नेपालगन्ज उपमहानगरपालिकाले सुर्खेतरोड क्षेत्रमा फुटपाथ निर्माणको लागि भन्दै संरचनामा भत्काएको छ । फुटपाथ निर्माणको नाममा संरचना भत्काउँदा सबैभन्दा बढी मारमा त्यस क्षेत्रका व्यवसायीहरू परेका छन् । पटकपटक कहिले सडक विस्तार तथा फुटपाथको नाममा संरचना भत्काउँदा व्यवसायीलाई सास्तीका साथै आर्थिक नोक्सानी भइरहेको छ । अझ् भत्काइएको स्थानमा समयमै निर्माणको काम नहुँदा उनीहरूले हिउँदमा धुँलोधुँवा र वर्षातमा हिलोको सास्ती भोग्नुपर्छ । यसबारे सुर्खेतरोड क्षेत्रका व्यवसायी के भन्छन् भनेर हामीले केही व्यवसायीसँग कुराकानी गरेका छौँ ।
हाम्रोतिर भित्रपट्टि च्यापेर भत्काइयो

संगीता जोशी, व्यवसायी (नेपालगन्ज)
पसलको अगाडीपट्टि घामपानी छेक्नका लागि टिनको छानोजस्तो बनाएको थिएँ । त्यो पनि काटिदिनुभयो । हामीलाई अहिले अप्ठ्यारो भइरहेको छ । पानी आउँछ, हुरी आउँछ । घाम आउँछ भित्रपट्टि पनि बस्न सकिँदैन । कति दुःख गरेर व्यापार गर्ने ? भत्काउने बेला पनि लाइनअनुसार सबैको एकैनासले भत्काउनुपर्ने हो । हाम्रोतिर भित्रपट्टि च्यापेर भत्काइयो । अरुको त्यस्तो गरिएन ।
सडक भत्काएर त्यसै छोडिएको छ
समीर जोशी, व्यवसायी (नेपालगन्ज)
अहिले सडक भत्काएर त्यसै छोडिएको छ । काम कहिले हुने हो ठेगान छैन । यो काम गर्दा एउटा मेडिजस्तो बनाउने रहेछ । नगरपालिकाले आएर आफ्नो क्षेत्रलाई घेर्नेगरी मेडि बनाइदिएको भए हामी भत्केको ठाउँलाई सुधाथ्र्याैँ । उसको मेडि कहिले बन्छ थाहा छैन । बाँकी काम पछि गरे पनि यो काम चाँडो गरिदिएको भए हामी आफैँले घरमा चढ्न मिल्ने व्यवस्था गर्ने थियौँ ।
बेलैमा बनिदिएको भए राम्रो हुन्थ्यो
कल्पना बस्नेत, व्यवसायी (नेपालगन्ज)
भत्काएको विषयमा केही भन्नु छैन । चित्त बुझेकै छ । तोडेर दुःख पनि लागेको छैन । बरु बेलैमा बनिदिएको भए राम्रो हुन्थ्यो । हामी भाडा तिरेर व्यापार गर्ने मान्छे हौँ । भत्काइएपछि यहाँ आउने ग्राहकहरूलाई पनि अप्ठ्यारो भएको छ । हामीलाई पनि अप्ठ्यारो भएको छ ।
तोडफोड गरेर आतंकित पारेको जस्तो भयो
तेजकुमार गुभाजु, व्यवसायी (नेपालगन्ज)
यो तोडफोड त भयो । तर किन भयो ? के का लागि भयो मैले थाहा पाएको छैन । यदि चाँडै भयो भने त ठिकै हो पैदलयात्रीका लागि । हैन भने त योभन्दा अहिले भएकै फुटपाथलाई व्यवस्थित गरेको भए पनि भै हाल्थ्यो । यस्तो व्यापार नभइरहेको बेला तोडफोड गरेर आतंकित पारेको जस्तो भयो । यस्तो गर्नु वास्तवमा ठिक होइन । तर नगरपालिकाले के गर्न खोजेको हो ?
त्यसो भए यो सहरै पूरै उजाड्दिनुस्
दिनेश केशरवाल, व्यवसायी (नेपालगन्ज)
म इलेक्ट्रिक सामानको विक्रेता हो । हाम्रो लागि सामान बिक्री हुने समय यही हो । यहीबेला तोडफोड भएपछि व्यापार प्रभावित भएको छ । म यो बुझ्न सकिरहेको छैन, कति फराकिलो चाहिएको हो ? अगाडि एउटा निष्कर्ष निकाल्नुप¥र्यो । कोही कोही त्यहाँको कर्मचारीले भन्छन्, त्यो त हामी ३१ मिटरसम्म काट्छौँ । त्यसो भए त यहाँ अगाडि भएका घरहरू त सबै गइहाल्छन् । त्यसो भए यो सहरै पूरै उजाड्दिनुस् ।
एकैचोटी काटिदिएको भए सजिलो हुन्थ्यो
सरस्वती अधिकारी, व्यवसायी (नेपालगन्ज)
पसलहरूलाई दुःख भयो । पटक पटक हामीलाई दुःख दिएको हुनाले बरु एकैचोटी भत्काओस् । हामी तयार छौँ । बाटो जग्गामा सरकारले काम गर्न त पाउनुप¥यो । फुटपाथ पनि बनाउनुप¥यो । तर अलि दुःख दिएको हुनाले एकैचोटी भत्काइदिए हुन्थ्यो भन्ने मात्रै हो । जानकारी त दिनुभएको थियो । अब काटिन्छ कि काटिन्न भन्ने पहिले नै भनिदिएर एकैचोटी काटिदिएको भए सजिलो हुन्थ्यो ।
जनतालाई भने परेसानी छ
पुष्पा गुप्ता, व्यवसायी (नेपालगन्ज)
जब मकानको लालपुर्जा दियो, त्यतिबेलै भन्नुपथ्र्याे यतिमा बनाउनुस् । अब घडिघडिमा तोडेपछि तीन लाख, चार लाख रूपैयाँँ खर्च हुनेवाला छ । कहाँबाट तिर्ने ? व्यापार छैन । बारबार भन्दा एकपटक भन्नुस्, कति तोड्ने हो तोड्दिन्छु । पटक पटक यस्तो गर्दा व्यापार पनि खतम हुन्छ, खर्च पनि हुन्छ । तपाईँको काम त पूरा भयो, जनतालाई भने परेसानी छ ।
घर भत्काएर मात्रै सबै कुराको समाधान हुँदैन
भरत अर्याल, व्यवसायी (नेपालगन्ज)
उपमहानगरपालिकाले गर्न खोजेको काम स्वागतयोग्य नै छ । तर, उपमहानगरले पहिले अव्यवस्थामा रहेको सडकलाई व्यवस्थित गर्नुपर्ने हो । ठेला व्यवस्थापन र फोहोर व्यवस्थापनदेखि लिएर नेपालगन्जलाई सुन्दर सफा छ भन्ने सन्देश दिन सकेको भए राम्रो हुने थियो । एउटा पक्ष, घर भत्काएर मात्रै सबै कुराको समाधान हुँदैन ।
जो आउँछ यसैमा टार्गेट गरेको छ
जाकिर हुसेन, व्यवसायी (नेपालगन्ज)
विकास त गर्नैपर्छ । तर यो जुन सुर्खेत रोडमै पटक पटक तोडफोड मच्चाइन्छ यो चित्त बुझेको छैन । कहिले १५ को नाउँमा, कहिले १८ को नाउँमा कहिले २१ को नाउँमा । एकैचोटी काटिदिए हुन्छ कति चाहिएको हो ? मान्छे १५ को, २१, २५ को नक्सा पाएका छन् । बरु नेपालगन्जमा लिंक रोडको आवश्यकता देखिन्छ । त्यसले नयाँ विकास हुन्छ । नयाँ व्यापारिक क्षेत्र बन्छ । जो आउँछ यसैमा टार्गेट गरेको छ । यो ठिक भइरहको छैन ।
बजेट खर्च गर्नका लागि दुःख दिनु भएन
शिवकुमार कश्यप, व्यवसायी (नेपालगन्ज)
करिब एक हप्तादेखि होटल चलिरहको छैन । विकास हुने कुरा ठिकै छ । तर व्यापार नहुँदा र खर्च हुँदा हामीलाई अप्ठ्यारो प¥यो । अर्काेतिर फेरि पाँच मिटर काटिन्छ भन्ने सुनिन्छ । त्यसोभन्दा सँगै सबै एकैचोटी काटिदिए हुन्छ । यसले हामीलाई भइरहेको नोक्सान कसले हेर्छ । नगरपालिकाको बजेट खर्च गर्नका लागि जनतालाई दुःख दिनु भएन ।
चारपटक भइसक्यो यहाँ भत्काएको
श्यामबाबु गुप्ता, व्यवसायी (नेपालगन्ज)
अहिलेसम्म चारपटक भइसक्यो यहाँ भत्काएको । सरकारले त यो बाटोबाहेक अर्काे ठाउँमा रिङरोड वा अर्काे बाटो बनाएको भए राम्रो हुन्थ्यो । अर्काे ठाउँको पनि व्यापार हुन्थ्यो । तर सरकारले त अहिले यही बाटोको व्यापारलाई कसरी व्यापार गर्ने भनेर लागेको जस्तो देखियो । घर बनाउँदा सरकारले नक्सा दिएकै हो । अहिलेसम्म कर पनि तिरिहेकै छौँ । तर अहिले आएर पटक पटक भत्काउन लगाइरहेको छ ।
विकल्पहरूको योजना बनाउनुपर्छ
भाष्कर काफ्ले, व्यवसायी (नेपालगन्ज)
उपमहानगरपालिकाले प्राथमिकता दिएर गर्नुपर्ने अरु पनि थुप्रै काम हुँदाहुँदै पनि नागरिक र व्यवसायीहरूलाई प्रत्यक्ष रूपमा मर्का पर्नेगरी जसरी डोजर लगाउने काम भयो त्यो ठिक देखिन्न । हिजो आफैँले नक्सा दिएर बनाएका घरहरू अहिले त्यही निकायले भत्काउन लगाइरहेको छ । पटकपटक सुर्खेत रोडमै तोडफोड गर्नुभन्दा रिङरोग जस्ता विकल्पहरूको योजना बनाउनुपर्ने देखिन्छ । यही बाटो अन्तिम विकल्प हो भन्ने सोच्नु दीर्घकालीन विकल्प होइन ।
पटकपटक काटिँदा जनताकै खर्च हुन्छ
नवराज वर्मा, व्यवसायी (नेपालगन्ज)
सडक चौडा बनाउने भनेका हुन् । अब काट्नुपर्छ भनेपछि हामीले पनि काटेका छौँ । कारकाँदोभन्दा उता ३१ मा नक्सा दिइराखेको छ । यता हामीलाई २१ मिटरभन्दा बढी काटिँदैन भनेको हो । तर यसपटक फेरि सडक चौडा बनाउने र फुटपाथ बनाउने भनेपछि थप काट्न लगाइयो । अब फेरि काटिन्छ कि काटिँदैन थाहा छैन । यसरी पटक पटक काटिँदा जनताकै खर्च हुन्छ । नगरपालिकाले व्यहोर्दैन ।
अपांगमैत्री फुटपाथ बन्छ भने स्वागतयोग्य नै हो
दामोदर सापकोटा, व्यवसायी (नेपालगन्ज)
यो विकास निर्माणका कामहरू गर्न खोज्नु स्वागत योग्य नै छ । तर अहिले हाम्रो व्यापार हुने सिजन भएकोले सही समयमा भएन कि भन्ने हो । खर्च पनि ठूलो भएर एक दुई महिनाको लागि हामी डिस्टर्ब भइसकेका छौँ । तर पनि अपांगमैत्री फुटपाथ बन्छ भने स्वागतयोग्य नै हो । पटक पटक भत्काउने भन्दा सरकारहरूले दीर्घकालीन योजना बनाएर अघि बढ्दा राम्रो हुन्छ । फेरि अर्काे वर्ष अर्काे योजना ल्याएर आउँदा हामीलाई अप्ठ्यारो हुन्छ । वर्षामा यो काम सकिएन भने झनै अस्तव्यस्त हुन्छ ।
अन्यौलता र त्रासमै छौँ
फारुक खान, व्यवसायी (नेपालगन्ज)
यसअघि पनि पटक पटक सूचना गर्ने तर त्यसमा कुनै काम नै नगर्ने प्रचलन थियो । यसपटक पनि धेरैले त्यस्तै होला सोचेका थिए । तर एक्कासि आएर तोडफोड गरियो । त्योभन्दा पहिले माइकिङ गरेर संरचनाहरू हटाउन दिएको भए राम्रो हुन्थ्यो । विकास हामी जनताकै लागि हो हामीलाई नै दुःख दिएर गर्नुभन्दा क्षति कम हुनेगरी गरेको भए राम्रो हुन्थ्यो । अर्काेतिर कति भत्काउनुपर्ने हो भन्ने यकिन पनि नहुँदा हामीहरू फेरि अर्काेपटक कति भत्काउनुपर्ने हो भन्ने अन्यौलता र त्रासमै छौँ ।









प्रतिक्रिया दिनुहोस्