नेपालगन्ज ।
बचत अपचलनपछि ६ वर्षयता बन्द रहेको नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेड बाँकेको तदर्थ समिति स्वीकृत भएको छ । पुस ११ गतेको सहकारीका शेयर सदस्यहरूको भेलाले सिफारिस गरेको शिवप्रसाद शुक्लाको संयोजकत्वको तदर्थ समितिलाई लुम्बिनी प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालयले स्वीकृत गरेको हो ।
सहकारी दर्ता अधिकारीको कार्यालय देउखुरीका प्रमुख मन्जु पाण्डेयका अनुसार पुस १४ गते सहकारीको साविकको तदर्थ समिति विघटन गर्ने निर्णय गरिएको र १६ गते बुधबार भेलाले सिफारिस गरेको तदर्थ समितिलाई स्वीकृत गर्ने निर्णय गरिएको हो । उक्त समितिलाई तीन महिनाभित्र साधारणसभा बोलाइ सहकारीको सञ्चालक समिति गठन गर्ने कार्यभार मात्रै रहने पाण्डेयले जानकारी दिइन् ।
लुम्बिनी प्रदेशको सहकारी ऐनबमोजिमको नियमावली २०७६ को नियम १८ मा सहकारीका सदस्यहरूमध्येबाट सातजनाको तदर्थ समिति गठन गर्न सकिने व्यवस्था छ । अदालतले तदर्थ समिति गठन गर्न आदेश दिएको दुई वर्ष बित्दा पनि आदेश पालना नभएपछि सहकारीका बचतकर्ता एवं अदालतमा मुद्दाको पक्षधरहरूको तर्फबाट पैरवी गरेका वरिष्ठ अधिवक्ता विजय गुप्ता पुस १ गतेदेखि ३ गतेसम्म आमरण अनशन बसेका थिए ।
४३ करोडबढीको सहकारी अपचलन भएको मुद्दामा एक हजार पाँच सय २६ जना जाहेरीकर्ताको तर्फबाट दायर मुद्दामा बाँके जिल्ला अदालतले २०८० साल पुस २६ गते फैसला गरेको थियो । उक्त फैसलाले १९ जनालाई सजाय तोक्दै बचत फिर्ता गराउने र ऋणीहरूलाई ऋण फिर्ता गर्ने व्यवस्था मिलाउन निर्देशनात्मक आदेश पनि दिएको थियो ।









प्रतिक्रिया दिनुहोस्