नेपालगन्ज ।
बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य एवं राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले आसन्न प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । डा. राणाले आफूले चुनाव नलड्ने र युवा पुस्ताका नेताहरूलाई मौका दिनका लागि निर्वाचन नलड्ने भनेकोले राप्रपाको बाँके जिल्ला कमिटीले उम्मेदवारी सिफारिस गर्दा उनको नाम पठाएको छैन ।
राप्रपाले बाँके क्षेत्र नम्बर २ बाट सहायक महामन्त्री ऋषिराज देवकोटा, गत स्थानीय निर्वाचनमा नेपालगन्जको मेयर पदमा चुनाव लडेका नन्दलाल वैश्य, क्षेत्रीय अध्यक्ष चन्द्रशेखर पाण्डे र अरुणप्रताप सिंहको नाम सिफारिस गरेको छ । महामन्त्री राणाले आफूले एकै व्यक्ति धेरैपटक चुनाव लड्नु उपयुक्त नहुने विचार राखेर नाम सिफारिस नगर्न आग्रह गरेको मिसन टुडेसँग बताए । डा. राणाले भने, ‘मैले यसपटक म चुनाव लड्दिनँ, मेरो नाम सिफारिस नगर्नुहोला भनेर भनेको थिएँ । त्यही भएर पार्टीले मेरो नाम पठाएन ।
मैले चुनाव लड्न थालेको नै ३० वर्षभन्दा बढी हुन थाल्यो । यति लामो समयसम्म एकै व्यक्ति लड्नुभन्दा क्षमतावान युवाहरू अघि आउनुपर्छ भन्ने मेरा मान्यता हो ।’ चारजनाको नाम सिफारिस गरिएपनि सहायक महामन्त्री ऋषिराज देवकोटाले उम्मेदवारीको टिकट पाउने लगभग पक्का भइसकेको पार्टी स्रोतले बताएको छ । विद्यार्थी राजनीतिदेखि उदाएका देवकोटा राप्रपाको राजनीतिमा मुखर र सक्रिय नेता हुन् ।
पालगन्जको राजनीतिमा पनि देवकोटा कुनै न कुनै रूपमा सधैँ अग्रपंक्तिमा देखिन्छन् । देवकोटाले मिसन टुडेसँगको कुराकानीमा पनि आफूले कक्षा नौदेखि राजनीतिको अभ्यास सुरु गरेको र आफ्नो राजनीतिको पूर्ण समय नेपालगन्जलाई दिएको बताए । अहिले पार्टीले पनि आफूलाई उम्मेदवार बनाएमा मतदाताको साथ पाउने बलियो आधार रहेको उनले दाबी गरे ।
‘संकटको बेला पनि नेपालगन्जमा पार्टीको संगठन जोगाएर राखेँ । त्यसलाई विस्तार गरेँ । यहाँबाट मेयरदेखि सांसदसम्म जिताउन अग्रपंक्तिमा खटिएँ । यो हिसाबले म निर्वाचनमा लड्नका लागि योग्य छु,’ देवकोटाले भने । उनले महामन्त्री राणाले फेरि चुनाव नलड्ने निर्णय गर्नुले उनी अरु नेताभन्दा अलग र परिपक्व नेता हुन् भन्ने पुष्टि गरेको देवकोटाले बताए ।
उनले भने, ‘उहाँले हामीसँग भन्नुभयो–म पाँचपटक यहीँबाट चुनाव लडिसकेँ, दुईपटक मेयर र एकपटक सांसद भइसकेँ । अब फेरि मै चुनाव लड्नु उपयुक्त हुँदैन । युवाले मौका पाउनुपर्छ भन्ने जेनजी आन्दोलनको मर्मलाई पनि उहाँले बुझेर यो निर्णय लिनुभएको हो ।’ मतदाताले एकै व्यक्तिलाई बिरलै सोही पदमा दोहो¥याउने गरेको बाँके क्षेत्र नम्बर २ मा डा. राणा बलिया चुनावी दाबेदार मानिन्छन् । उनले मैदान छोडेसँग यहाँको राजनीतिमा फरक आँकडा बन्ने अड्कलबाजी सुरु भएको छ ।
कमल थापा पनि बाँके २ बाट सिफारिस
राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले चुनाव नलड्ने घोषणा गरेको बेला राप्रपा नेपाल बाँके जिल्ला कार्यसमितिले भने आफ्ना केन्द्रीय अध्यक्ष कमल थापालाई बाँके क्षेत्र नम्बर २ को उम्मेदवारका रूपमा सर्वसम्मति गरी पठाएको छ । राप्रपा नेपालका सहायक महामन्त्री तेजविक्रम शाहले थापाको नाम सर्वसम्मतिबाट सिफारिस गरेको जानकारी दिए ।
शाहले फेसबुकमा लेखेका छन्, ‘राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने निर्णय गरेको अवस्थामा राप्रपा नेपालका अध्यक्ष रास्ट्रवादी नेता कमल थापाज्युको सिफारिसले नयाँ सम्भावना र उत्साह बढाएको छ ।’ केन्द्रमा पनि दुईवटा पार्टी एकीकरणको प्रयत्न भइरहेको बेला थापालाई राप्रपाको सहज जित हुने सम्भावना रहेको क्षेत्र डा. राणाले छोड्नु र थापाको नाम सर्वसम्मतिले सिफारिस हुनुले राप्रपा वृत्तमा भने संशय पैदा गरेको छ । यस विषयमा डा. राणा र थापाबीच कुनै आन्तरिक सल्लाह भएको हो कि भन्ने संशय पनि व्यक्त हुन थालेको बताइएको छ ।
तर, डा. राणा भने आफूलाई थापाको उम्मेदवारीबारे कुनै जानकारी नभएको बताउँछन् । तपाईँले छोडेपछि राप्रपा नेपालले कमल थापाको नाम सिफारिस गरेर पठाएछ । तपाईँहरूको केही सल्लाह भएको हो ? भन्ने मिसन टुडेको प्रश्नमा डा. राणाले भने, ‘हो र ? त्यसबारेमा मलाई केही जानकारी छैन ।’








प्रतिक्रिया दिनुहोस्