एक ठाउँ उभिए रवि, बालेन र कुलमान



काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख राष्ट्रिय स्वतन्त्र पार्टीसँग समाहित भएको एकदिनपछि कुलमान घिसिङ उक्त पार्टीसँग जोडिएका छन् । अन्तरिम सरकारका मन्त्रीसमेत रहेका घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपाल र रास्वपाबीच सातबुँदे सहमति भएको हो । सोमबार राति दुई पार्टीबीच सातबुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

सहमतिअनुसार घिसिङ अब राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्नेछन् । सातबुँदे सहमतिमा रास्वपाको तर्फबाट सभापति लामिछाने र उज्यालो पार्टीका तर्फबाट उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । सहमतिको साक्षीको रूपमा बालेन शाहको हस्ताक्षर छ । सहमतिको चौथो नम्बर बुँदामा ‘राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णीम वाग्ले’ रहने उल्लेख गरिएको छ ।

एकसाता अघिदेखिको निरन्तरको संवाद र वार्ताले सार्थकता पाएसँगै अन्तत रवि लामिछाने, बालेन र कुलमान एक ठाउँमा उभिएका हुन् । यसअघि घिसिङलाई पनि समेट्ने प्रयास भए पनि सफल हुन सकेको थिएन । तर, बालेन र जेनजी अगुवाको दबाब पनि उज्यालो नेपाल पार्टीले रास्वपासँग एकता प्रक्रियामा आउन सहमत भएको हो । सहमतिलाई अन्तिम रूपमा दिनुअघि सोमबार कुलमान र रविबीच भएको भेटवार्तापछि दुवै एउटै दलबाट समानुपातिकतर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएका थिए ।

सहमतिअनुसार अब रास्वपाले उज्यालो नेपालको अभियानलाई अपनत्व लिनेछ । यस्तै उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियान्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छबिलाई आधार मान्ने सहमति भएको हो । यसैगरी नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै घाइते तथा शहीद परिवारको मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ ।

नेकपा र रञ्जिता नेतृत्वको नाउपाबीच एकता

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीच औपचारिक रूपमा एकता भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच दुई पार्टीका शीर्ष नेताहरूले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकताको घोषणा गरेका हुन् ।

सहमतिपत्रमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल तथा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् । एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ नै रहने र चुनाव चिह्न ‘तारा’ राख्ने सहमति भएको छ ।

यससँगै दुवै पार्टीका तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरू अब स्वतः नेपाली कम्युनिस्ट पार्टीको सदस्य हुनेछन् । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिसहित सम्पूर्ण साविकका संरचना र जनवर्गीय संगठनहरूलाई आपसी सहमतिका आधारमा नयाँ पार्टीमा समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ ।

एकीकृत पार्टीले संघीयता, सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य प्राथमिकता दिँदै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य लिएको छ । मुलुकको सार्वभौमिकता र अखण्डताको रक्षा गर्दै संघीय समाजवादी गणतन्त्र प्राप्तिका लागि सडक, सदन र सरकार तीनै क्षेत्रबाट संघर्ष गर्ने प्रतिबद्धता नेताहरूले जनाएका छन् । यसैगरी, वर्तमान संविधानका सकारात्मक पक्षहरूको रक्षा गर्दै नयाँ पुस्ताको भावना र राष्ट्रको हितअनुकूल संविधान संशोधन र परिमार्जनका लागि पहल गर्ने सहमतिसमेत भएको छ ।

विशेषगरी नागरिक उन्मुक्ति पार्टीले उठाउँदै आएको टीकापुर घटनाको विषयलाई पनि सहमतिमा समेटिएको छ । सहमतिपत्रमा टीकापुर घटनाका सन्दर्भमा राजनीतिक प्रतिशोधका आधारमा लगाइएका झुट्टा मुद्दाहरू खारेज गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने उल्लेख छ । यस्तै महिला, थारु, मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम लगायतका सीमान्तकृत समुदायलाई राज्यका हरेक निकायमा समानुपातिक समावेशीकरणको प्रत्याभूति गराउने विषयलाई पार्टीले मुख्य कार्यदिशा बनाएको छ ।

पार्टीलाई सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्वका आधारमा जनवादी केन्द्रीयताको संगठनात्मक पद्धतिअनुरूप सञ्चालन गरिने बताइएको छ । एकता घोषणासँगै नेताहरूले मुलुकका अन्य वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरूलाई पनि एउटै केन्द्रमा ध्रुवीकृत हुन अपिल गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १५ गते मंगलबार