मिसन संवाददाता,सुर्खेत
नेकपा एमालेका नेता विष्णु रिजाल सर्वाधिक मतसहित दैलेख क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि उनी सर्वाधिक मत ल्याउन सफल भएका हुन् ।एमालेको निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटीको सम्पन्न बैठकले रिजाललाई उम्मेदवार छनोट गरेको हो । क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि रिजालसहित पूर्वसांसद लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा, राजबहादुर शाही र अमृता बोहरा आकांक्षी थिए । जसमा आकांक्षी अमृताबाहेक अन्य चार जनाबीच उम्मेदवार छनोटको चुनावी प्रतिस्पर्धा नै भएको थियो ।
उक्त चुनावी प्रतिस्पर्धामा रिजालले ६७, लक्ष्मीप्रसाद पोखरेलले ६६, राजबहादुर शाहीले ६१ र राजबहादुर बुढाले ५० मत प्राप्त गरेकाथिए । एमालेको केन्द्रीय सदस्यसमेत रहेका रिजाल पहिलोपटक संसदीय चुनावमा भाग लिने तयारीमा छन् । उनी यसअघि २०७९ मा पनि उम्मेदवार बन्न चाहेका थिए । तर पार्टी केन्द्रले टिकट भने लक्ष्मीप्रसाद पोखरेललाई दिएको थियो ।तर निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटीले रिजालसहित पोखरेल र अम्बिका बोहराको नाम पनि उम्मेद्वारका लागि केन्द्रमा सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटीको सदस्यमा पार्टीको ४४ वडाका वडाध्यक्षहरू, पार्टीको पालिका कमिटीका २५ जना र केही जिल्ला कमिटीका सदस्यहरूसहित १२७ जना सदस्य छन् । जसमध्ये १२३ जनाले मतदान गरेका थिए ।
यस्तै नेकपा एमाले दैलेखले क्षेत्र नम्बर– १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि आकांक्षीको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ । सोमबार बसेको निर्वाचन क्षेत्र नम्बर–१ क्षेत्रीय समन्वय कमिटीले ५ जना नेताहरूको नाम सम्भावित उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।जसमा पूर्वसांसद रवीन्द्रराज शर्मा, तेजबहादुर चन्द, नन्दकिशोर बस्नेत, रत्नबहादुर खड्का र लीला विसीको नाम रहेको छ । खड्का यसअघि नारायण नगरपालिकाको नगरप्रमुख भइसकेका नेता हुन् । यो क्षेत्रमा २०७९ मा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीका अम्मरबहादुर थापाले चुनाव जितेका थिए भने अहिले सिफारिस भएका रवीन्द्रराज शर्मा पराजित भएका थिए ।कुनै बेला एमालेमै रहेका थापा तत्कालीन नेकपा विभाजनका क्रममा नेकपा एसतिर लागेका थिए । हाल उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट यही क्षेत्रबाट उम्मेदवारका लागि सिफारिस छन् ।
जुम्लाबाट महत एकल सिफारिस
प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतको नाम एकल रूपमा सिफारिस गरिएको छ । पार्टीको जिल्ला कमिटीको बैठकले महतलाई उपयुक्त उम्मेदवार ठहर गर्दै सर्वसम्मत रूपमा एकल सिफारिस गर्ने निर्णय गरेको हो ।पार्टी स्रोतका अनुसार संगठन निर्माणमा लामो समयदेखि सक्रिय रहँदै आएका महतले जिल्लाको राजनीतिक, सामाजिक तथा विकासको मुद्दामा निरन्तर योगदान गर्दै आएको मूल्यांकनको आधारमा उनको नाम अघि सारिएको जनाइएको छ ।
जिल्ला कमिटी प्रचार विभाग प्रमुख सरोज शाहीका अनुसार जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी नेताहरूले पार्टी संगठनलाई सुदृढ बनाउने, कार्यकर्ताबीच एकता कायम गर्ने र स्थानीय तहदेखि केन्द्रसम्म जनताको सवाललाई उठान गर्न महतले खेलेको भूमिकाको प्रशंसासमेत गरेको थियो । सो बैठकमा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आगामी रणनीति, संगठन विस्तार, चुनावी तयारी तथा कार्यकर्ताको भूमिकाबारे पनि विस्तृत छलफल गरिएको थियो ।
कालीकोटमा आकांक्षीको भिड
प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले कालीकोटमा आकांक्षीको भिड लागेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा एमालेबाट १२ जनाले दाबी पेस गरेका छन् । काठमाडौँमा एमाले कालीकोटको बैठक बसेर उम्मेदवार छनोटको छलफल चलाउँदा १२ जना आकांक्षी देखिएपछि सिफारिस गर्न सकस भएको हो ।एमाले जिल्ला अध्यक्ष तुलाराज मल्लले उम्मेदवारका आकांक्षी धेरै भएकाले सिफारिस गर्न समस्या भएको बताए । उनका अनुसार दाबेदारहरूमा केन्द्रीय सदस्य नगिन्द्र शाही, मिनबहादुर शाही, इन्दिरा सज्याल, नेता कासिचन्द बराल, रमेश शाही, तपेन्द्र शाही, वकिलबहादुर बम, धिरबहादुर बम, टेकबहादुर बोगटी, कुर्मराज शाही, भरतराज धिताल र राजेन्द्र थापा रहेका छन् । सुरुमा १२ जनाको नाम आएको र विस्तारै अलि कम भएजस्तो देखिए पनि अझै सिफारिस गर्न समस्या भएको मल्लको भनाइ छ । अब एक चरण बसेर फेरि छलफल गर्ने र नभएमा पार्टी केन्द्रको निर्णयअनुसार तीनजनाको नाम क्लस्टर मिलाएर पठाउने योजनामा रहेको अध्यक्ष मल्लले बताए ।









प्रतिक्रिया दिनुहोस्