संघले ६ करोडको कारोबार गरी करिब ८० लाख बचत गर्ने



कोहलपुर,७ माघ/   कोहलपुर उद्योग वाणिज्य संघले यही माघ २६ गते देखि फाल्गुण ८ गते सम्म सञ्चालन गर्ने महोत्सवबाट करिब रु ६ करोेड बराबरको आर्थिक कारोबार गरी आम्दानीमा रु ८० लाख बचत गर्ने अनुमान रहेकोे दावी गरेको छ ।

कोहलपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा “देश निर्माणमा कृषि ,जडबुटी,उद्योग र व्यापारको आवश्यकता , व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मूल नारा राखेर ‘कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव –२०७४’ को जानकारी गराउन शनिबार गरेको पत्रकार सम्मलेनमा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र शहादुर अधिकारी बताएका छन् ।

पत्रकार सम्मेलनमा महोत्सव सफल बनाउन आम कोहलपुरवासी सबैले सहयोग गर्न आग्रह गर्दै संघले कोहलपुरमा वाणिज्य संघले गरेको महोत्सव केवल यहाँका उद्योगी व्यापारीहरुको मात्र नभएर आम जनताको सरोकारसँग समेत जोडिएको विषय भएकाले यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने अधिकारीले बताए ।

महोत्सवको मूख्य प्रायोजक रु ७ लाखमा निश्चित भइसकेको र अन्य प्रायोजक ,सह प्रायोजक , उपप्रायोजक समेत करिब–करिब टुङिगएको र कलाकारहरुको पनि करिब–करिब निश्चित भइसकेको आयोजकले जानकारी गराएका छन् ।

महोत्सव तयारीकै क्रममा संघका अध्यक्ष चक्र बहादुर अधिकारीको संयोजकत्वमा ५सय १ जनाको मूल समिति र ३५ जनाको कार्यान्वयन समिति बनेको छ । २१ ज्नाको सल्लाहाकार समिति, १० जनाको समन्वयन समिति र ९ वटा विभिन्न उपसमितिहरु गठन गरिएको पत्रकार सम्मेलनमा बताइउको थियो ।

महोत्सवमा दर्शकहरु आकर्षणका लागि सूचना–प्रविधि, थारु गाउँ, स्थानीय कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने खालका कर्यक्रमहरुलाई प्राथमिकता दिइने छ भने स्थानीय विद्यालयमा रहेका प्रतिभाहरुलाई उत्प्रेरणा जगाउन सहयोग पुगोस् भनी रु १ लाख पुरस्कार राशीका विद्यालय स्तरीय छात्रछात्राहरुको नृत्य प्रतियोगिता समेत राखिएको आयोजकले बताएका छन् ।

महोत्सवमा विभिन्न प्रकृतिका वस्तुहरुका ३ सय स्टल रहने छन् भने भेलामा हुने गतिविधिहरुको सुरक्षा निगरानीका लागि महोत्सव स्थलमा सिसिटिभी समेत जडान गरिने आयोजकले बताएको छ ।

६० वर्ष उमेर पार गरेका जेष्ठ नागरिकहरुका लागि रु १ हजारमा महोत्सव अवधिभरीका लागि विशेष पासको व्यवस्था गरिने छ । सो पास लिएका जेष्ठ नागरिकहरुले महोत्सव अवधिभर मञ्च घेरिएको बारभन्दा भित्र व्यवस्थित रुपमा बसेर महोत्सवमा मनोरञ्जन लिन पाउने छन् ।

महोत्सव स्थल प्रवेशका लागि रु ५० को साधारण टिकट र रु ३५ को विद्यार्थी तथा शारिरीक अपाङ्गता भएका व्यक्तिलाई उपलब्ध गराइने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ७ गते आइतबार