शिवु खनाल । दाङ ।
सर्पको टोकाइ जस्तो संवेदनशील घटनामा समयमै उपचार नपाउँदा कतिपयको ज्यान जाने गरेको छ भने कतिपयको अंगभंग समेत हुने गरेको छ । सर्पले टोकेमा तत्काल उपचार गराउनु पर्छ । विशेष गरेर ग्रामीण भेगका नागरिकहरुलाई सर्पदंशको उपचार पाउन मुस्किल पर्ने गरेको छ।
केही हदसम्म सावधानी अपनाउन सके सर्पको टोकाइबाट जोगिन सकिने सर्प उघार तथा अनुसन्धानकर्ता वसन्त सुवेदीले बताँछन् । सर्पको टोकाइको सिकार बढी किसाननै हुने गरेका छन् । त्यसपछि बालबालिका र वृद्धवृद्धा पनि सर्पको टोकाइमा पर्दै आएका छन् । सर्पदंशको उपचारका लागि राज्यले पनि लगानी गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।
केन्द्र, प्रदेश तथा स्थानीय सरकारले टोल बस्तीमा सर्पसम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको सर्प उद्धार तथा अनुसन्धानकर्ता सुवेदीले बताए । आइतबार लमही नगरपालिका वडा नं. ५ का विभिन्न टोलका स्थानीयहरुलाई सर्पदंशसम्बन्धी सचेतना गराइएको छ । स्थानीयस्तरमा सचेतना जगाउन सकियो भने र सर्प पक्रनका लागि तालिमप्राप्त व्यक्ति उत्पादन भएमा धेरै सहजता हुने सुवेदीको भनाइ छ ।
‘विषालु सर्पले डसेपछि उपयुक्त एन्टिभेनमसँगै तुरुन्त चिकित्सा सेवा लिनु आवश्यक हुन्छ,’ उनले भने, ‘असारदेखि असोज महिनासम्म सर्पको टोकाइ सबैभन्दा बढी हुन्छ । सबैभन्दा बढी गोमन र करेत सर्पको टोकाइबाट मुत्यु हुने गरेको छ । करेतले धेरैजसो राति सुतेका बेला थाहै नहुने गरी डस्ने गर्छ ।’
‘गोमनले सामान्यतः दिउँसो कामको समय वा साँझ बिहान डस्ने गर्छ । गाउँघरमा हतारमा सर्पले टोकेको ठाउँमा चिरेर रगत बगाउने, डोरीले बाँध्ने चलन अझै पनि छ । तर यो उपयुक्त विधि होइन,’ सुवेदीले भने, ‘यस्तो अवस्थामा टोकिएको घाउलाई सुरक्षित गर्दै जतिसक्दो अस्पताल जानु उपयुक्त हुन्छ ।’ सर्पले टोकेपछि कतिपय गाउँघरका मानिस अझै पनि धामीझाँक्रीको खोजीमा समय बिताउने गर्दा उपचारमा विलम्ब हुँदा मानिसको अकालमा मृत्यु समेत हुने गरेको उनी बताउँछन् ।
पछिल्लो समयमा स्थानीय सरकारको पहलमा ठाउँ ठाउँमा सर्पदंश उपचार केन्द्रको स्थापना गरेर उपचार भइरहँदा पनि अझै पनि गाउँगाउँमा सर्पदंशका कारण अनाहकमा ज्यान जाने क्रम बढ्दो छ । गर्मीसँगै मौसममा आएको परिवर्तनले लमही र गढवामा रहेका सर्पदंश उपचार केन्द्रमा सर्प डसाइका बिरामीहरु उपचारका लागि आउने क्रम बढ्ेको छ । गाउँबस्तीमा काम गरेर बस्ने मानिसहरुमा बढी सर्पको जोखिम हुने गरेको छ ।
खेतबारीमा काम गर्नुपर्ने अवस्थामा लुकेर बसेका सर्पहरुले डस्ने र समयमा उपचार नपाउँदा ज्यान जानेसम्मका घटनाहरु भइरहेका छन् । सर्पको टोकाइबाट बच्न घर वरिपरि नियमित सरसफाइ गर्ने, सर्पलाई नचलाउने, हिँड्दा ध्यान दिने, घाँस काट्न जाँदा, जंगल, झाडीमा जाँदा सर्प भए नभएको जाँच गर्ने, घाँस काट्दा, खेतबारीमा काम गर्दा बुट र पञ्जा लगाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ । अँध्यारोमा बत्ती बालेर हिँड्न चिकित्सकले सुझाव दिने गर्दछन् । सर्पले टोकेका बिरामीलाई लक्षित गर्दै सरकारले ‘एन्टी स्नेक भेनस सेरम’ मलम सर्पदंश केन्द्रबाट निःशुल्क वितरण गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्