दुई जना विद्यार्थीलाई निःशुल्क एमबिबिएस पढाउने शंकरनगरको योजना



श्यामलाल पोखरेल । बुटवल ।

रुपन्देहीको शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमाले १७ जना विद्यार्थीलाई सम्मान गरेको छ । दीर्घकालीन रुपमा वन संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको वन उपभोक्ता समूह सामाजिक क्षेत्रमा पनि सक्रिय छ । समूहको शुक्रबार आयोजित २५औँ वार्षिक साधारणसभामा सरकारी स्कुलहरुमा अध्ययनरत विद्यार्थीलाई सम्मान गरिएको हो ।

गरिब तथा जेहेन्दार ८ जना विद्यार्थीलाई प्रतिविद्यार्थी रु ५ हजारले सम्मान गरिएको छ । त्यस्तै सरकारी स्कुलबाट उत्कृष्ट अंक ल्याएर एसईई पास गर्न सफल ९ जना विद्यार्थीलाई पनि जनही रु ५ हजार र प्रमाणपत्रले सम्मान गरिएको हो । समूहका आठजना पदाधिकारीले ८ जना विद्यार्थीलाई नगदसहित सम्मान गरेका हुन् भने अन्य ९ जना विद्यार्थीलाई संस्थाले नगदसहित सम्मान गरेको हो । विद्यार्थीका साथै इमान्दार कर्मचारीहरुलाई पनि सम्मान गरिएको छ ।

शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै आएको समूहले २ जना विद्यार्थीलाई निःशुल्क एमबिबिएस पढाउने योजना बनाएको छ । सामुदायिक वनको सेवा क्षेत्रभित्र सञ्चालनमा आउन लागेको बुटवल मेडिकल कलेजमा कोटा निर्धारण गरेर २ जना विद्यार्थीलाई निःशुल्क पढाउने योजना बनाइएको साधारणसभाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त वन क्षेत्रभित्र पर्ने तिलोत्तमा १ र ४ का २ जना विद्यार्थीलाई एमबिबिएस निःशुल्क पढाउने गरी व्यवस्था मिलाइने समूहका अध्यक्ष रवीन्द्र बस्नतेले जानकारी दिए । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले सामुदायिक वन अतिक्रमण गर्दा जमिनै कब्जा गर्ने परिपाटीको अन्त्य भैसकेको बताउँदै सामुदायिक वनहरु संरक्षण गर्ने दायित्व सबैको भएको बताए । गिरीले वन सिंगो समुदायको सम्पत्ति भएकाले यसको दिगो रुपमा संरक्षण गर्नुको विकल्प नभएको बताउँदै सरकारसँग सहकार्य गरेर वन संरक्षण गर्नुपर्नेमा जोड दिए ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले वनलाई समृद्धिसँग जोडेर रोजगारी सिर्जना गरेर गरिबी निवारण गर्न सकिने बताए ।
डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रवीण विडारीले वनलाई मानव जीवनसँग जोडेर उचित रुपमा संरक्षण गरेर फाइदा लिनुपर्ने बताए । उनले नेपालमा रहेका २३ हजार सामुदायिक वनमध्ये शंकरनगरले उत्कृष्ट काम गरको भन्दै वन संरक्षणमा सबैलाई गोलबन्द गर्न उपभोक्ता समूहलाई सुझाव दिए ।

तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी, काँगे्रसका हरिलाल पाण्डे, एमालेका मिनप्रसाद पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका बेलप्रसाद शर्मा, अधिवक्ता तथा समूहका कानुनी सल्लाहकार खुमाकान्त पौडेल, महिला पार्षद् सदस्य चन्द्रकला कँडेल, रुक्मागत पाण्डे, धनिकला पाण्डे लगायतले बोल्दै सामुदायिक वनहरु संरक्षण गर्ने दायित्व समुदायको नै भएको बताए ।

समूहका उपाध्यक्ष कमला ज्ञवालीको स्वागत र सचिव कालिका अधिकारीको सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष भुवन आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै वन आर्थिक रुपले फाइदामा रहेको बताए । उनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०८१÷०८२ को असार मसान्तसम्म ९६ लाख ५१ हजार ३ सय ५९ रुपैयाँ ७८ पैसा फाइदाको रुपमा बचत रहेको उल्लेख गरिएको छ । उक्त वन ५८४.६० हेक्टर जमिनमा फैलिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार