हवाई टिकट पाउन सास्ती



नेपालगन्ज ।

रसुवाको भोटेकोशीमा आएको भिषण बाढीपश्चात सडक यातायात प्रभावित भएको कारण हवाई यातायातमा उच्च चाप भएको छ । यसै मौकाको फाइदा उठाएर हवाई कम्पनीहरूले तोकिएको भाडादरको उच्चतम सीमाको शुल्क लिइरहेको भन्दै चौतर्फी विरोध भइरहेको छ । रसुवागढी हुँदै चीनबाट आएको बाढीले त्रिशूली नदी र यसको तटीय क्षेत्रमा असर गर्दा काठमाडौँ जोड्ने मुख्य राजमार्गहरूमा अवरोध सृजना भएको छ । सडक अवरुद्ध भएको मौकामा हवाई टिकटको अध्याधिक माग भएपछि चाहिएको समयमा टिकट पाउन नसकिने अवस्था रहेको छ ।

शुक्रबार काठमाडौँदेखि नेपालगन्जको भाडादर न्यूनतम आठ हजार पाँच सय तोकिएपनि उक्त दरको टिकट अभाव रहेको भन्दै महंगो दरको टिकट बिक्री भइरहेको थियो । अन्य रुटहरूमा पनि यस्तै अवस्था रहेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न गन्तव्यहरूको न्यूनतमदेखि अधिकतम भाडादर तोक्ने निर्धारण गर्ने गरेको छ । उक्त भाडाभन्दा धेरै नहुने गरी विमान कम्पनीहरूले भाडा निर्धारण गर्न पाउने व्यवस्था छ ।

ट्राभल व्यवसायीहरूका अनुसार नेपालगन्जबाट काठमाडौँको टिकटका लागि कम्तिमा दुई दिन अगाडि नै टिकट लिनुपर्ने अवस्था रहेको छ । यसरी टिकटको चाप भएको मौकामा तोकिएको दररेटको न्यूनतम सीमाको टिकट पाउन नसक्दा यात्रुहरूलाई अधिकतम सीमाको टिकट लिने गरिएको पाइएको छ । यात्रुहरूले सस्तो दरको टिकटको कृत्रिम अभाव सृजना गराएर महंगो टिकट बेचिरहेको आरोप लगाइरहेका छन् । प्रतिनिधिसभा सदस्य खुस्बु ओलीले उच्चदरको भाडाको विषयमा सामाजिक सञ्जालमा प्रश्न उठाएकी छन् ।

देश राष्ट्रिय संकटको घडीमा रहेको बेला नागरिकको आवागमन सहज बनाउनुको सट्टा आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा अस्वाभाविक रूपमा बढाउनु गम्भीर र आपत्तिजनक रहेको उनको भनाइ छ । ओलीले जस्तै धेरैले भाडा बढाइएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरिरहेपनि भाडादर नबढाइएको बरु दररेटको उच्च बिन्दुको मूल्यको टिकट बेच्न थालिएको पाइएको ट्राभल व्यवसायीहरू बताउँछन् ।

वायुसेवा सञ्चालक संघले पनि अत्यधिक चापका कारण सस्तो दरका हवाई टिकट सकिएको बताएको छ । संघले हवाई कम्पनीहरूले साविककै भाडादरमा हवाई टिकट बिक्री गरिरहेको बताएको छ । कम्पनीहरूले सरकारले तोकेको भन्दा बढी भाडा नलिएको स्पष्ट पार्दै संघले मानवीय तथा सामाजिक उत्तरदायित्व भित्र रही साविककै भाडादर कायम गरि टिकट बिक्री भइरहेको बताएको छ । संघका अनुसार विपद्को समयमा निजी हेलिकप्टर कम्पनीहरूले खोज तथा उद्धारमा सघाइरहेका छन् ।

अत्यावश्यक सामग्रीको आपूर्ति, राहत सामग्री र उद्धारमा खटिने सुरक्षाकर्मीलाई सम्बन्धित स्थानमा पु¥याउने काममा निजी हेलिकप्टरहरू खटिएको संघले जानकारी दिएको छ । हवाई भाडा वृद्धि नगर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि हवाई सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको थियो । प्राधिकरणको हवाई यातायात विभागले बुधबार नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरलाई पत्र पठाउँदै सर्वसाधारणको आवागमनलाई सहज बनाउन आग्रह गरेको हो ।

प्राधिकरणले सरकारबाट स्वीकृत हवाई भाडादरको उच्चतम सीमाभन्दा कम भाडामा तथा वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखी हाल कायम भाडादर नबढ्ने गरी हवाई टिकट उपलब्ध गराउन निर्देशन दिएको छ । उक्त निर्देशनपछि हवाई सेवा कम्पनीहरूले भाडादर न्यूनतम दरमै लिइरहेको दाबी गरेपनि सर्वसाधारणहरू भने उच्चतम दरको भाडा नै तिर्नुपरिरहेको बताइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १३ गते शनिबार