रसुवा बाढीमा अस्ताए कोहलपुरका दुई युवा



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँके कोहलपुर–११ का विश्राम थारूलाई भदौ ६ आइदिए जस्तो लाग्छ । भदौ १० नआइदिए जस्तो लाग्छ । भदौ १० ले उनीबाट सन्तान छिन्यो । जससँग भदौ ६ गते अन्तिमपटक कुराकानी भएको थियो फोनमा । विश्राम भन्छन्, ‘हालखबर सोधेको थियो, फोन गरेर । चार दिनपछि बेपत्ता भयो । एक सातापछि लास भेटियो ।’ एक्लो सन्तान गुमाएको खबरले विश्राम रन्थनिएका छन् । उनको परिवारमा सान्नाटा छाएको छ । बुहारीले सिन्दूर गुमाइन् । दुई नातीले बाबा गुमाए । कोहलपुर–११ का मध्यमवर्गीय थारू परिवारले सबथोक गुमाएको छ ।

कोख रित्तो भएको छ कोहलपुर–११ का २८ वर्षीय महेश थारूकी आमाको । उनी थारू परिवारका एक्लो छोरा थिए । भदौ १० को बाढीमा परी उनले ज्यान गुमाएका छन् । रसुवाबाट सम्पर्कविहीन भएका उनको अब शनिबार चितवनमा मृत अवस्था भेटियो । बुवा विश्रामका अनुसार मृतक महेश रोजगारीको सिलसिलामा २०८३ असार १० गते रसुवा गएका थिए । त्यहाँ उनी गाउँले साथीहरूसँगै एक विद्युत् परियोजनामा काम गर्थे । मिस्त्रीका रूपमा काम गरिरहेका उनी केही समयको अन्तरालमा परिवारसँग कुराकानी गरिरहन्थे । मिस्त्रीका रूपमा काम गरेर परिवारको सम्पूर्ण आर्थिक कार्यभार धानेका थिए महेशले ।

छोराको निधनपछि भावविह्वल भएका विश्राम भन्छन्, ‘१० गते त्यस्तो खबर सुनेपछि तत्काल फोन गरेका थियौँ । सुरु देखिनै फोन नै लागेन । लासै भए पनि भेटिन्छ कि भन्ने आशले चितवन गएका थियौँ । छोरो मृत अवस्थामा भेटियो सर ।’ मृतक महेशका ८ वर्ष र २ वर्षका दुईजना छोरा छन् । श्रीमती र बुढी आमालाई कहिल्यै नभेट्नेगरी छोरा गएपछि बुढेसकालमा आफू एक्लो भएको विश्रामले बताए । स्थानीय पालिका र नेपाल रेडक्रस सोसाइटीको सहयोगबाट महेशको शव आइतबार कोहलपुर आइपुग्ने जनाइएको छ ।

कोहलपुर–११ लोकनगरका २३ वर्षीय कबीरलाल थारू गत वैशाख अन्तिम साता रोजगारीको खोजीमा रसुवा गएका थिए । त्यहाँ उनी एक जलविद्युत् परियोजनामा काम गर्थे । आगामी दशैँमा घर फर्किने योजनामा थिए कबीरलाल । तर, दशैँ आउनुभन्दा महिनाअघि नै उनको लास घरमा आइपुग्यो । मृतक थारूका दाई सुग्रीप थारू भन्छन्, ‘भदौ १० गते रसुवामा पहिरो गएको थाहा पाएपछि आमाले मलाई भाईसँग कुरा गर्ने भन्नुभयो । पहिलो उसको नम्बरमा हान्दा लागेन । सुपरभाइजरलाई फोन गर्दा सबैजना बाढीमा फसेको बतायो । आमा आत्तिनुभयो । त्यसपछि निरन्तर सम्पर्क गर्दा पनि फोन नै लागेन ।’

आमाको आग्रहपछि सुग्रीप भदौ ११ गते रसुवाका लागि हिँडे । उनका अनुसार रसुवा जान खोज्दा चितवनको नारायणघाबाट गाडी भेटिने अवस्था थिएन । रसुवा बाढीले बगाएर ल्याएका अधिकांश लासहरू नारायणीमा भेटिन थालेपछि आफूहरू रोकिएको उनले बताए । भदौ १२ गते बिहानै आफूहरू चितवनस्थित भरतपुर अस्पतालमा पुगेको उनले बताए । उनी भन्छन्, ‘त्यहाँ सयौँ लास थिए । खोजी गर्दा भाईको लास भेटियो । जिउँदो भेट्ने हाम्रो आशा सधैँका लागि समाप्त भयो ।’ कबीरलालको लास क्षतविक्षत अवस्थामा थियो ।

दायाँपट्टीको खुट्टा नै छिनिएको थियो । शरीरका अन्य भागमा समेत चोटपटक धेरै रहेको उनले बताए । कबीरलाल चार भाईमध्ये साइँला थिए । जेठो, माइलो र कान्छोको विवाह भइसकेको थियो । उनी भने अविवाहित थिए । जेठा दाई सुग्रीप यसै साल विवाह गर्ने तयारी रहेको बताउँछन् । उनको शव ल्याएर शनिबार कोहलपुरस्थित शवदाह गृहमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । कोहलपुर नगरपालिकाका अनुसार कोहलपुर नगरपालिका स्थायी ठेगाना भएका दुई जनाको मृत्यु भएको हो । कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार हालसम्म नगरभित्रका १२ जना नागरिक बेपत्ता छन्, जसमध्ये एकजना नगरपालिको सम्पर्कमा आएका छन् भने बाँकी अझै बेपत्ता अवस्थामा रहेका छन् ।

मृतकका परिवारलाई काजकिरिया खर्च दिइने 

बाँकेको कोहलपुर नगरपालिकाले रसुवा बाढीमा परी ज्यान गुमाएका नगरवासीका परिवारलाई ५० हजार रूपैयाँँ काजकिरिया खर्च दिने भएको छ । शनिबार बसेको कोहलपुर नगरपालिकाको कार्यपालिका बैठकले बाढीबाट ज्यान गुमाएका कोहलपुरवासी मृतकका परिवारलाई तत्कालका लागी जनही काजकिरिया खर्चबापत ५० हजार रूपैयाँँ उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले विपद्बबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहततर्फ आवश्यक समन्वय गर्ने तथा शव व्यवस्थापनको जिम्मेवारी कोहलपुर नगरपालिकाले लिने निर्णय गरिएको नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार बैठकले विपद्प्रति ऐक्यबद्धता जनाउँदै राहत एवं उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले कोहलपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले आफ्नो पद तथा तहअनुसार न्यूनतम ३ दिनदेखि अधिकतम ७ दिनसम्मको पारिश्रमिक तथा सेवासुविधा बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको छ । बाढीका कारण बेपत्ता भएका कोहलपुर नगरपालिकाका नागरिकहरूको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन कोहलपुर नगरपालिका वडा नं. १२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहको नेतृत्वमा वडा नम्बर २ वडाध्यक्ष हरि कठायत र वडा नम्बर ६ वडाध्यक्ष श्रीकृष्ण थारूसहित वडा नम्बर १ देखि ११ सम्मका २÷२ जना वडासदस्यहरू, नगर प्रहरी तथा बेपत्ता नागरिकका परिवारका सदस्यहरू समेत रहेको टोली सम्बन्धित क्षेत्रमा गई खोज तथा उद्धार कार्यमा आवश्यक समन्वय, सहजीकरण तथा सहयोग गर्ने निर्णय गरिएको छ ।

बैठकपछि नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालै आएको भीषण बाढी तथा त्यसबाट उत्पन्न विपद्का कारण अकालमै ज्यान गुमाउनुभएका सम्पूर्ण मृतकहरूप्रति कोहलपुर नगरपालिकाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गदर्छ । शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्ने तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’ यस्तै, राप्ती सोनारी गाउँपालिकाले समेत गाउँपालिकाका ६ जना रोजगारीका लागि रसुवा लगायतका जिल्लामा गएको खबर प्राप्त भएको जनाएको छ । गाउँपालिकाका नागरिकहरूको खोज, उद्धारका लागि गाउँपालिकाले सम्बन्धित निकायमा समन्वय र सहकार्य गरिरहेको समेत गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले परिवारका सदस्य तथा कोही आफन्तहरू रसुवा लगायतका क्षेत्रमा गएर सम्पर्कविहीन भएको भए सम्पर्क गर्न अनुरोध गरिएको जानकारी दिएका छन् ।

बाँके र बर्दियाका केही अझै सम्पर्कविहीन

रसुवा बाढीबाट बाँके र बर्दियासमेत प्रभावित बनेका छन् । हालसम्म बाँकेको कोहलपुरका दुई जना युवाको ज्यान गएको पुष्टि भएको छ । हालसम्म दुवै जिल्लाका सयौँ नागरिक सम्पर्कविहीन अवस्थामा छन् भने दर्जनौँ नागरिकका परिवार र आफन्तको सम्पर्कमा आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक रसुवा बाढीबाट प्रभावितको शनिबारसम्म उद्धार गरिएका व्यक्तिहरूको विवरणअनुसार हालसम्म बर्दियाका ६५ जनाको उद्धार गरिएको छ ।

यस्तै बाँके जिल्लाका १२ जनाको उद्धार गरिएको छ । बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकार गोगनबहादुर हमालका अनुसार बर्दिया जिल्लाका हालसम्म १ सय जनाको हाराहारीमा नागरिकहरू सम्पर्कविहीन अवस्थामा छन् । कार्यालयले सम्पर्कविहीन भएका र सम्पर्कमा आएका व्यक्तिहरूको विवरण दिन सर्वसाधारणलाई अपिल गरेको उनले बताए । यस्तै हरेक दिन तथ्यांक सार्वजनिकसमेत गर्ने गरिएको प्रजिअ हमालको भनाइ छ । बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी दिलबहादु तामाङ तथ्यांक संकलन र भेरिफाइ गर्न कार्यालयले निरन्तर काम गरिरहेको बताएका छन् । उनका अनुसार शनिबार मात्रै बाँके जिल्लाका १२ जनाको उद्धार भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १४ गते आइतबार