काठमाडौँ ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी सरोकारवालालाई त्यसमा भएका व्यवस्थाहरूबारे सार्वजनिक जानकारी गराएको छ । आयोगको वेबसाइटमा आइतबार प्रकाशित आचारसंहिता आगामी माघको पहिलो सातादेखि लागू गर्ने आयोगको तयारी छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, मर्यादित र विश्वसनीय बनाउन आयोगले आचारसंहितामा विगतमा झैँ कतिपय बुँदालाई परिमार्जन गरी नयाँ आचारसंहिता तयार गरेको हो । आयोगले आचारसंहिताको मस्यौदामा प्राप्त सुझावलाई समेटेर स्वीकृत गेरको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई लागू हुनेछ ।
यस्तै निर्वाचन अचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई लगायतलाई लागू हुनेछ ।
यस्तै सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पनि आयोगद्वारा जारी आचारसंहिता लागू हुनेछ ।
आचारसंहितामा राजनीतिक दलले चुनावमा कस्ता सवारी, कति प्रयोग गर्न पाउने भन्ने पनि उल्लेख छ । यसअनुसार हेलिकप्टर प्रयोग गरेर प्रचारमा जानुपर्ने अवस्था छ भने राजनीतिक दलले आयोगमा पहिल्यै विवरण बुझाउनुपर्ने उल्लेख छ । ‘राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने’ आचारसंहितामा भनिएको छ ।
त्यस्तै हेलिकप्टर प्रयोग गर्दा आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीका उम्मेदवारको सङ्ख्याका आधारमा दलले गर्न पाउने खर्चको सीमाभित्रै रहेर गर्नुपर्ने पनि उल्लेख छ । आचारसंहितामा एक उम्मेदवारले प्रचारप्रचारमा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने उल्लेख गरिएको छ ।
‘निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उमेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपांग्रे वा तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारीसाधन र त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने,’ आचारसंहितामा उल्लेख छ ।
त्यस्तै दल, उम्मेदवार र पार्टीका नेता कार्यकर्ताले विदेशी नम्बरप्लेटको सवारी प्रयोग गर्न नपाउने पनि आचारसंहितामा भनिएको छ । आचारसंहितामा एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न पनि नपाइने उल्लेख छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता र भयमुक्त वातावरण कायम गर्न हरेक निर्वाचनअघि यस्तो आचारसंहिता जारी गरिन्छ ।









प्रतिक्रिया दिनुहोस्