राइजिङ स्टार प्रिमियर लिगः वात्सल्य, हिलवल्र्ड र प्रज्ञा सदन विजयी



कैलाली ।

कैलालीको धनगढीमा जारी ‘बाल्मिकी प्लस टू राइजिङ स्टार प्रिमियर लिग’ आरपीएल क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार तीन खेल सम्पन्न भएका छन् । सोमबारको पहिलो खेलमा वात्सल्य विद्या निकेतन विजयी भएको छ । उसले ज्ञानदीप विद्या निकेतनलाई ७० रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको वात्सल्यले निर्धारित १० ओभरमा ३ विकेटको क्षतिमा १३४ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ज्ञानदीप ६४ रनमा समेटियो । दोस्रो खेलमा हिलवल्र्ड बोर्डिङ स्कुलले किड्स जोनलाई ७४ रनले पराजित गरेको छ ।पहिले ब्याटिङ गरेको हिलवल्र्ड बोर्डिङ स्कुलले १० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । जवाफमा किड्स जोन ६० रनमा समेटियो ।
तेस्रो खेलमा धनगढी प्रज्ञा सदन विजयी भएको छ ।

उसले गार्डेन बोर्डिङ स्कुललाई ६० रनले पराजित गरेको हो । धनगढी प्रज्ञा सदनले १० ओभरमा ४ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । गार्डेन बोर्डिङ स्कुलले १० ओभरमा ८ विकेट गुमाउँदै ५९ रन मात्रै बनाउन सक्यो । राइजिङ स्टार बोर्डिङ स्कुलको आयोजनामा धनगढीस्थित मट्यारीमा रहेको श्रीकृष्ण सामुदायिक वनको खेल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

राइजिङ स्टार बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक कलेन्द्र शाहीका अनुसार ८ कक्षामुनिको प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ ।प्रवन्ध निर्देशक शाहीले प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद पाँच हजार, उत्कृष्ट ब्याटर, बलर र उदयमान खेलाडीलाई दुई–दुई हजार प्रदान गरिने छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार