नेपालगन्ज ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालगन्जमा सयौँ व्यक्तिहरूलाई पार्टी प्रवेश गराएका छन् । शनिबार नेपालगन्जमा आयोजित अगुवा श्रमदातासँग हातेमालो तथा पार्टी प्रवेश कार्यक्रममा साम्पाङले चार सयभन्दा बढीलाई पार्टी प्रवेश गराएका पार्टीले दाबी गरेको छ । उक्त कार्यक्रममा नेपालगन्जका अगुवा महिला उद्यमी तथा नेकपामा आबद्ध काश्मिरा खातुन, जसपाका इम्तियाज राईलगायत श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले बाढीले गरेको विध्वंंशकै बीच पूर्वनिर्धारित भइसकेको कार्यक्रम गर्नुपरेको स्पष्टीकरण दिए । उनले देश बनाउनका लागि श्रम गर्ने संस्कृति स्थापित गराउने पार्टी श्रम संस्कृति पार्टी भएको बताए । उनले श्रमदान गर्नेहरूलाई सामाजिक सञ्जालमा गाली तथा नकारात्मक कमेन्टहरू आइरहेको बताउँदै त्यसबाट बिचलित नभएर श्रमदानमै जुटिराख्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।
उनले आफ्नो पार्टीले बाढीपीडितलाई सहयोगको नाममा कुनै क्यूआर जारी नगरेको भए पनि सामाजिक सञ्जालमा अफवाह फैलाइएको बताएका छन् । साम्पाङले दूषित मन भएकाहरूले सामाजिक सञ्जालमा आफ्नो पार्टीविरुद्ध भ्रम फैलाएको पनि बताए । विपद्को बेलामा सबैले सक्दो सहयोग गर्न पनि उनले आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्