सुदूरपश्चिममा वार्षिक पौने तीन लाख मेट्रिकटन दूध उत्पादन



धनगढी ।

सुदूरपश्चिम प्रदेशलाई परम्परागत रूपमा कृषि र पशुपालनमा निर्भर क्षेत्रका रूपमा लिइन्छ । पहाडी भूगोल, ग्रामीण जीवनशैली र परम्परागत खाद्य संस्कृतिले यहाँको दुग्ध उत्पादनलाई देशका अन्य प्रदेशभन्दा फरक र विशिष्ट बनाएको छ । यही पृष्ठभूमिमा नेपाल डेरी एसोसियसन सुदूरपश्चिम प्रदेशको छैटौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सुदूरपश्चिमको डेरी क्षेत्रको वर्तमान अवस्था, सम्भावना र चुनौतीमाथि गम्भीर बहसको थालनी गरेको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाहले प्रस्तुत गरेको तथ्यांकअनुसार नेपालमा वार्षिक रूपमा करिब २७ लाख लिटर दूध उत्पादन हुन्छ । यसमध्ये सुदूरपश्चिम प्रदेशको योगदान मात्रै २ लाख ७५ हजार लिटर रहेको छ ।भौगोलिक कठिनाइ, सीमित पूर्वाधार र बजार पहुँचका समस्या हुँदाहुँदै पनि यो उत्पादन सुदूरपश्चिमको ठूलो उपलब्धि मानिन्छ ।

सचिव शाहका अनुसार दूध उत्पादनले हजारौँ किसान र व्यवसायीलाई प्रत्यक्ष रूपमा रोजगारी दिएको छ । ‘यदि व्यवस्थित बजारीकरण गर्न सकियो भने दूध क्षेत्रले अझ धेरैलाई घरमै स्वरोजगार दिन सक्छ,’ उनले भने । ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनाको प्रमुख आधारका रूपमा डेरी क्षेत्रलाई विकास गर्न सकिने उनको धारणा थियो । नेपालमा प्रतिव्यक्ति वार्षिक ९२ लिटर दूध उपलब्धता हुनुपर्ने मानक रहे पनि देशको औसत उपलब्धता ९० लिटर मात्र छ ।

तर सुदूरपश्चिममा भने प्रति व्यक्ति वार्षिक १०२ लिटर दूध उपलब्धता रहेको तथ्यले यो प्रदेश दूध उपभोगमा अगाडि रहेको देखाउँछ । यसको मुख्य कारण यहाँको घरेलु उपभोग संस्कार हो । सुदूरपश्चिमका धेरै घरमा दूधबाट घरमै घिउ, दही, मोही र अन्य परिकार बनाउने चलन अझै कायम छ । बजारमा मात्र निर्भर नभई घरेलु प्रयोगमा जोड दिइएकाले दूध उत्पादन र उपभोगबीच सन्तुलन देखिएको सचिव शाहको भनाइ रहेको छ ।

सुदूरपश्चिममा सञ्चालनमा रहेको घाँस विकास कार्यक्रमले पशुपालनलाई प्राकृतिक बनाएको छ । रासायनिक दाना र कृत्रिम पदार्थको प्रयोग कम भएकाले यहाँ उत्पादन हुने दूधलाई ‘प्राकृतिक र मिसावटरहित’ मानिन्छ । सचिव शाहले यही विशेषतालाई आधार बनाएर सुदूरपश्चिमको छुट्टै डेरी पहिचान बनाउन सकिने बताए ।

‘यहाँको दूध र दुग्ध परिकारलाई ब्रान्डिङ गरेर बजारमा लैजान सकियो भने सुदूरपश्चिमको छुट्टै पहिचान बन्छ,’ उनले भने । घिउ, दही, छुर्पी, पनिरजस्ता परिकारलाई स्थानीय स्वाद र संस्कृतिसँग जोडेर प्रवद्र्धन गर्न सके प्रदेशको आर्थिक रुपान्तरणमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे। यद्यपि सुदूरपश्चिमको डेरी क्षेत्र बाहिरबाट हेर्दा व्यवस्थित देखिए पनि भित्र गहिरो विरोधाभास रहेको छ ।

कार्यक्रममा उठाइएको सबैभन्दा गम्भीर प्रश्न यही थियो–किसान भन्छन् दूध बिक्री भएन, डेरी व्यवसायी भन्छन् प्रशस्त दूध पाएनौँ र उपभोक्ता भन्छन् दूध नै पाइँदैन । उनले यो त्रिकोणात्मक समस्या उत्पादनभन्दा बढी व्यवस्थापन र प्रणालीगत कमजोरीसँग जोडिएको बताए । संकलन केन्द्रको अभाव, चिस्यान प्रविधि (कोल्ड चेन) नहुनु, ढुवानी समस्या, मूल्य निर्धारणको अस्पष्टता र बजारमा बिचौलियाको प्रभावले यो अवस्था सिर्जना गरेको उनी बताउँछन् ।

दूध उत्पादनमा किसानले बढ्दो लागतको मार खेपिरहेका छन् । पशु आहार, औषधि, श्रम र ढुवानी खर्च बढ्दै जाँदा किसानको नाफा घटेको छ । यही कारण कतिपय किसान दूध उत्पादनबाट निरुत्साहित हुँदै गएका छन् । सचिव शाहले उत्पादन वृद्धि र लागत घटाउन विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । सहुलियत ऋण, पशु बीमा, प्रविधिमैत्री गोठ सुधार, उन्नत जातको पशुपालन र तालिम कार्यक्रमलाई प्रभावकारी बनाउन सके मात्र डेरी क्षेत्र दिगो बन्ने उनको धारणा थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश सामाजिक विकास समिति सभापति एवं नेकपा एमालेका नेता धर्मराज पाठकले कृषि क्षेत्रको समग्र अवस्थामाथि प्रश्न उठाए । उनले जनसङ्ख्याको ठूलो हिस्सा कृषिमा निर्भर भए पनि कूल गार्हस्थ उत्पादनमा अपेक्षित योगदान नदेखिनु गम्भीर समस्या भएको बताए । ‘सरकारी, सहकारी र निजी क्षेत्रबाट प्रयास भइरहेका छन्, तर उत्पादनमा सुधार हुन सकेको छैन,’ पाठकले भने।

कृषिमा ठूलो जनसङ्ख्या लागे पनि बेरोजगारी र गरिबी हटाउन नसकिएको यथार्थ उनले औँल्याए । सुदूरपश्चिमबाट मौसमी कामदार भारत जाने क्रम अझै रोकिएको छैन, जसले ग्रामीण अर्थतन्त्र कमजोर बनाइरहेको उनको भनाइ थियो । यदि डेरी क्षेत्रलाई मूल्य शृंखलासँग जोड्न सकियो भने यसले रोजगारी सिर्जनामा ठूलो भूमिका खेल्न सक्छ । दूध उत्पादनदेखि प्रशोधन, प्याकेजिङ, ढुवानी र बजारीकरणसम्म थुप्रै अवसर छन् ।

विशेषगरी युवा र महिलालाई लक्षित कार्यक्रम सञ्चालन गर्न सके वैदेशिक रोजगारीको विकल्प निर्माण गर्न सकिने उनले अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा सहभागी डेरी व्यवसायीहरूले स्थानीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । नीति, लगानी र बजारलाई एउटै दिशामा लैजान सके मात्र डेरी क्षेत्रले आफ्नो सम्भावना पूरा गर्न सक्ने उनीहरूको धारणा थियो ।

नेपाल डेरी एसोसियसन सुदूरपश्चिम प्रदेश अध्यक्ष चेतराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनात्मक समीक्षा र भावी कार्यदिशाबारे छलफल गरिएको थियो । अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिने जनाइएको छ । कार्यक्रमको समापन गर्दै डेरी व्यवसायी भागरथी कार्कीले सुदूरपश्चिमको डेरी क्षेत्र सम्भावनाले भरिपूर्ण भए पनि नीति र व्यवहारबीचको दूरी घटाउन नसके समस्या झनै गहिरिने चेतावनी दिइन्। उनले किसान, व्यवसायी र उपभोक्ताको हित सन्तुलन हुने प्रणाली निर्माण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार