चुनावको मिति नजिकिदैँ जाँदा जेनजी विद्रोहपछि गठन भएको सरकारले चुनावी तयारीलाई तिव्रता दिएको छ । पछिल्लो पटक सरकारले राजनीतिक दलहरूसँग निरन्तर छलफल गरिरहेको छ । त्यसैको निरन्तरता स्वरुप प्रधानमन्त्री कार्कीले शनिबार शीर्ष दलका प्रमुख नेताहरूसँग संवाद गरेकी थिइन् ।

प्रधानमन्त्री सुशीला कार्कीसँग प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार छलफल गर्नुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस
काठमाडौँ ।
भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि गठित नागरिक सरकारले चुनावी माहोल सिर्जना गर्न सक्रियता बढाएको छ । भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा गठन भएको सरकारले फागुन २१ गतेको लागि तोकिएको निर्वाचन सफल बनाउन सक्रियता बढाएको हो । जेनजी विद्रोहपछि गठन भएको सरकारको एकसय दिन पूरा गरिसकेको छ । सरकार गठनको तीन महिनापछि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले अहिले चुनावी माहोल बनाउन प्रमुख राजनीतिक दलहरूसँग राजनीतिक संवाद र छलफललाई तिव्रता दिएको छ ।
सरकार गठन भएको तीन महिना बितिसक्दासमेत तोकिएकै मितिमा चुनाव हुन्छ की हुँदैन भन्ने संशयकाबीच सरकार चुनावी माहोल सिर्जना गर्न कस्सिएको हो । शुक्रबार मात्रै पाँचौँपटक मन्त्रीपरिषद् विस्तार गरेको सरकारले फागुन २१ लाई अर्जुनदृष्टि बनाएर अघि बढिरहेको छ । प्रधानमन्त्रीदेखि नागरिक सरकारका मन्त्री र राज्यका सम्पूर्ण संयन्त्र चुनावको आन्तरिक तयारी गरिरहेका छन् । पछिल्लो एकसाता यता सरकारले खासगरी विघटित प्रतिनिधिसभाका मुख्य राजनीतिक दल र शीर्ष नेतृत्वसँग चुनावी संवादमा रहेको छ ।
त्यसैको निरन्तरता स्वरुप शनिबार प्रधानमन्त्री सुशीला कार्कीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग सरकारी निवास बालुवाटारमा चुनावबारे छलफल गरेकी थिइन् ।
प्रधानमन्त्री कार्कीको नेतृत्वमा सरकार गठन भएपछि तीन प्रमुख दलका शीर्ष नेताहरूसँग सरकारले पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा औपचारिक संवाद गरेको हो ।
निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूबाट चुनावमा प्रतिबद्धता खोज्नका लागि प्रधानमन्त्री कार्कीले भेटघाट र छलफल पछिल्लो समय निरन्तर गरिरहेकी छिन् । शनिबारको शिर्ष नेताहरूसँगको बैठकको सुरुमै प्रधानमन्त्री कार्कीले चुनावका लागि निर्वाचन आयोग र प्रहरी प्रशासनलाई पनि भनेजति नै स्रोतसाधनको व्यवस्था गरेको सुनाइन् । प्रधानमन्त्री कार्कीले सरकारले फागुन २१ मै चुनाव गर्न चाहेको स्पष्ट पारिन् ।
चुनाव गरेर आफू राजनीतिक सरकारलाई नेतृत्व हस्तान्त्रण गर्न तयार रहेको प्रधानमन्त्री कार्कीको भनाइ थियो । सरकार चुनाव माहोल बनाउन दत्तचित्त भएर लागिपरेको भन्दै राजनीतिक दलको सहयोग अपरिहार्य रहेकोमा उनले जोड दिइन् । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार शीर्ष नेतालाई भनेकी थिइन्, ‘हामी सबै मिलेर चुनाव सफल बनायौँ । त्यसको लागि राजनीतिक दलहरू तयार नै छन् भन्ने मेरो विश्वास छ । दलले समेत चुनावी वातावरण सिर्जना गरिरहेको सरकारको बुझाइ छ ।’ वर्तमान सरकारका प्रमुख कार्यभार नै तोकिएको मितिमा निर्वाचन गर्ने रहेको उनले बताइन् ।
चुनावमा सम्पूर्ण सुरक्षाको ज्ञारेन्टी सरकारले गर्ने भन्दै दलहरूलाई चुनावमा सहभागी हुन आग्रह गरिन् । बैठकमा तीन दलका शीर्ष नेताले संयुक्त रूपमा प्रतिनिधिसभा निर्वाचनमा जान सबै तयार रहेको सन्देश दिएका थिए । बैठकमा देउवा, ओली र प्रचण्ड तीनैजनाले एकैस्वरमा सरकारसँग चुनावका लागि शान्ति सुव्यवस्था कायम राख्नुपर्ने स्पष्ट अडान राखेका थिए ।
छलफल क्रममा तीन दलका शीर्ष नेताहरू चुनावप्रति प्रतिबद्ध सुनिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बैठकपछि पत्रकारहरूलाई बताए । मन्त्री खरेलका अनुसार नेपाली काँग्रेसका सभापति देउवाले पनि नेपाली काँग्रेसको पहिलो प्राथमिकता चुनाव भएको बताएका थिए । उनका अनुसार चुनाव नेपाली काँग्रेसको पहिलो प्राथमिकता हो । सो अवसरमा सभापति देउवाले काँग्रेसको प्राथमिकता अब संसद पुर्नस्थापना नभएको बताएको सरकारका प्रवक्ता खरेलले बताए ।
बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सम्पूर्ण राजनीतिक दल चुनावमा जान तयार रहेको बताएका थिए । बैठकमा सहभागी पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीले समेत एमाले चुनावमा जान तयार रहेको बताए । छलफलमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले सरकारले फागुन नै चुनाव गर्नुपर्ने र त्यसको लागि आफ्नो दल तयार रहेको बताएका थिए । उनले एमाले र काँग्रेस दुवैलाई चुनावका लागि तयार हुन आग्रहसमेत गरे ।
तीन शीर्ष नेताहरूको बालुवाटार छलफलपछि मन्त्री खरेलले सबै दल फागुन २१ को चुनावमा जान तयार भएको र अब तोकिएकै समयमा चुनाव भएरै छाड्ने ठोकुवा नै गरेका थिए । सुशीला कार्की प्रधानमन्त्री भएपछि तीन प्रमुख दलका शीर्ष नेतासँग वान टु वान वार्ता गरेको पहिलो पटक हो । सो वार्ताको वातावरण सिर्जना गर्नको लागि शुक्रबार मात्रै सरकारका प्रवक्ता खरेलले देउवा, ओली र प्रचण्डको निवासमै पुगेर भेटवार्ता गरेका थिए । त्यसअघि सरकारद्वारा गठित राजनीतिक संवाद टोलीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त नेकपा एमाले र नेपाली काँग्रेसको पार्टीमा अनुगमन गरेका थिए ।
त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सितल निवासमा देउवा, ओली, प्रचण्ड र प्रधानमन्त्री कार्कीले संयुक्त रूपमा छलफल गरेका थिए । त्यसअघि प्रधानमन्त्री कार्कीले सर्वपक्षीय, सर्वदलीय बैठक आह्वान गरेकी थिइन् । तोकिएको समयमै चुनाव हुनेमा संशय कायमै रहेका बेला सरकारले आफ्नो सक्रियता ह्वात्तै बढाएको छ । निर्वाचन आयोगले पनि कार्यतालिका अनुसार नै काम गरिरहेको छ । दलहरू प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार छनोटको प्रक्रियामै रहेका छन् ।
देउवाले मागे समानुपातिकको सूची बुझाउन थप समय
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको सूची बुझाउने समय थप ५ दिन बढाउन आग्रह गरेका छन् । शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको शीर्ष ३ नेताहरूको छलफलमा उनले पार्टीभित्र समस्या भएकाले थप ५ दिन थप्नुपर्ने बताएका थिए ।
त्यसमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि समहमति जनाएका थिए । आवश्यक परेको हो भने ५ दिन थपिदिँदा निर्वाचन तालिकामा ठूलो असर नपर्ने बताएका थिए । तर, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री जगदीश खरेलले भने यो विषय काँग्रेसले यसअघि सिंहदरबारमा भएको छलफलमा पनि उठाएको तर आयोगले समय बढाउन नसकिने स्पष्ट पारेको स्मरण गराएका थिए । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार यसमा सरकारले केही भन्न नमिल्ने र निर्वाचन आयोगले नै निर्णय लिन सक्ने जवाफ उनीहरूको थियो ।









प्रतिक्रिया दिनुहोस्