वायुप्रदूषण बन्दैछ गम्भीर समस्या



विश्व बैंकले सन् २०२१ र २०२३ मा प्राप्त प्रदूषणको तथ्यांकलाई विश्लेषण गरेर तयार गरेको ‘नेपालमा स्वच्छ हावातर्पm ः फाइदा, प्रदूषणका स्रोत र समाधान’ शीर्षकको उक्त प्रतिवेदनले वायुप्रदूषणका कारण नेपालीको औसत जीवनअवधि ३ दशमलव ४ वर्षले घटाइरहेको र हरेक वर्ष करिब २६ हजार मानिसहरूको असामयिक मृत्यु भइरहेको पनि खुलासा गरेको छ । उक्त अध्ययन प्रतिवेदनले नेपालको काठमाडौँ उपत्यका र तराई क्षेत्र वायुप्रदूषणको हटस्पटको रूपमा रहेको देखाएको छ ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ की ६१ वर्षीया रमिला बुढा एकाबिहानै पैदलयात्रामा निस्कन्छिन् । रक्तचापसम्बन्धी समस्या रहेकी उनलाई पछिल्लो महिनामा पैदलयात्राका क्रममा आँखा पोलिएको महसुस भइरहेको छ । ‘एक महिनाअघि यस्तो हुन्थेन । अहिले त आँखा पोलेको जस्तो हुन्छ । सास बढी फुलेकोजस्तो लाग्छ,’ बुढाले भनिन् । उनले दिउँसोको समयमा पनि तुवाँलोजस्तो लागिरहेको देखिरहेकी उनलाई चैत वैशाखमा भन्दा बढी धुलो उड्ने भएकोले त्यसो भएको हो भन्ने लाग्छ ।

नेपालगन्जमा पछिल्ला केही हप्तायता बिहान र साँझपख आँखा पोलेको महसुस हुने र हावामा धुवाँ बढी भएको महसुस धेरैलाई भइरहेको छ । मंसिर २ गते बाँकेको खजुरा गाउँपालिकाले जाडो महिनाको सुरुवातसँगै वायुप्रदूषण पनि बढ्ने भन्दै सचेत रहन अनुरोध गरेर सूचना जारी ग¥यो । गाउँपालिकाले उक्त सूचनामा वायुप्रदूषण बढाउने गतिविधिहरू पनि नगर्न अनुरोध गरेको छ । वातावरण विभागको मनिटरिङ प्रणालीको तथ्यांक र विश्वभरीको हावाको गुणस्तरको रेकर्ड लाइभ अपडेट गर्ने आइक्यु एयरको तथ्यांकले पनि जाडो बढेसँगै प्रदूषण संकेत गर्ने हावाको गुणस्तर सुचकांक (एक्युआई) बढेको देखाइरहेका छन् ।

एक्युआई शून्यदेखि ५० सम्म हुनुलाई राम्रो मानिन्छ भने ५० भन्दामाथि एक सयसम्म मध्यम, एकसय एकदेखि एक सय ५० हुनु बिरामी मानिसका लागि अस्वस्थ, एकसय ५० भन्दामाथि हुनु सबैका लागि अस्वस्थ, दुई सयभन्दा माथि हुनु अत्यन्त अस्वस्थ र तीन सयभन्दा माथि हुनु खतरनाक मानिन्छ । जाडो मौसम सुरु भएसँगै वायुप्रदूषणको समस्या फेरि सुरु हुन लागेको देखिएको छ । विश्व बैंकले यसैवर्षको असार महिनामा सार्वजनिक गरेको नेपालमा वायुप्रदूषणको अवस्थासम्बन्धी एक अध्ययन प्रतिवेदनले पनि विशेषगरी मंसिरदेखि मध्यफागुनसम्म वायुप्रदूषण बढ्ने गरेको देखाएको थियो ।

विश्व बैंकले सन् २०२१ र २०२३ मा प्राप्त प्रदूषणको तथ्यांकलाई विश्लेषण गरेर तयार गरेको ‘नेपालमा स्वच्छ हावातर्पm ः फाइदा, प्रदूषणका स्रोत र समाधान’ शीर्षकको उक्त प्रतिवेदनले वायुप्रदूषणका कारण नेपालीको औसत जीवनअवधि ३ दशमलव ४ वर्षले घटाइरहेको र हरेक वर्ष करिब २६ हजार मानिसहरूको असामयिक मृत्यु भइरहेको पनि खुलासा गरेको छ । उक्त अध्ययन प्रतिवेदनले नेपालको काठमाडौँ उपत्यका र तराई क्षेत्र वायुप्रदूषणको हटस्पटको रूपमा रहेको देखाएको छ ।

प्रतिवेदनका अनुसार फोक्सोसम्बन्धी रोगका कारण हुने मृत्युमा ७५ प्रतिशत मृत्यु वायुप्रदूषणले हुने गरेको उल्लेख गरेको छ भने, स्ट्रोकका कारण हुने मृत्युमा ४६ प्रतिशत, मुटुसम्बन्धी रोगका कारण हुने मृत्युमा ४४ प्रतिशत, श्वासप्रश्वाससम्बन्धी समस्याबाट हुने मृत्युमध्ये ४१ प्रतिशत, फोक्सोको क्यान्सरमा ३८ प्रतिशत, नवजात शिशुको हुने मृत्युमा ३० प्रतिशत मृत्यु वायुप्रदूषणका कारणले हुने गरेको छ । स्वास्थ्यसँगै वायुप्रदूषणले श्रम उत्पादकत्व, पर्यटन र उड्डयन क्षेत्रलाई समेत प्रभावित गर्नुका साथै कूल गार्हस्थ उत्पादनमा ६ प्रतिशतभन्दा बढीको घाटा व्यहोर्नुपरिरहेको प्रतिवेदनले भनेको छ ।

हावामा सबैभन्दा खतरनाक मानिने हानिकारक शुक्ष्म कणहरू पिएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटर भएमा मात्रै स्वस्थ मानिने विश्व स्वास्थ्य संघठनको मापदण्ड छ । तर, विश्व बैकको प्रतिवेदनले सन् २०२१ र २०२३ मा वातावरण विभागले गर्ने मनिटरिङको तथ्यांक केलाएर निकालेको तुलनात्मक विवरणअनुसार नेपालका प्रमुख सहरहरूमा रहेका मापनकेन्द्रहरूमा पिएम २.५ को मात्रा १२ देखि १५ गुणा बढीसम्म हुने गरेको छ ।

पिएम २.५ भनेको सुक्ष्म कण तथा रसायनका बुँदहरूको मिश्रण हो । यसको आकार यति सुक्ष्म हुन्छ कि मानव कपालको व्यासको लगभग ३० भागको एक भागजति मात्र हुन्छ । यी कणहरू फोक्सोको गहिरो भागसम्म प्रवेश गर्न सक्छन् र रगतमा समेत मिसिन सक्छन् । जसले श्वासप्रश्वास प्रणालीमा असर गरेर दम, निमोनिया, उच्च रक्तचाप, हृदयघात, स्ट्रोकजस्ता गम्भीर समस्याहरू निम्त्याउन सक्छ । साथै यसको दीर्घकालीन सम्पर्कले फोक्सोको क्यान्सर हुने, बच्चाको तौल कम हुने, समयअगावै जन्म हुने र मस्तिष्क विकासमा असरसमेत पु¥याउन सक्छ।

पिएम २.५ वातावरणमा रासायनिक प्रतिक्रिया भएर, इन्धन जलेर सवारीसाधनबाट, इँटाभट्टा, सिमेन्ट कारखाना, घरायसी दाउरा र बायोग्यासको धुवाँ, कृषि फोहर र पराल जलाउँदा, डढेलो र जंगल आगलागी र सडकको धुलोबाट हावामा मिसिने गर्छ । यसका साथै उद्योग र डीजेलबाट, सवारीसाधन, उद्योगका साथै पशुपालनदेखि मलबाट समेत पिएम २.५ को उत्सर्जन हुनसक्छ । विश्व बैंकको प्रतिवेदनमा सन् २०२१ मा काठमाडौँमा पिएम २.५ को घनत्वमा सबैभन्दा बढी २७ प्रतिशत योगदान यातायात र त्यसपछि घरायसी २५ प्रतिशत, औद्योगिक १९ प्रतिशत र बालीनाली जलाउनुका साथै आगलागीको ११ प्रतिशत योगदान रहेको औँल्याएको छ ।

त्यसैगरी तराई क्षेत्रमा सबैभन्दा बढी ३१ प्रतिशत योगदान घरायसी, २३ प्रतिशत औद्योगिक, १७ प्रतिशत पशुपालन तथा मल र १६ प्रतिशत यातायातले पिएम २.५ को घनत्वमा योगदान दिएको उक्त प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनले सवारीसाधनहरूको विद्युतीकरण जारी राख्नु अत्यन्त जरुरी रहेको औँल्याएको छ भने सवारी निरीक्षण तथा मर्मत प्रणाली सुदृढ पार्दै र सडक धुलो घटाउँदै जानुपर्ने भनेको छ । यसैगरी साना तथा मध्यम उद्यमहरूमा विद्युतीय भट्टीहरूको प्रयोग बढाउनुपर्ने, खाना पकाउन विद्युतीय चुलो प्रयोग बढाउनुपर्ने, वन डढेलो रोकथाम गर्नुपर्ने सुझाव पनि दिएको छ ।

तराईको वायुप्रदूषणमा सीमापार प्रदूषणको प्रभाव उच्च

नेपालको तराई क्षेत्रमा हुने वायुप्रदूषणमा छिमेकी मुलुकको प्रभाव उच्च रहेको पनि विश्व बैंकको प्रतिवेदनले औँल्याएको छ । प्रतिवेदनका अनुसार सन् २०२१ मा काठमाडौँमा भएको प्रदूषणमा बाहिरी देशको स्रोतले १४ प्रतिशत भूमिका खेलेको थियो भने तराईमा भने ६७ प्रतिशत बाहिरी देशको भूमिका थियो । भारतसँग जोडिएको समथरभूमि तथा हिमाली फाँट क्षेत्र एउटै हावाले बाँधिएकोले प्रदूषण एक देशबाट अर्को देशमा फैलने प्रतिवेदनमा उल्लेख छ ।

त्यसरकारण तराई क्षेत्रको वायुप्रदूषणको प्रभावकारी समाधानका लागि छिमेकी देशका स्थानीय, राष्ट्रिय र प्रान्तीय तहका सरकारबीच सहकार्य आवश्यक हुने औँल्याइएको छ । छिमेकी राष्ट्रहरू मिलेर वातावरणमैत्री प्रविधि तथा व्यवहारलाई प्रोत्साहित गर्ने आर्थिक नीतिहरू लागू गर्ने र जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ ।

बढ्दो छ कृषि अवशेष जलाउने क्रम

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ जाफरपुर्वाका मोहम्मद रजाले यसवर्ष पनि करिब दुई बिघा खेतको पराल खेतमै जलाए । उनले धान काटेर खेतमै थ्रेसरको प्रयोग गरी धान घर भित्र्याएको बताए । उनले खेतमै रहेको पराल थन्काउने ठाउँ नहुनु, घरमा पशुहरू नहुनु र पराल विक्री पनि नहुने कारणले जलाइदिएकोे बताए । ‘कुनैबेला १०–१२ वटा पशुहरू घरमा हुन्थे । खेत जोत्न पनि पशु नभै हुँदैनथ्यो । अहिले त पशुहरू घरमा पालिँदैनन् । यो पराल कहाँ थन्क्याएर राख्ने । अब खेतमा अरु बाली पनि त लगाउनुप¥यो,’ केही दिनअघि खेतमै पराल जलाइरहेका बेला भेटिएका रजाले भनेका थिए ।

पछिल्लो समय पशुपालन घट्दै जानुका कारण पराल लगायतका कृषिजन्य अवशेषहरूको खपत कम हुन थालेपछि किसानहरूले ती अवशेषहरू जलाइदिने गरेको पाइएको छ । विभिन्न अध्ययन प्रतिवेदनहरूले कृषिजन्य अवशेष जलाउनुले वायुप्रदूषणलाई थप बढावा दिएको देखाएका छन् । विशेषगरी भारत र पाकिस्तानमा कृषि अवशेष धेरै जलाइने गरेको छ । किसानहरूले कम्बाइन हार्भेस्टर र थ्रेसर जस्ता मेसिनले बालीनाली काट्ने र भित्र्याउने क्रम बढेको छ ।

यस्ता मेसिनको प्रयोगले बालीको धेरै अवशेष खेतमै छोड्ने हुँदा त्यस्ता अवशेषहरू किसानहरूले जलाइदिने गरेको पाइएको छ । सन् २०२१ मा इसिमोडले लुम्बिनी प्रदेशका तीन जिल्लाहरू नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लामा गरेको एक अध्ययनले पनि मेसिनको प्रयोग गर्दा बालीको अवशेष जल्ने सम्भावना ५४ प्रतिशत बढी हुने देखाएको थियो । हरेक वर्ष बाली स्याहार्ने मौसममा हावाको गुणस्तर थप खस्किने गरेको छ ।

वातावरण विभागले पनि जाडो बढेसँगै सचेतनामूलक सूचनाहरू प्रसारण गर्नका लागि सम्बद्ध निकाय तथा स्थानीय तहहरूमा पत्राचार गरेको वातावरण विभागका वरिष्ठ वैज्ञानिक अधिकृत सुभाष खत्रीले जानकारी दिए । उनले जाडो मौसमसँगै भारततर्फबाट आउने कृषि अवशेष जलाएको धुवाँ र वन डढेलोले वायुको गुणस्तर खस्किने गरेको भन्दै सुरक्षाका उपायहरू अपनाउन आग्रह गरे ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १४ गते आइतबार