सेना र प्रहरीलाई पेट्रोलियम पदार्थ बेच्न रोक लगाउन माग



श्यामलाल पोखरेल । बुटवल ।

नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षाकर्मीले सञ्चालन गरेका पेट्रोल पम्पका कारण आफूहरू व्यवसायबाट विस्थापित हुने अवस्था आएको पेट्रोलियम व्यवसायीले बताएका छन् । देश र जनताको सुरक्षा गर्ने सेना, प्रहरीलाई व्यापार व्यवसायमा लगाएर नेपाल आयल निगमले गलत गरेको भन्दै पेट्रोलियम व्यवसायीले विरोध जनाएका हुन् ।

देशको र जनताको सुरक्षा दिने निकायलाई व्यापारमा लगाउँदै देशमा सुरक्षाको अभाव खड्किएको दाबी गर्दै व्यवसायीहरूले सरकारको आफैँ व्यापार गर्ने सोच भएमा आफूहरूले पेट्रोल पम्पका चाबी सरकारलाई बुझाउने बताए । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीको २०औँ वार्षिक साधारणसभा तथा नवाँै अधिवेशनमा बोल्ने व्यवसायीले सरकारको मातहतमा रहेको नेपाल आयल निमगलाई सेना, प्रहरीलाई तेल बिक्री गर्ने काम तत्काल बन्द गर्न आग्रह गरेका थिए ।

नीजि क्षेत्रप्रति सरकार उदासिन भएको बताउँदै उनीहरूले नीजि देशभरका १७ सय बढी पेट्रोल पम्पहरू संकटमा परेकोले दिन प्रतिदिन व्यवसायी विस्थापित हुँदै गएको गुनासो गरेका हुन् । जनताको ज्यूधनको सुरक्षा दिने निकायलाई व्यापारमा लगाउँदा नीजि क्षेत्र विस्थापित हुने हुँदा सरकारले समयमा ध्यान पु¥याउन नसके देश आर्थिक रूपले कमजोर हुने पेट्रोलियम व्यवसायीको दाबी रहेको छ । देशको सर्वोच्च निकाय, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत जस्ता उच्च निकाय र नेताहरूको सुरक्षा दिन नसक्ने सेना, प्रहरीले पेट्रोलियम पदार्थको व्यवसाय गर्नै नसक्ने उनीहरूको दाबी छ ।

‘सेना, प्रहरीको काम जे हो त्यही गर्नुपर्छ, हाम्रो काम व्यापार व्यवसाय गर्ने हो, हामीलाई सरकारले प्रोत्साहन गर्नुपर्छ भन्दै पेट्रोलियम व्यवसायीले सरकारले निर्वाध रूपमा व्यवसाय गर्ने वातावरण बनाइ दिनुपर्छ ।’ पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीका अध्यक्ष हिमाल गैरेले भने । सेना, प्रहरीलाई पेट्रोलियम पदार्थ बेच्न दिने नेपाल आयल निगमको तौर तरिका गलत भएको भन्दै उनले यो निर्णय तत्काल सच्चाउन आग्रह गरे ।

सरकारकै कारण सेवामुखी व्यवसाय संकटमा पर्दा व्यवसायी विस्थापित हुन थालेकाले सेना, प्रहरीलाई सुरक्षामा नै खटाएर नीजि क्षेत्रलाई तेल बिक्रीका लागि हौसला दिन सरकारसँग अध्यक्ष गैरेले माग गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डीका भट्टले सेना, प्रहरीलाई पेट्रोलियम पदार्थ बिक्री गर्न दिन हुन्न भन्ने व्यवसायीको मागप्रति गम्भीर बनेको बताए ।

उनले आफू कर्मचारी भएको र पेट्रोलियम पदार्थ बिक्री गर्न सेना, प्रहरीलाई दिन हुन्न भन्ने मागको विषयमा उपल्लो निकायसँग छलफल गर्ने प्रतिबद्धता जनाएका थिए । उनले उपभोक्तालाई पूरा तौल र गुणस्तरीय समान उपलब्ध गराउनु पर्ने बताउँदै गुणस्तरीय र सुपथ मुल्यमा पेट्रोलियम पदार्थ उपभोक्तालाई दिने दायित्व आयल निगम र व्यवसायीको रहेको बताए ।

नीतिगत रूपमा सुधार गर्नका लागि नेपाल आयल निगम व्यवसायीहरूसँग छलफलमा बस्न तयार रहेको बताउँदै व्यवसायमा पारदर्शीता, जवाफेहीता र इमान्दारिता चाहिने बताउँदै भट्टले आयल निगम र व्यवसायी उपभोलाई दिने सेवाप्रति सचेत हुनुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेश सांसद बैजनाथ जैसवालले नीजि क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताउँदै सुरक्षा दिन नसकेको सेना, प्रहरीलाई इन्धन बेच्न दिनै नहुने बताए । नेपाल पेट्रोलियम डिलर्स एशोएिशनका अध्यक्ष लिलेन्द्र प्रधानले नीतिगत रूपमा नेपाल आयल निगमलाई सुधार गर्नुपर्ने बताएका थिए ।

सरकारी निकायले व्यापार गर्दा नीजि क्षेत्रका व्यवसायी धरासायी हुने अवस्था सिर्जना भएको बताउँदै अध्यक्ष प्रधानले भने, ‘लगानी अनुसारको प्रतिफल व्यवसायीले पाएका छैनन् । अझ सेना, प्रहरीलाई तेल बेच्न दिँदा झनै विकराल समस्या उत्पन्न भयो । यो विषयमा मुकदर्शक नबन्न आयल निगमलाई आग्रह गर्दछु ।’

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्याल, पेट्रोलियम डिलर्स एशोसिएशन बागमतीका अध्यक्ष अच्युतबहादुर, पेट्रोलियम डिलर्स एशोसिएशन गण्डकी, धौलागिरीका अध्यक्ष मोहन सुवेदी, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, एशोसिएशन चितवनकी अध्यक्ष सर्मिला सेडाई लगायतले समेत कार्यक्रममा बोल्दै नीजि क्षेत्रप्रति राज्य उदासिन भएको भन्दै सेना, प्रहरीलाई पेट्रोलियम पदार्थको व्यापारमा रोक लगाउनुपर्ने बताएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार