सुमन अधिकारी । बुटवल ।
लुम्बिनी लायन्सले एनपीएलको पहिलो संस्करणको आफ्नो प्रदर्शनलाई बिर्साउँदै दोस्रो संस्करणमा लिगचरण पार गरेको छ । जारी एनपीएलमा लुम्बिनीले पहिलो चरणमा खेलिएका ७ खेलमा ४ खेलमा जित हात पार्दै फाइनल प्रवेशका लागि इलिमिनेटरको प्रतिस्पर्धा गर्दैछ । बुधबार इलिमिनेटरमा काठमान्डु गोर्खाजसँग लुम्बिनी खेल्नेछ । सो खेलमा जित हात पार्न सकेमा दोस्रो चरणमा मंगलबार सुदूरपश्चिम र विराटनगरबीचको खेलमा पराजित भएको टिमसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
लुम्बिनी लायन्सका लागि एनपीएलको पहिलो संस्करण विर्सन लायक थियो । लुम्बिनी पहिलो संस्करणमा अंक तालिकामा पुच्छारमा रहेर बाहिएको हो । पहिलो संस्करणको नतिजालाई बिर्सेर दोस्रो चरणमा प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रेको लुम्बिनीले सोही अनुसारको प्रदर्शन गर्दै प्ले अफमा स्थान बनाउन सकेको छ । हुन त दोस्रो चरणमा पनि लुम्बिनीको प्रदर्शनमा उतार चढाव आएको थियो । कुनै समय लुम्बिनी अंकका आधारमा प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिने अवस्था सिर्जना नभएको होइन ।
लुम्बिनी साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै एलिमिनेटरमा पुगेको हो । एनपीएलको दोस्रो संस्करणमा साविक विजेता जनकपुर बोल्ट्स, चितवन राइनोज र पोखरा राइनोज लिग चरणबाट बाहिरिएका छन् । दोस्रो संस्करणमा लिग चरण पार गरेका मध्ये सुदूरपश्चिमबाहेक ३ टिम पहिलो पटक प्ले अफमापुग्ने टिम हुन् । प्रतियोगिताको लिग चरणका खेलहरू आइतबारबाट सकिएका छन् । आइतबार अन्तिम दुई खेल भएका थिए । प्रतियोगिताको प्ले अफमा सुदूरपश्चिम १२ अंकका साथ शिर्ष स्थानमा रहेको छ भने विराटनगर र काठमाडौँले समान १०–१० अंक पाएको भएपनि नेट रनरेटका आधारमा विराटनगर दोस्रो तथा काठमाडौँ तेस्रो स्थानमा रहेको छ भने लुम्बिनी ८ अंक प्राप्त गरी चौथो स्थानमा रहेको छ ।
लिग चरणको प्रदर्शन
लुम्बिनी लायन्सले प्रतियोगितामा खेलका ७ खेलमा ४ खेलमा जित र ३ खेलमा हार व्यहोरेको छ । आफ्नो पहिलो खेलमा जितबाट सुरु गरेको लायन्सले त्यसपछिका ३ वटा खेलमा लगातार हार व्यहोर्न पुग्यो । त्यसले लुम्बिनीलाई कुनै समयमा अंक तालिकामा पुच्छारबाट दोस्रो नम्बरमा पु¥याएको थियो । लुम्बिनीले आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई हराएको हो । लिग चरणमा लुम्बिनीले गरेको प्रदर्शन मध्यमखालको रहेको थियो । पहिलो खेलको लयलाई पछ्याउन सकेको थिएन ।
पहिलो खेल
लायन्सले जितका साथ नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको सुरुवात गरेको हो । पहिलो खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको थियो । सो खेलमा जितको लागि पाएको १ सय ४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।
जसमा ४४ बलमा कप्तान रोहित पौडेलले ३९ रन तथा गुल्बदीनले २४ बलमा ४४ रनको अविजित पारि खेलेका थिए । टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेपछि चितवनले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो ।
दोस्रो खेल
लुम्बिनी आफ्नो दोस्रो खेलमा काठमान्डु गोर्खाजसँग २२ रनले पराजित भएको थियो । लुम्बिनीका कप्तान रोहितले टस जितेर पहिले ब्याटिङ रोजेका थिए । पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । १ सय ५८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा अलआउट हुँदै मात्र १ सय ३५ रन बनायो ।
सो खेलमा लुम्बिनीले सुरुवात नै कमजोर गरेको थियो । पावर प्लेमा न्यून रनमा विकेट गुमाउँदै गयो । जितका लागि लुम्बिनीलाई एउटा राम्रो साझेदारी जरुरी थियो, जिम्मेवारीका साथ ब्याटिङ गर्नुपर्ने थियो, त्यो हुन सकेन । यो खेलमा काठमान्डुका कप्तान करणले विस्फोटक ब्याटिङ गर्दै ११ बलमा १ चौका र ४ छक्कासहित अविजित ३४ रन बनाएका हुन् ।
तेस्रो खेल
तेस्रो खेलमा लुम्बिनीले कर्णाली याक्ससँग ९ विकेटको लज्जाजनक हार व्यहोर्न पुग्यो । पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । सो खेलमा कप्तान रोहित पौडेल अर्धशतकबाट मात्र एक रनले चुके । उनले ४३ बलमा ४ चौका र २ छक्कासहित ४९ रन बनाएका हुन् । अन्तिम ५ ओभरमा लुम्बिनीले ६८ रन बनाएर खेलमा कमब्याक हुँदै कर्णालीलाई जितको लागि १ सय ५७ रनको चुनौती दिएको थियो ।
तर कर्णालीले १२.२ ओभरमामात्र १ विकेटको नोक्सानीमा लक्ष्य पूरा ग¥यो । जसमा मार्क वाटको एनपीएलको दोस्रो सिजनको पहिलो सतक सामेल छ । उनले ४१ बलमा ६ चौका र १० छक्काको मद्दतमा शतक बनाए । एनपीएलको यो दोस्रो शतक हो । यसअघि पहिलो सिजनमा पोखराबाट खेलेका एन्ड्रेस गसले लुम्बिनी विरूद्ध नै ५५ बल खेल्दै अविजित १ सय ४ रन बनाएका थिए ।
चौथो खेल
चौथो खेलमा लुम्बिनीले पुनःहार व्यहोर्न पुग्यो । लुम्बिनी आफ्नो चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको हो । लुम्बिनीको यो लगातार तेस्रो हार थियो । योसँगै उसलाई प्ले अफयात्रा कठिन बन्ने अवस्था सिर्जना भएको थियो । सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले हरायो ।
सुदूरपश्चिमले जितको लागि पाएको १ सय ४५ रनको लक्ष्य १८.२ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गरेको हो । टस हारेर ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा अलआउट हुँदै १ सय ४३ रन बनाएको थियो । १४.१ ओभरमा ३ विकेट नोक्सानीमा १ सय ४ रन जोडेको लुम्बिनीले ३९ रन थप्दा बाँकी ७ विकेट गुमाएको थियो ।
पाँचौँ खेल
लगातार ३ खेलमा पराजित भएपछि लुम्बिनीका लागि प्ले अफ पुग्न आफ्ना बाँकी ३ खेल जित्नै पर्ने दबाबमा प¥यो । आफ्नो पाँचौँ खेलमा त्यहीँ दबाबकाबीच लुम्बिनीले जित निकाल्न सफल भयो । लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले हराउन सफल भयो । लुम्बिनी लायन्सले दोस्रो जित हातपारेसँगै प्ले अफको सम्भावनालाई कायमै राख्यो ।
पोखराले जितको लागि दिएको १ सय ५१ रनको चुनौती लुम्बिनीले १९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो । जसमा कप्तान पौडेलले ४०, निरोसन डिकवेलाले ३७ रन बनाएका थिए । टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले बलिङ गर्ने निर्णय गरेपछि पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन जोड्यो ।
छैठौँ खेल
आफ्नो पाँचौँ खेलमा जित हात पारेर हौसिएको लुम्बिनीले छैठौँ खेलमा प्रतियोगिताको बलियो टिम विराटनगरलाई पराजित गर्न पुग्यो । लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै प्ले अफको सम्भावनालाई सहज बनाउन सफल भयो भने अर्कोतर्फ सो हारका कारण विराटनगरले एक खेल अगाडि प्ले अफमा पुग्ने मौका गुमाउनु पुगेको थियो ।
जितको लागि १ सय ४५ रनको चुनौती पछाएको लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । टस जितेर लुम्बिनीका कप्तान रोहितले पहिला बलिङ रोजेका थिए । पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनायो । विराटनगरको लागि ओपनिङ ब्याटिङको लागि दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस पहिलो पटक मैदानमा उत्रेका थिए तर उनी धेरै बेर क्रिजमा टिक्न सकेनन् । अभिशेष गौतमको बलमा फापमात्र ९ बल खेल्दै १२ रन बनाएर आउट भए ।
सातौँ खेल
छनौट चरणको सातौँ खेल लुम्बिनीका लागि मात्र नभएर अन्य बाँकी ३ टिमका लागि पनि महत्वपूर्ण थियो । उक्त खेलको नजिताले प्ले अफमा जान बाँकी एक टिमको छिनोफानो हुने स्थिती सिर्जना गर्ने अवस्था थियो । सो खेलमा लुम्बिनीले जिते ३ वटा टिम एकैसाथ बाहिरिने तथा लुम्बिनी हारबारे ४ टिमको सम्भावना कायमै रहने अवस्था थियो ।
त्यसमा लुम्बिनीले जित निकालेपछि प्ले अफ समिकरण पूरा भयो, छनौट चरणका बाँकी ३ खेल औपचारिकतामामात्र सिमित बन्न पुगे । लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज लिग चरणबाट बाहिरिन पुगे । सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा रहन सफल भए ।
टस जितेर जनकपुरका कप्तान जाननिकोल लोफ्टीले पहिले ब्याटिङ रोजे । जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३३ रनको योगफल बनायो । महत्वपूर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन् । जितको लागि १ सय ३३ रनको सहज चुनौती मानिएको लक्ष्य लुम्बिनीले दबाबमा १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।
अबको चुनौती
उतारचढावकाबीच छनौट चरणमा लगातारको ३ खेलको पराजयलाई बिर्सदै खेलमा फर्किएर पुनः लगातार ३ खेल नै आफ्नो पोल्टामा पार्न सफल भएको लुम्बिनीका लागि अब प्रतियोगिताको फाइनलमा पुग्न फेरी उस्तै संघर्षपूर्ण २ खेलमा जितको नतिजा निकाल्नु पर्ने भएको छ । प्ले अफ चरणमा अंकतालिकामा पुच्छारमा रहेर पुगेको लुम्बिनीले बुधबार एलिमिनेटरमा काठमान्डु गोर्खाजसँग खेल्ने छ ।
सो खेलमा जित हात पारेमा दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको उपविजेतासँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा खेल्नु पर्ने हुन्छ । यदी एलिमिनेटरमा पराजित भएमा प्रतियोगिताबाट बाहिरिनु पर्ने छ ।
प्रतियोगिताको पहिलो क्वालिफायर खेल अंकतालिकामा शिर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच मंगलबार हुनेछ । सो खेलको विजेता सोझै फाइनलमा पुग्नेछ भने उपविजेता दोस्रो क्वालिफायरमा बिहीबार एलिमिनेटरको विजेतासँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते शनिबार हुने कार्यक्रम रहेको छ ।









प्रतिक्रिया दिनुहोस्