प्रचण्ड र देउवालाई जाँचबुझ आयोगले पठायो पत्र



काठमाडौँ ।

जेनजी आन्दोलनमा भएको दमन र विध्वंसबारे जाँचबुझ गर्न गठन भएको जाँचबुझ आयोगको म्याद बुझ्न अस्वीकार गरेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक सूचना प्रकाशित हुने चेतावनीपछि म्याद बुझेका छन् । जाँचबुझ आयोगले दुवै जनालाई आफ्नो धारणा राखिदिन आग्रह सहित पत्र पठाएको थियो ।

व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)सँगको समन्वयबाट पत्र र म्याद बुझाउने प्रयास भएकोमा दुवै नेताहरूले पत्र बुझ्न अस्वीकार गरेका थिए। काँग्रेस सभापति देउवाले आफू नै २४ भदौको आगजनीबाट पीडित भएको, घर जलेर नष्ट भएका कारणले अन्यत्र बस्नु परेको, अनि जेनजी आन्दोलनका बेला आफू राज्यको कुनै भूमिकामा पनि नरहेको भन्दै त्यस्तो अवस्थामा किन बयान दिने ? भनी प्रश्न गरेका थिए ।

त्यसैगरी प्रचण्डले पनि जेनजी आन्दोलनका बेला आफू प्रमुख विपक्षी दलको नेताको भूमिकामा रहेको, त्यतिबेला सत्तामा रहेकाहरूमाथि खबरदारी गरिरहेको तर उल्टै आफ्नो घरमा आगजनी भएको अवस्थामा के आधारमा बयान दिने भनी प्रश्न गरेर पत्र बुझेका थिएनन् । तर आयोगको समन्वयमा खटिएका कर्मचारी र सुरक्षा अधिकारीहरूले बयान नभई सोधपुछ र धारणाका लागि पत्र पठाइएको स्पष्ट पारेका थिए ।

आयोगलाई सहयोग गर्न आग्रह गर्दै उनीहरूले पठाएको पत्र बुझ्न अस्विकार गरेमा सार्वजनिक सञ्चारमाध्यमहरूबाट सार्वजनिक सूचना निकालिने र त्यसपछि सहयोग नगरेमा त्यही व्यहोरा प्रतिवेदनमा समावेश हुने चेतावनी दिएका थिए । ‘त्यसपछि दुवैजनाले केही घण्टाको फरकमा पत्र बुझ्नुभएको छ’ म्याद तामेलमा सहयोग गरिरहेको प्रहरीसम्बद्ध स्रोतले भन्यो, ‘तर आयोगमा जाने वा लिखित जवाफ पठाउने भन्नेबारे केही तय भइसकेको छैन ।’

भदौ २४ गते देशभरि नै प्रदर्शन हुँदा विभिन्न भौतिक सम्पत्तिमाथि आगजनी तथा तोडफोड भएको थियो । भीड अनियन्त्रित भइसक्दा देउवा आफ्नै बूढानिलकण्ठस्थित निवासमा थिए । सुरक्षाका लागि खटिएका प्रहरीहरूलाई पनि छिचोल्दै प्रदर्शनकारी उनको घर पसेको थियो । त्यसक्रममा प्रदर्शनकारीले देउवा र उनकी श्रीमती आरजु राणामाथि समेत कुटपिट गरेको थियो । पछि नेपाली सेनाले दुवै जनाको उद्धार गरेको थियो ।

त्यसैगरी प्रचण्ड प्रदर्शन हुँदा सिंहदरबारभित्र थिए । सेनाले उनलाई पनि उद्धार गरेको थियो । दुवै नेताहरूको घरमा आगजनी तथा तोडफोड भएको थियो । आयोगले अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयान लिने तयारी गरिरहेको छ । बयानका लागि आयोगले पत्र लेख्ने तयारी छ । ओलीले आफू बयान लिन नआउने बताउँदै आएका छन् ।

यसबीचमा आयोगका पदाधिकारी स्वयम् उपस्थित भएर पनि उनको बयान लिनसक्ने स्रोतले बताएको छ । तर कहिले बयान लिने भन्ने यकिन भने भइसकेको छैन । यसरी आयोगले यस घटनासँग सम्बन्धित एक सय ५० भन्दा बढी मानिसँग बयान र घटना विवरण कागज गराएको छ ।
आयोगले केही दिनअघि मात्रै तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिएको थियो । त्यसअघि आइजिपी दानबहादुर कार्की, पूर्वआइजिपी चन्द्रकुबेर खापुङ, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल लगायतको पनि बयान लिइसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १९ गते शनिबार