमेत त्यस क्षेत्रका नागरिक वन्यजन्तुबाट सुरक्षित छैनन् भन्ने देखाउँछ ।
बर्दियाको राजापुर–१० का स्थानीय रविन्द्र खत्री आफूहरु सधैँ वन्यजन्तुको त्रासमा रहेको बताउँछन् । उनका अनुसार बाघ, हात्ती तथा चितुवा जस्ता हिंस्रक जंगली जनावारका कारणका कारण बर्सोनि मानिसहरुले अकालमा ज्यान गुमाइरहेका छन् । राज्यले वन्यजन्तुको संरक्षणसँगै मानवको जीवनसमेत रक्षा गर्नुपर्ने उनको भनाइ छ ।
पाटेबाघको आक्रमणबाट निधन भएका ६२ वर्षीय मरिचमान भण्डारीकी बहिनी जगशिला भण्डारी राज्यले मानिसको जीवनभन्दा बाघलाई प्राथमिकता दिएको गुनासो गरिन् । उनी भन्छिन्, ‘राज्यले मान्छेभन्दा बाघ ठूलो मान्छ । हरेक वर्ष मानिसले बाघकै कारण ज्यान गुमाइरहेका छन् । नागरिकको जीवनरक्षा गर्ने जिम्मा राज्यको हो । हाम्रो जीवनको ग्यारेन्टी चाहियो ।’ वडा नम्बर १ की जनप्रतिनिधिसमेत रहेकी उनी आफूहरुले आफ्नो सुरक्षा गर्न खोज्दा निकुञ्जले संरचना निर्माण गर्न नदिने गरेको दुःखेसो गर्छिन् ।
यस्तै बाँकेको राप्ती सोनारी ९ का स्थानीय बालकृष्ण परियारले पनि जंगल क्षेत्रका नागरिकहरुले पाइला पाइलामा सतर्कता अपनाउनुपर्ने अवस्था रहेको बताए । उनका अनुसार राज्य नागरिकको सुरक्षा गर्नु आवश्यक छ । बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेल जंगल क्षेत्र वन्यजन्तुको प्रमुख वासस्थान र हिँडडुल गर्ने क्षेत्र भएकोले नागरिक सधैँ सचेत रहन आवश्यक छ । जंगली जनावरले अहिलेसम्म बस्ती आएर मानिसको ज्यान नलिएको भन्दै उनले नागरिकहरु जंगलमा गएको बेला आफूलाई असुरक्षा महसुस गर्दा आक्रमण गरेको बताए ।
उनी भन्छन्, ‘वन्यजन्तुको घर नै जंगल हो । त्यहाँ उसले स्वतन्त्र रुपमा घुमफिर गर्न चाहन्छ । त्यसैले हामीले जंगलमा जादाँ बानी सुधार गर्नुपर्छ। सचेतना अपनाउनुपर्छ ।’ मानव–वन्यजन्तुबीच द्वन्द्व नहोस् भनेर निकुञ्जले बस्तीस्तरमा बर्सोनि सचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको उनको दाबी छ । यस्तै, डिभिजन वन कार्यालय बर्दियाका डिभिजन वन प्रमुख विजयराज सुवेदीले वन्यजन्तुको समस्या जटिल रहेको बताए । उनका अनुसार उक्त जटिल समस्या समाधानको लागि राज्यले अल्पकालीन र दीर्घकालीन कार्यक्रम सञ्चालन गरिरहेको छ ।
‘नागरिकस्तरमा चेतना बढाउने, वन र आवादी बीचमा तारबार लगाउने गरिरहेका छौँ । वनलाई जोगाउने, समस्याग्रस्त वन्यजन्तुलाई समातेर अन्यत्र राख्ने लगायतका काम हामीले गरिरहेका छौँ । वन्यजन्तुको वासस्थानलाई सुधार गर्ने काम भइरहेको छ ।’ उनले भने । बाँके र बर्दियामा बर्सेनी वन अतिक्रमण बढ्नु र भौतिक पूर्वाधारको विकासले वन्यजन्तुको वासस्थान खण्डित हुँदै गएकाले मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा छ ।









प्रतिक्रिया दिनुहोस्