‘लड्डुपे दोर्जे’ र ‘जलेन्स्की’ जन्माउन त खोजिरहेका छैनौँ ?



हाम्रो लक्ष्य २०८४ सालसम्म नेपाललाई अल्पविकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रको हैसियतमा पु¥याउ हो । त्यसपछिका २० वर्ष समृद्ध नेपाल निर्माणका निर्णायक वर्ष हुनेछन् । विसं शताब्दीको अन्त्यसम्म नेपाललाई विश्वका मध्यम विकसित राष्ट्रहरूको पंक्तिमा उभ्याउने हाम्रो राष्ट्रिय मिसन हो ।

सूर्य ढकाल

नेपाली कम्युनिस्ट आन्दोलनले आज ७६ वर्ष पूरा गरेको छ । यो अवधि कुनै पनि अर्थमा छोटो होइन । यस अवधिमा हामीले राणाशासनविरुद्ध, पञ्चायती तानाशाहीविरुद्ध र राजतन्त्रविरुद्ध गरी तीनवटा ऐतिहासिक आन्दोलन तथा क्रान्तिहरू सम्पन्न गरिसकेका छौँ । यी आन्दोलनहरूको बलमै आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा स्थापित भएको छ । २०१५ सालको निर्वाचनमा केवल चार सिट जितेको कम्युनिस्ट पार्टी आज लोकतान्त्रिक आन्दोलन र कम्युनिस्ट आन्दोलन दुवैको मूल प्रभावशाली शक्तिका रूपमा स्थापित भएको छ । विशेषतः नेकपा एमाले यस्तो हैसियतमा उभिएको छ, जहाँ एक्लै प्रतिस्पर्धा गर्न सक्ने सामथ्र्य अरू कसैसँग देखिँदैन । यही यथार्थ धेरैलाई मन परेको छैन। लोकतान्त्रिक अधिकार प्राप्तिको लडाइँले अपेक्षित पूर्णता हासिल गरिसकेको छ । सात सालको आन्दोलनमा सहायक शक्तिका रूपमा रहेको कम्युनिस्ट पार्टी २०६२–०६३ को आन्दोलनसम्म आइपुग्दा वास्तविक अर्थमा क्रान्तिको नेतृत्वदायी शक्तिका रूपमा स्थापित भयो । आज कम्युनिस्ट आन्दोलनको प्रभाव केवल राजनीतिमा मात्र सीमित छैन, विकास र समृद्धिको बहसलाई पनि यसले दिशानिर्देश गरेको छ ।

आज नेकपा एमाले सत्ता बाहिर भए पनि आलोचना, टिप्पणी र घेराबन्दीको मुख्य निशाना एमाले नै बनेको छ । यो ७६ वर्षको इतिहासमा एमालेले असंख्य आरोप, अवरोध र आक्रमणहरू सामना गरेको छ—भित्रबाट पनि र बाहिरबाट पनि । तर हरेक संघर्षको मोर्चामा एमाले आफैँलाई परिमार्जन गर्दै, रूपान्तरण गर्दै अगाडि बढिरहेको छ । जनताप्रति समर्पित भएर आन्दोलनको जगमा उभिएको पार्टी नै नेकपा एमाले हो । राजनीतिलाई संगठनमा र संगठनलाई राजनीतिमा रूपान्तरण गर्न सफल एमाले सधैँ जनताको माग, मुद्दा र सरोकार बोकेर अगाडि बढेको छ । राष्ट्रियता, जनजीविका र जनवादका सवालमा निरन्तर पैरवी गर्दै आएको छ । पार्टी निर्माण, संगठन सञ्चालन र जनसहभागितामा नयाँ मूल्यहरू स्थापित भएका छन् । मानव अधिकार, सहभागितामूलक तथा समावेशी लोकतन्त्र र सामाजिक न्यायका क्षेत्रमा एमालेले गहिरो छाप छोडेको छ । कला, साहित्य, संस्कृति, कानुन, अर्थतन्त्र वा समाजशास्त्र—समाजको कुनै पनि क्षेत्र छैन जहाँ कम्युनिस्ट विचारधाराको प्रभाव नपरेको होस् । यति गहिरो र बहुआयामिक प्रभाव छोड्न सफल आन्दोलनको यो इतिहास र वर्तमानप्रति हामी गर्व गर्न सक्छौँ । तर यही यथार्थ विदेशी साम्राज्यवाद, विस्तारवाद, नवउदारवाद र लोकप्रियतावादलाई मन परेको छैन ।

अबको २४ वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनले १०० वर्ष पूरा गर्नेछ । त्यस समयसम्म हामी नेपाललाई कस्तो देश बनाउन चाहन्छौँ ? भावी पुस्तालाई कस्तो नेपाल र कस्तो कम्युनिस्ट आन्दोलनको विरासत सुम्पिन चाहन्छौँ ? यही प्रश्नका आधारमा ‘कम्युनिस्ट पार्टीको १०० वर्षे सपना’बारे बहस गर्नु आज अत्यन्त सान्दर्भिक छ । कम्युनिस्ट पार्टी निर्माण भनेको पाँच वर्षे आवधिक निर्वाचनमा सीमित कुरा होइन । यो राष्ट्र निर्माणको मूल धर्म हो—श्रमजीवी र सर्वहारा वर्गलाई स्थापित गर्ने अभियान हो । नेपाली समाजमा विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक र वर्गीय विभेद अन्त्य गर्दै सामाजिक न्यायसहितको समाजवादी राज्य व्यवस्था स्थापना गर्नु नै यसको लक्ष्य हो । लोकतन्त्रको नेतृत्व गरिसकेको पार्टी अब समृद्धिको अगुवाइ गर्ने शक्तिका रूपमा स्थापित हुनेछ । कसैले रोकेर, छेकेर वा अवरोध गरेर नेकपा एमालेको देश बनाउने यो दीर्घ अभियान रोकिने छैन । चाहेर होस् वा नचाहेर, जब प्रश्न गरिन्छ—उत्तर एमाले नै आउनेछ । बबई नहर, सिक्टा र भेरी डाइभर्सनजस्ता राष्ट्रिय गौरवका आयोजना, भारतले लगाएको नाकाबन्दीको सामना, लिपुलेक–लिम्पियाधुरासहितको चुच्चे नक्सा, नागढुङ्गा सुरुङ मार्ग, दैलेखको पेट्रोल उत्खनन, नवलपरासीको फलामखानी, बाँके राष्ट्रिय निकुञ्ज, नौवस्ता औद्योगिक क्षेत्र, लुम्बिनी प्रादेशिक विश्वविद्यालय, बैजापुर औद्योगिक ग्राम, कोहलपुर आधुनिक बसपार्क, सडक, खानेपानी, क्याम्पस, एयरपोर्ट स्तरोन्नति, क्यान्सर अस्पताल—यी सबैको सुरुवात कसले ग¥यो भन्ने प्रश्नको उत्तर सजिलै आउँछ ः नेकपा एमाले । यसमा हामीलाई गर्व छ ।

हाम्रो लक्ष्य २०८४ सालसम्म नेपाललाई अल्पविकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रको हैसियतमा पु¥याउ हो । त्यसपछिका २० वर्ष समृद्ध नेपाल निर्माणका निर्णायक वर्ष हुनेछन् । विसं शताब्दीको अन्त्यसम्म नेपाललाई विश्वका मध्यम विकसित राष्ट्रहरूको पंक्तिमा उभ्याउने हाम्रो राष्ट्रिय मिसन हो । तर यो मिसन मन नपराउने शक्तिहरू परिवर्तन, सुशासन र समृद्धिको नाममा देशलाई अराजकतामा धकेल्न खोजिरहेका छन् । सरकारी कार्यालय, उद्योग, सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म आगो झोस्ने, अर्थतन्त्रलाई कोमामा पु¥याउने, समाजमा अराजकता फैलाउने र राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्ने प्रपञ्चहरू गम्भीर रूपमा अगाडि बढाइँदैछन् । यस्तो संक्रमणकालीन अवस्थामा राष्ट्रवादी नेपाली जनताले आफ्ना व्यवहार, विगत र अभिव्यक्तिहरू कसको पक्षमा उभिरहेका छन् भन्ने कुरा शान्त दिमागले सोच्नुपर्ने बेला आएको छ । न्याउरीमारी पछुतो नहोस् । राजनीति खेलाँची वा ख्यालठट्टा होइन—यो सुझबुझ, परिपक्वता र दूरदृष्टिका साथ गरिने जिम्मेवारी हो । बिग्रेको छैन, आत्मसमीक्षा गरौँ—केपी ओलीको विरोध गर्ने नाममा नेपालको स्थायित्व, समृद्धि ,सुशासन, दिगो विकास जनताको जीवनस्तर उठेको हेर्न नचाहने ती तत्त्वहरू कतै लोकप्रियताका नाममा हामी ‘लड्डुपे दोर्जे’ र ‘जलेन्स्की’ जन्माउन त खोजिरहेका त छैनौँ ?

(लेखक ढकाल नेकपा एमालेको केन्द्रीय सदस्य हुन्)

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १६ गते बुधबार