झापादेखि कञ्चनपुरसम्मका भारतसँग सीमा जोडिएका उद्योग वाणिज्य संघका पदाधिकारीहरूले बजारमा उपभोग्य वस्तुहरूको खरिदमा बढोत्तरी हुन थालेको र व्यवसायीहरूमा उत्साह थपिएको बताए । मिसन टुडेसँगको कुराकानीमा उनीहरूले सरकारले भन्सार कडाइको नीतिलाई निरन्तरता दिएमा त्यसले नेपाली उद्योगी र उत्पादकहरूमा भरोसा जागृत हुने दाबी गरे ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
भारतसँग सीमा जोडिएका सीमावर्ती नेपाली बजारमा सकारात्मक प्रभावका संकेतहरू देखिन थालेका व्यवसायीहरूले दाबी गरेका छन् । झापादेखि कञ्चनपुरसम्मका भारतसँग सीमा जोडिएका उद्योग वाणिज्य संघका पदाधिकारीहरूले बजारमा उपभोग्य वस्तुहरूको खरिदमा बढोत्तरी हुन थालेको र व्यवसायीहरूमा उत्साह थपिएको बताए ।
मिसन टुडेसँगको कुराकानीमा उनीहरूले सरकारले भन्सार कडाइको नीतिलाई निरन्तरता दिएमा त्यसले नेपाली उद्योगी र उत्पादकहरूमा भरोसा जागृत हुने दाबी गरे । झापाको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले लामो समयदेखि व्यवसायीहरूले उठाउँदै आएको सीमापारिका बजारमा गएर किनमेल गरिएका सामानमा भन्सार असुल्नु पर्ने माग पूरा भएपछि त्यसले व्यवसायीलाई उत्साहित बनाएको बताए ।
‘एकातिर उपभोक्ताहरू पलायन हुने र अर्कोतिर क्यारिङ गरी ल्याएको सामान बजारमा खपत हुँदा कर तिर्ने इमानदार व्यवसायीहरू समस्यामा रहेका थिए । अहिले व्यवसायीहरू खुसी नै छन्,’ न्यौपानेले भने । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशकुमार भण्डारीले पनि भन्सारमा कडाइले व्यवसायीहरू उत्साहित रहेको बताए ।
अहिले उपभोक्ताहरू सीमापारि जाने क्रम कम भए पनि ठप्प नै नभएको उनले बताए । उनले मुख्य नाकाबाटभन्दा पनि अन्य नाकाबाट तस्करी बढी हुने गरेकोमा त्यसलाई रोक्नुपर्ने बताए । उनले उपभोग्य वस्तुहरूको भन्सारमा समायोजन गरी भारतमा र नेपालमा मूल्यमा पर्ने फरक घटाउनुपर्ने बताए । ‘त्यसपछि किन जान्छन् मानिसहरू भारत । नेपालमै सबै सस्तोमा उपलब्ध हुने भएपछि यही किनमेल गर्छन्,’ उनले भने ।
वीरगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष माधव राजपालले किराना तथा दैनिक उपभोग्य सामानहरूको खरिदमा सकारात्मक प्रभावहरू देखिएको बताए । ‘यहाँका मार्टहरू, किराना पसल र कपडा पसलहरूमा पनि उपभोक्ताहरू बढेको भन्ने आइरहेको छ । तर अहिले यहाँको बजारमा डोजर चलाएर बजार नै अस्तव्यस्त रहेकोले सोचेजस्तो व्यापार भने छैन,’ राजपालले भने । उनले सरकारले भन्सार कडाइसँगै बढी खपत हुने वस्तुमा भन्सार दर घटाउनुपर्ने पनि बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले भन्सार कडाइले सबै व्यवसायीहरू खुसी रहेका बताए । दैनिक उपभोग्य वस्तुहरूको व्यापारमा सुधार देखिन लागेको र कडाइलाई निरन्तरता दिन सकेमा उत्पादनमा आधारित उद्योगहरूलाई सकारात्मक प्रभाव पार्ने बताए ।
उनले भने, ‘यसले यहाँका उत्पादनमा आधारित उद्योगहरूलाई अब आत्मविश्वास आउँछ । बजारमा खपत हुने सुनिश्चिता भएपछि र भारतबाट आउने भन्सार नतिरेका उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्दाको झन्झट नहुने भएपछि यसले समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पार्छ ।’ उनले पनि अब सरकारले भन्सार दर समायोजन गरी उपभोक्ताहरूलाई सहुलियतमा उपभोग्य वस्तु उपलब्ध हुने व्यवस्था बनाउन सुझाव दिए ।
यता नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले नेपालगन्ज बजारमा उपभोक्ताहरूको सङ्ख्या बढेको बताए । उनले टेलिफोनमा कुरा गर्दै भने, ‘अहिले म नेपालगन्जको एकलैनीमा छु । यहाँका व्यापारीहरू ग्राहकहरू बढेको भन्दै खुसी छन् । उपभोक्ताहरूले पनि तुलनात्मक रूपमा सस्तोमा सामान पाइन थालेको बताइरहेका छन् ।’ धामीले आफूले विभिन्न वस्तुगत संघहरूसँग छलफल गरी कसरी सहुलियत दिन सकिन्छ योजना बनाउन आग्रह गरेको बताए ।
बर्दियाको गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डेले बजारमा पछिल्ला दिनमा चहलपहल थपिएको बताए । विशेषगरी किराना तथा दैनिक उपभोग्य वस्तुहरूमा सकारात्मक प्रभाव देखिएको उनको भनाइ छ । केही दिनको कडाइले मात्रै सुधार नआउने बताउँदै उनले कडाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कैलालीको वाणिज्य उपाध्यक्ष भिमराज ओझाले तुरुन्तै सकारात्मक प्रभावको अपेक्षा गर्न नहुने बताउँदै विस्तारै उपभोक्ताहरूले सीमापारि र वारिको मूल्यमा धेरै फरक छैन भन्ने बुझ्न समय लाग्ने बताए । उनले आफूले पनि नाकाको अनुगमन गरेको बताउँदै अहिले उपभोग्य सामान खदि गर्न जानेहरूको सङ्ख्या निकै कम रहेको र त्यसले अब केही दिनमा बजारमा सकारात्मक प्रभाव पर्ने संकेत देखिएको बताए । उनले पनि उपभोग्य वस्तुमा लाग्ने भन्सार शुल्कलाई घटाउनु जरुरी रहेको बताए ।
कञ्चनपुर उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तेजबहादुर चन्दले अहिले नै आशा गरिएजस्तो प्रभाव नपरेको बताए । त्यसका लागि केही समय कुर्नुपर्ने उनको बुझाइ उनले पनि भन्सार दरमा समायोजन र नेपाली उत्पादनमा सहुलियत दिएमा दीर्घकालमा सकारात्मक प्रभाव देखिने बताए ।
सीमावर्ती भन्सार कार्यालयहरूले भने अहिले नै प्रभाव विश्लेषण गर्नु हतार हुने बताएका छन् । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले अहिले भन्सार कडाइलाई निरन्तरता दिइएको र त्यसले राजस्व असुलीमा सकारात्मक प्रभाव नै पारेको स्पष्ट भन्न नसकिने बताए । भैरहवा भन्सारका सूचना अधिकारी उद्धव ढुंगानाले अहिले नै भन्सार असुलीमा परेको प्रभाव विश्लेषण गर्नु हतार हुने बताए ।
नेपालगन्ज भन्सारका प्रमुख जनार्दन आचार्यले पनि केही सकारात्मक प्रभाव पर्ने संकेत देखिए पनि एक महिनाको तथ्यांक विश्लेषणपश्चात् मात्र स्पष्ट हुने बताए । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख अम्बिकादेवी सुवेदीले पनि एक महिनाको असुली विश्लेषणपश्चात् मात्रै भन्सार असुलीमा भएको प्रभाव थाहा हुने बताइन् ।









प्रतिक्रिया दिनुहोस्