अपाङ्गताले छेकेन सफलताको बाटो



छोराछोरी नै दृष्टिविहीन भएको चिन्तामा रहेका विजयका बुवाआमा जब विजय एसईईमा राम्रो नतिजा ल्याएर पास भएको थाहा पाए, त्यसपछि घरमा खुसियालीको वातावरणका दिन सुरु भए । विजय भन्छन्, ‘छोराछोरी नै दृष्टिविहीन भए भनेर सधैँ चिन्तामा बुवाआमा हुनुहुन्थ्यो, जब म एसईई पास भएँ । अनि मेरो घरमा धेरै खुसियाली छाएको थियो । त्यसले झनै मलाई हौसला मिल्यो ।’

सुर्खेत ।  

जिल्लाको सिम्ता गाउँपालिका वडा नम्बर–६ राकमका विजय शाही ठकुरी दृष्टिविहीन समस्याको अपाङ्गता भएका व्यक्ति हुन् । बुवा पूर्णबहादुर शाही ठकुरी र आमा ललिता शाही ठकुरीको कोखबाट २०५६ सालमा उनको जन्म भयो । जन्मजात दृष्टिविहीन समस्या भोग्दै शाहीको बाल्यकाल गाउँमै बित्यो । उनी घरको पहिलो सन्तान हुन् । उनी दृष्टिविहीन भएको भन्दै बुवाआमासमेत निकै चिन्तित थिए । किनकी त्यतिबेलाको समयमा अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण अहिलेको जस्तो सहज थिएन ।

निम्नपरिवारमा जन्मिएका शाहीले सानैदेखि पढाइमा रुची राख्थे । शाहीले पढाइमा रुची राख्न थालेपछि बुवाआमाले पनि उनलाई पढ्न पठाउने निर्णय गरेपछि गाउँकै विद्यालयमा भर्ना भए । तर उनको सिकाइ उपलब्धि सुरुसुरुमा राम्रो हुन सकेन । ‘विद्यालयमा अपाङ्गता भएका व्यक्तिहरूलाई पढाउने छुट्टै कक्षा पनि थिएन भने मेरो बहिनी पनि दृष्टिविहीन नै थिइन्’, विजयले भने, ‘तर स्कुलमा अन्य साथीहरूले जसरी सिक्न पाएको भए म पनि पढ्न सक्थेँ होला भन्ने लाग्थ्यो । त्यसैमा बुवाआमाले साह्रै चिन्ता गर्नुहुन्थ्यो । गाउँका मानिसहरू पनि पढाएर यिनीहरूले के नै गर्न सक्लान र ? भन्थे ।’

विस्तारै विजय र उनका परिवारमा पढाइप्रति चिन्ता बढिरहेको थियो । त्यसैबीच एकदिन शिखर मावि रामघाटका शिक्षक टेकबहादुर ओली विजयको घरमा आइपुगे । विजय र उनको बहिनीलाई देखेपछि उनीहरूलाई शिखर मावि रामघाटमा दृष्टिविहीनका लागि ब्रेललिपीबाट पढ्ने वातावरण पनि छ भनेर जानकारी दिए । उक्त जानकारीपछि विजयको घरमा खुसियाली छायो । उनको परिवारले पहिलोपटक सुनेको थियो कि दृष्टिविहीनका लागि ब्रेललिपीबाट पढाइ हुन्छ भनेर । अनि भोलिपल्ट पढ्नका लागि विजय रामघाट गए ।

त्यसपछि पढाइमा सधैँ उत्कृष्ट

जब विजयले ब्रेललिपीबाट आफ्नो पढाइ सुरु गरे, त्यसपछि उनी सधैँ कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भए । कक्षामा गुरुहरूले पनि उनलाई हौसला दिइरहन्थे भने घरमा बुवाआमाले समेत पढ्नमा जोडबल गरिरहे । ‘पहिलोपटक हामीजस्ता दृष्टिविहीनका लागिसमेत पढ्ने वातावरण रहेछ भन्ने थाहा पाएँ र बुवाआमा गुरुहरूको हौसला पनि पाएँ’, उनले थपे, ‘त्यसपछि मेरो ध्यान पढाइमा नै केन्द्रित हुन थाल्यो । कक्षामा सधैँ उत्कृष्ट नम्बर ल्याएर पास हुन्थेँ । ती क्षणहरू सुखदुःखका दुवै छन् ।’

विजयले कक्षा ५ सम्म शिखर माविमा अध्ययन गरे । उनको परिवार निर्वाहमुखी कृषिखेतीमा आबद्ध हुँदा घरको आर्थिक अवस्था पनि कमजोर थियो । त्यसैकारया उनलाई खानाबस्न विद्यालयले सहयोग गथ्र्यो । पढ्न रुची सानैदेखि भए पनि पढ्न सकिन्न कि ? भन्ने लागेका उनलाई जब ब्रेललिपीबाट पनि पढाइ हुँदो रहेछ भन्ने थाहा भयो, त्यसपछि अझै पढ्न जोश आएको उनी बताउँछन् ।

उनका अनुसार उनी कक्षामा सधैँ उत्कृष्ट नतिजा ल्याउन सफल भए । अनि सबै घरपरिवार गुरुहरूले पनि माया गर्न थाले । शिखर माविमा प्राथमिक तहको शिक्षा लिएका उनले त्यसपछि बाँकेको कोहलपुरमा रहेको त्रिभुवन माविमा अध्ययन गरे । कोहलपुरमा समेत उनको पढाइ उत्कृष्ट नै थियो । अनि उनले ‘ए’ ग्रेड ल्याएर २०७३ सालमा एसईई पास गरे ।

छोराछोरी नै दृष्टिविहीन भएको चिन्तामा रहेका विजयका बुवाआमा जब विजय एसईईमा राम्रो नतिजा ल्याएर पास भएको थाहा पाए, त्यसपछि घरमा खुसियालीको वातावरणका दिन सुरु भए । विजय भन्छन्, ‘छोराछोरी नै दृष्टिविहीन भए भनेर सधैँ चिन्तामा बुवाआमा हुनुहुन्थ्यो, जब म एसईई पास भएँ । अनि मेरो घरमा धेरै खुसियाली छाएको थियो । त्यसले झनै मलाई हौसला मिल्यो ।’ विजय ‘प्लस टु’ पढ्न कलेज भर्ना भए । उनले धेरै अभावका बीचमा ‘प्लस टु’मा समेत उत्कृष्ट अंक ल्याएर २०७६ सालमा उत्तीर्ण गरे ।

विजयको चमत्कार

प्लस टु पास गरेका उनलाई स्नातक तह कसरी पढ्ने भन्ने चिन्ताले फेरि पिरल्यो । सधैँ उत्कृष्ट अंक ल्याएर पास भएका विजयलाई जीवनमा केही राम्रो काम गर्ने लक्ष्य थियो । तर रकम अभावकै कारण लक्ष्य पूरा हुन्न कि ? भन्ने चिन्तामा बसेका विजयसँग एकजना अपाङ्गता क्षेत्रमा काम गर्ने व्यक्तिको भेट भयो । त्यो भेटमा उनले परिलक्षित संस्थाले अपाङ्गता भएका विपन्न विद्यार्थीहरूलाई उच्चशिक्षा हासिल गर्नका लागि छात्रवृत्ति दिने कुरा थाहा पाए ।

त्यसपछि उनी छात्रवृत्तिका लागि परिलक्षित संस्थामा आवेदन दिन पुगे । र छात्रवृत्तिका लागि छनौट पनि भए । ‘त्यसपछि म शिक्षा क्याम्पसमा स्नातक तहमा भर्ना भएँ । परिलक्षित संस्थाको सहयोगले मलाई उच्चशिक्षा हासिल गर्न सहज भयो,’ उनले भने, ‘उच्चशिक्षा पढ्दापढ्दै मैले शिक्षा सेवा आयोगको समेत तयारी गरेँ । आयोगको पहिलो परीक्षामै २०८० मा स्थायी शिक्षकमा नाम निकाल्न सफल भएँ । त्यो दिन मलाई संसार जितेको अनुभूति भयो ।’

हल विजय त्रिवेणी मावि सल्यानमा प्रावि तहमा अध्यापन गराइरहेका छन् । अपाङ्गता भएका व्यक्तिहरूलाई अवसर दिए सफलता प्राप्त गर्न सक्ने उनको भनाइ छ । ‘म परिलक्षित संस्थालाई धेरै धन्यवाद दिन चाहन्छु । संस्थाले गर्दा नै अहिले म यो स्थानमा छु,’ उनले थपे, ‘मेरो आगामी योजना शिक्षण पेशाबाटै अगाडी बढ्ने छ । मजस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई अगाडी बढाउने योजनामा छु, त्यसमा तपाईँहरूको सहयोगको सदैव खाँचो छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १८ गते शुक्रबार