कोहलपुर क्षेत्रका बैंकसँग हुलाक बाँकेको अन्तक्रिया



नेपालगन्ज ।

जिल्ला हुलाक कार्यालय बाँकेले कोहलपुरस्थित बैँक तथा वितीय संस्था लगायतका सरोकारवालाहरूसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कोहलपुरमा रहेका सबै प्रकारका बैंकहरू, लघुवित्तीय संस्था, सहकारी संस्था, सरकारी कार्यालय तथा सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा हुलाकले प्रदान गर्ने सेवासम्बन्धी जानकारी, हुलाक सेवा लिँदादिँदा आइपर्ने समस्या, समस्या समाधानका विकल्पहरू, सेवाग्राहीको दायित्वहरू, बदलिँदो परिस्थितिमा हुलाकले अन्य निकायसँग प्रतिस्पर्धा दिने गरी सेवा कार्यविधिमा गरेका सुधारहरू लगायतका विषयमा छलफल गरिएको थियो ।

अन्तक्र्रिया कार्यक्रममा बैंक तथा वित्तीय संस्था र नेपाल सरकारका सबै प्रकारका चिट्ठीपत्रहरू हुलाकबाट पत्राचार गर्ने, पत्राचार लगायतका कारोबार हुलाकमार्फत गर्नेगरि केन्द्रीय निकायबाट परिपत्र वा अन्य निर्णय हुनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा सूचना प्रविधिमा आधारित छिटो र विश्वसनीय हुलाक सेवाको विस्तार लगायतको बारेमा जानकारी पनि गराइएको थियो ।

आगामी दिनहरूमा ऋणीहरूको चिट्ठीपत्र बाहेकका थप सेवाहरू पनि हुलाकबाट नै लिने प्रतिबद्धता सहभागीले गरेका थिए । कार्यक्रममा हुलाक वस्तुदर्ता दर्तापश्चात दर्ता गरेको विवरण प्रेषकलाई र डेलिभरीपश्चात् डेलिभरी भएको विवरण प्रेषक र प्रापक दुवैलाई मेसेजको रूपमा पठाउने गरि हुलाक प्रणालीलाई अपग्रेड गर्नुपर्ने सुझाव पनि दिइएको थियो ।

जिल्ला हुलाक कार्यालय बाँकेका हुलाक अधिकृत गजेन्द्रप्रकाश थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य, कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख रविलाल मिजार, इलाका प्रशासन कोहलपुरका कार्यालय प्रमुख अन्तिम सिंजालीलगायत पनि सहभागी थिए । हुलाक अधिकृत थारूले अब निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै हुलाक सेवा सुधार गर्ने प्रतिबद्धता जनाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार