शेरबहादुर ऐर । कैलाली ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरका युवा हेमराज जोशीले अहिले ‘ग्रो मोर फिटनेस’ सञ्चालनमा ल्याएका छन् । तर, उनको यो यात्रा सहज भने छैन । स्थिर जागिरबाट उद्यमतर्फ मोडिएको जीवन–निर्णयले आज उनी धेरैका लागि प्रेरणाको स्रोत बन्ने देखिन्छ। हेमराज जोशी केही वर्षअघि बैंकिङ क्षेत्रमा कार्यरत थिए ।
सुरुमा चम्किलो देखिने बैंकिङ पेशा पछि जानाजानै सीमित आय, कम तलब–वृद्धि र भविष्यको अनिश्चिततामा रूपान्तरित हुँदै गयो । उनले सम्झन्छन्, ‘मासिक तलब बढेको भनेको तीन हजार रुपैयाँ जति मात्रै । त्यो पनि भविष्य सुरक्षित गर्न पर्याप्त थिएन । कामको दबाब धेरै, तर सम्भावना सीमित ।’ त्यसपछि उनले जीवनमा केही नयाँ, अर्थपूर्ण र स्थायी गर्नुपर्ने सोच लिए । सफलताको खोजीले उनलाई एउटा बिल्कुलै फरक दिशातर्फ—फिटनेस उद्यमतर्फ मोडिदियो ।
जोखिम लिन नडराउने स्वभावका जोशीले बैंकिङ क्षेत्र छोडेर डेढ करोड रुपैयाँको ठूलो लगानीसहित ‘ग्रो मोर फिटनेस’ स्थापना गर्ने निर्णय गरे। परिवार र साथीभाइको साथसहयोगले उनले आधुनिक मेसिन, अर्गोनोमिक उपकरण, कार्डियो सेक्शन, जुम्बा कक्षा र डान्स स्टुडियोसहितको अत्याधुनिक फिटनेस सेन्टर तयार गरे । घटनाक्रम सम्झँदै उनी भन्छन्,– ‘सुरुमा डर लाग्थ्यो । बैंकको जागिर छाडेर व्यवसायमा लाग्नु सबैका लागि सामान्य कुरा थिएन । तर मैले जोखिम नलिए भविष्य बदलिँदैन भन्ने विश्वास थियो ।’
फिटनेस सेन्टर नहुँदा हसनपुर र आसपासका बासिन्दा धनगढी बजारसम्म निर्भर रहनुपथ्र्यो । यो समस्या उनले राम्ररी बुझे । त्यसैले उनले जिमलाई केवल ‘व्यवसाय’ होइन, समुदायलाई आवश्यक सेवाका रूपमा निर्माण गरे । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझाले शुक्रबार सो जिमको उद्घाटनसमेत गरेका छन् । उनले यस जिमले अहिले स्थानीय बासिन्दाको जीवनशैलीमा परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा ओझाले भने, ‘हसनपुर क्षेत्रमा यस्तो फिटनेस सेन्टर कहिल्यै थिएन । यसले स्वास्थ्य र उद्यमशीलता दुवैमा ठूलो योगदान दिन्छ ।’ ग्रो मोर फिटनेसमा जिम मात्र होइन–जुम्बा, डान्स, कार्डियो, स्ट्रेन्थ ट्रेनिङ, वजन व्यवस्थापन र व्यक्तिगत मार्गदर्शन जस्ता सेवा उपलब्ध छन् । पहिले जिमलाई ‘युवाहरूले मात्र गर्ने काम’ ठानिन्थ्यो । तर अहिले जोशीले तयार गरेको एकीकृत फिटनेस वातावरणले उमेर ढल्केका व्यक्तिले पनि व्यायाम गर्न रुचाउन थालेका छन् ।
सञ्चालक जोशी र उनको टोलीले फिटनेसका साथै स्वस्थ खानपान, पोषण, तथा म्याद नाथिएका खाद्यवस्तुबाट हुने जोखिमका बारेमा पनि जागरण फैलाइरहेका छन् । उनी भन्छन्, ‘जिममा कसरत गरे मात्र पुग्दैन । स्वस्थ खाना, पौष्टिकता र जीवनशैलीमा नियमितता आवश्यक छ । हामी यही सन्देश फैलाइरहेका छौँ ।’ जुम्बा प्रशिक्षक गोविन्द केसी लगायतको साथसहयोगमा ग्रो मोर फिटनेसले विभिन्न स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ ।
युवाहरूलाई आफूमा आत्मविश्वास जगाउने, समयको सही प्रयोग र अनुशासन सिकाउने केन्द्रका रूपमा जिमले स्थान बनाएको छ । ग्रो मोर फिटनेस हसनपुरको सबैभन्दा सजिलो, आधुनिक र भरपर्दो फिटनेस गन्तव्य बन्ने उनको भनाइ छ । दैनिक दर्जनौँ ग्राहक, महिलाहरूको सक्रिय सहभागिता, विद्यार्थीका लागि छुट र परिवारमै स्वास्थ्य–संस्कृति बनाउने अभ्यासले जोशीको उद्यमलाई सफल मोड बनाउने दिएको जुम्बा प्रशिक्षक गोविन्द केसीले बताए ।
हेमराज जोशी भन्छन्, ‘सफलता त्यहीँ जन्मिन्छ जहाँ डरभन्दा ठूलो सपनाहरू बन्छन् । जागिरले सीमित बनाएको थियो, उद्यमले मलाई र समुदायलाई दुवैलाई नयाँ ऊर्जा दियो ।’ जोशीको यात्रा केवल व्यक्तिगत सफलता मात्र नभई स्थानीय उद्यमशीलता, फिटनेस उद्योग र समुदाय विकासको प्रेरणादायी उदाहरण बनिरहेको व्यवसायी ओझाले बताए । उनले युवालाई सन्देश दिएका छन– ‘आत्मविश्वास राख्नुहोस् । सिक्दै अघि बढ्नुहोस् । जीवनलाई बदल्ने शक्ति तपाईँमै छ ।’ ग्रो मोर फिटनेसको स्थापना–यात्राले हसनपुरमा स्वास्थ्य, रोजगारी र फिटनेस–संस्कृतिको नयाँ अध्याय सुरु गरिदिएको छ ।
जिम तथा कार्डियोका प्याकेज सार्वजनिक
ग्रो मोर फिटनेसले जिम तथा कार्डियो सेवा चाहनेका लागि नियमित शुल्क सूचीसहित अफर प्याकेज सार्वजनिक गरेको छ । जिम–कार्डियोअन्तर्गत एक महिनाको शुल्क तीन हजार पाँच सय, तीन महिनाको शुल्क १५ हजार एक सय ११, ६ महिनाको शुल्क १७ हजार नौ सय ९९ र १ वर्षको शुल्क ३३ हजार चार ९९ तोकिएको छ ।
जिमका नियमित सदस्यले आधुनिक उपकरण, प्रोफेशनल गाइडलाइन र सम्पूर्ण फिटनेस सुविधा प्राप्त गर्ने जिम पक्षले जनाएको छ । जुम्बा र कार्डियो संयोजन गरिएको प्याकेजमा क्रमशः तीन हजार, आठ हजार, १५ हजार र २८ हजार तोकिएको छ । यो प्याकेज विशेषतः वजन घटाउन, फिटनेस सुधार्न र डान्स–बेस्ड व्यायाम रोज्नेका लागि उपयुक्त हुने जिमको भनाइ छ ।
विद्यार्थीलाई लक्षित गर्दै छुटसहितको अफर प्रदान गरिएको छ । विद्यार्थीका लागि एक महिना तीन हजार, तीन महिनाको आठ हजार, छ महिना १५ हजार र १ वर्ष २८ हजारमा उपलब्ध गराइनेछ । विद्यार्थीलाई फिटनेसमा प्रोत्साहन गर्ने उद्देश्यले यो दर विशेष छुटका साथ प्रस्तुत गरिएको सञ्चालकले बताए ।








प्रतिक्रिया दिनुहोस्