शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बाँकेको बैजनाथ–६ स्थित ईश्वरी माध्यमिक विद्यालय ‘एच’गाउँको मावि तहको गणित शिक्षकका लागि भएको प्रथम पत्रको परीक्षामा अनियमिता भएको पुष्टि भएको छ । संघीय अनुदानतर्फ मावि तहको गणित शिक्षक भर्नाका लागि २०८३ भदौ १ गते गाउँपालिकामा सञ्चालन गरिएको परीक्षामा अनियमितता भएको भन्दै परीक्षामा सहभागी बर्दियाको बाँसगढी– ५ का सागर चौधरीले उक्त परीक्षाको उत्तरपुस्तिका पुनः परीक्षण र प्रश्नपत्र निर्माणमा कमजोरी भएको भन्दै उत्तर कुञ्जिकाको (उत्तर की)समेत जाँच गर्नुपर्ने माग गर्दै विद्यालयमा निवेदन दिएका थिए ।
सोही दिन विद्यालयद्वारा प्रकाशित नतिजा चित्त नबुझेको भन्दै २ गते परीक्षार्थी चौधरीले परीक्षामा अनियमितता भएको दाबीसहित निवेदन दिएका थिए । भदौ ७ गते मिसन टुडे दैनिकले ‘बैजनाथमा शिक्षा भर्नामा अनियमितताको आशंका’ शीर्षकमा समाचार प्रकाशित ग¥यो । समाचार प्रकाशित भएपछि बैजनाथ गाउँपालिकाले सो विषयको छानबिनका लागि भदौ ९ गते छानबिन समिति गठन गरेको थियो। गाउँपालिकाद्वारा गठिन छानबिन समितिले निवेदनउपर छानबिन गर्दा परीक्षामा सोधिएको प्रश्नपत्र र उत्तर कुञ्जिका (उत्तर की)को उत्तर नै गलत भएको पत्ता लगाएको हो ।
गाउँपालिकाका प्रतिनिधि, छानबिन समिति र पीडित पक्ष बसेर उत्तरपुस्तिका पुनः परीक्षण गर्दा प्रश्नपत्रमा उल्लेखित प्रश्नको उत्तर र उत्तर कुञ्जिका (उत्तर की)मा उल्लेखित उत्तर गलत भेटिएको पुष्टि भएको हो । परीक्षामा १०० पूर्णाङ्कका लागि कूल ५० वटा प्रश्न सोधिएको थियो । एउटा प्रश्नको दुई वटा नम्बर हुनेगरी सोधिएका ५० वटा प्रश्नमा प्रश्नपत्रमा उल्लेखित उत्तर र उत्तर कुञ्जिकामा उल्लेखित उत्तर गलत भेटिएको छानबिन समितिका सदस्य बाबुराम अधिकारीले बताए । वस्तुगत परीक्षाको प्रश्नपत्र र उत्तर कुञ्जिका जाँच गर्दा प्रश्नपत्र र उत्तर कुञ्जिकामा उल्लेखित उत्तर नै गलत भेटिएको उनले बताएका हुन् ।
मावि तहको परीक्षामा मावि तहकै प्रश्नपत्र सोधिनुपर्नेमा निमावि तहका परीक्षाका लागि सोधेका प्रश्नसमेत समावेश गरिएको पाइएको उनले बताए । यता, बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले पनि ईश्वरी माविको परीक्षा सम्बन्धमा अनियमितता भएको गुनासो आएपछि छानबिन समिति गठन गरिएको र समितिको छानबिनबाट प्रश्नपत्र र उत्तर कुञ्जिकामा उल्लेखित उत्तरमा त्रुटि भेटिएको बताए । उनका अनुसार छानबिनबाट मावि तहको वस्तुगत परीक्षाका लागि निर्माण गरिएको प्रश्नहरू आधारभूत तह निमावि शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा २०७८ मा सोधिएका प्रश्नहरूसँग हुबहु मिलेको समेत भेटिएको छ ।
ईश्वरी माविको मावि तहको गणित विषयको प्रथम पत्र वस्तुगत परीक्षामा सोधिएका कूल ५० मध्ये ३९ वटा प्रश्नका उत्तर गलत देखिएको अध्यक्ष शाहीले बताए । प्रश्नपत्र र उत्तर कुञ्जिका (उत्तर की) जाँच गर्दा प्रश्नपत्रमा उल्लेखित उत्तर र उत्तर कुञ्जिकामा उल्लेखित उत्तर नै गलत देखिएको उनको भनाइ छ । परीक्षाको लागि प्रश्नपत्र र उत्तर कुञ्जिका (उत्तर की) बैजनाथ गाउँपालिकाका मावि तहका स्थायी शिक्षकहरूको विज्ञ समूहले निर्माण गरेको हो । प्रश्नपत्र र उत्तर कुञ्जिका (उत्तर की) खाममा राखी गरिएको शिलबन्दीमा गाउँपालिका अध्यक्ष, शिक्षा शाखा प्रमुख, शिक्षक महासंघका बैजनाथ अध्यक्ष र सम्बन्धित विद्यालयका प्रअको हस्ताक्षर छ ।
विज्ञ समूहले निर्माण गरेका प्रश्नपत्र र उत्तर कुञ्जिका (उत्तर की) खाममा शिलबन्दी गरेर बैजनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकालको कार्यकक्षको दराजमा राखिएको थियो । परीक्षाको दिन पनि गाउँपालिकाका अध्यक्ष शाहीको रोहबरमा प्रश्नपत्र खोलेर परीक्षा सञ्चालन गरेको र विषय विज्ञले प्रश्नपत्र जाँच गरेका थिए । तर, निवेदक चौधरीसहित परीक्षामा सहभागी पाँचैजना फेल भए ।मिसन टुडे दैनिकसँग कुराकानी गर्दै अध्यक्ष शाही भन्छन्, ‘हामीले परीक्षा पारदर्शी रूपमा सञ्चालन गर्न खोजेका थियौँ । सोहीअनुसार कडाइ पनि गरिएको हो ।
तर परीक्षार्थीले प्रश्नपत्र र उत्तर कुञ्जिकामाथि नै प्रश्न उठाए । जाँच गर्दा गम्भीर त्रुटि भएको देखियो । यसले शिक्षक नियुक्तिमा गम्भीर चलखेल भएको देखिएको छ । अब उत्तर कुञ्जिका निर्माण गर्नेहरूमाथि नै छानबिन हुन्छ । दोषीहरूलाई कडा कारबाही गरिन्छ ।’ छानबिनको क्रममा प्रश्नपत्र र उत्तर कुञ्जिका (उत्तर की)मा उल्लेखित उत्तर नै फरक देखिएपछि उत्तर कुञ्जिकाको थप स्तरीकरणको गृहकार्य सुरु गरिएको अध्यक्ष शाहीले जानकारी दिए । उत्तर कुञ्जिकाको स्तरीकरण अब गाउँपालिकाभन्दा बाहिरका विज्ञहरूलाई बोलाएर गरिनेसमेत उनले बताएका हुन् ।
ईश्वरी माविको माध्यमिक तह तृतीय श्रेणीको गणित विषयको शिक्षक भर्नाका लागि २०८३ साउन ६ गते विज्ञापन गरेको थियो । विज्ञापनमा उल्लेख भएअनुसार दरखास्त दिने अन्तिम मिति साउन २० गतेसम्म ९ जनाले आवेदन दिएका थिए । तर, ढिलोगरी भदौ १ गते गाउँपालिकाको सभाहलमा सञ्चालन गरिएको प्रथम पत्रको परीक्षामा ५ जना मात्रै सहभागी भए । सोही दिन नै विद्यालयद्वारा प्रकाशित परीक्षाको नतिजामा सबै परीक्षार्थी अनुत्तीर्ण भएका थिए । अब उत्तर विद्यालयमा गाउँपालिकाले प्रथम पत्रको पुनः परीक्षा सञ्चालन गर्ने भएको छ ।









प्रतिक्रिया दिनुहोस्