कञ्चनपुरमा सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रूख हटाइँदै



कञ्चनपुर ।

डिभिजन वन कार्यालय कञ्चनपुरले सार्वजनिक क्षेत्रमा रहेका जोखिमपूर्ण रूख हटाउने प्रक्रिया अघि बढाएको छ । सम्भावित धनजनको क्षति न्यूनीकरण गर्न वन कार्यालयले त्यस्ता रूख हटाउन लागेको हो । वन क्षेत्रबाहेक जग्गाधनी प्रमाणपुर्जा भएका र नभएका सार्वजनिक सडक, सरकारी कार्यालय, समिति, संस्थान, विद्यालय, पानीका मुहान, धार्मिकस्थल तथा अन्य सार्वजनिक स्थानमा रहेका जोखिमपूर्ण रूख हटाउन वन कार्यालयले तीनदिने सार्वजनिक सूचना जारी गरेको छ ।

डिभिजनल वन अधिकृत सुरेशचन्द्र डिसीका अनुसार जग्गाधनी प्रमाणपुर्जा नभएका सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रूख तत्काल नहटाउँदा धनजनको क्षति हुनसक्ने देखिएमा वन नियमावली २०७९ को नियम ३६ बमोजिम हटाउन सकिने व्यवस्था छ । जग्गाधनी प्रमाणपुर्जा भएका सरकारी कार्यालय, समिति, संस्थान तथा अन्य कार्यालय परिसरभित्रका रूखका हकमा सम्बन्धित कार्यालयको अनुरोध र नियम ३६ को उपनियम (१) बमोजिम समितिको सिफारिसका आधारमा डिभिजनल वन अधिकृतले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिको निर्णयअनुसार हटाउन सक्ने प्रावधान रहेको उनले बताए ।

‘सोही कानुनी व्यवस्थाअनुसार जोखिमपूर्ण रूख हटाउन सूचना जारी गरेका हौँ,’ उनले भने, ‘सूचना अनुसार निवेदन आउने क्रम जारी छ ।’ निवेदन संकलनपछि वन अधिकृतसहितको टोलीले स्थलगत अनुगमन गरी रूख जोखिमपूर्ण भए–नभएको मूल्यांकन गर्ने र त्यसको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिमा पेस गरिने उनले जानकारी दिए । समितिको निर्णयअनुसार तत्काल हटाउनुपर्ने ठहर भएमा रूख हटाइने उनको भनाइ छ ।

शुक्लाफाँटा नगरपालिका–६ स्थित वन समिति कसरौलतर्फ जाने कालोपत्रे सडकको दायाँबायाँ तथा बीचभागमा रहेका केही जोखिमपूर्ण रूखका कारण यसअघि मानवीय क्षतिसमेत भएको छ । रूखको हाँगा खसेर लाग्दा एक जनाको ज्यान गएको र एकपटक विद्यालयका विद्यार्थी बोकेको बसमाथि रूख खस्दा बस क्षतिग्रस्त भए पनि विद्यार्थीको ज्यान जोगिएको वडाध्यक्ष दानसिंह ऐरले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार