वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँके नेपालगन्जको पुष्पलाल चोकनजिकै रहेको वार्टरपार्क सुशील नगरको प्रवेशद्वार नजिकै सडकमै लस्करै लाइन लागेका गाडीहरूले नेपालगन्ज उपमहानगरपालिकाले अव्यवस्थित बसपार्क हटाएको भनेर गरेको प्रचारलाई गिज्याइरहेको छ । पहिले वाटरपार्कको क्षेत्रभित्र पार्किङ गर्ने र पालो लिने गरेका छोटो दूरीका साना गाडीहरू अहिले सडकमै लाइन लागेर त्यही काम गरिरहेका छन् ।
आधार सडक ढाकेर लाइनमा गाडीहरू राख्ने र गाडीका कर्मचारीहरू सडकमै बसेर रिक्सामा आवातजावत गर्ने मानिसहरूलाई आफ्नो गाडीमा चढाउनका लागि तानातान गर्ने क्रम अहिले पनि उस्तै छ । यही ठाउँबाट केही दिनअघि प्रहरीले यात्रुहरूलाई तानतान गरेको भन्दै गाडीका केही कर्मचारीहरूलाई नियन्त्रणमा लिई सम्झाइबुझाई गरी छोडेको थियो ।
नेपालगन्ज बसपार्कलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याइएको आठ वर्ष पुगिसकेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चल्ने सवारीसाधनहरूको केन्द्र यो बसपार्क अझै प्रायः सुनसान हुन्छ । तर वाटरपार्ककको गेट र धम्बोझी नजिकै गुलरिया सडकमा अवैध रूपमा साना साना बसपार्कहरू सञ्चालित छन् ।
गुरलिया रोडमा हुलाकी सडक हुँदै बर्दिया तथा कैलाली जानेआउने साना ठूला सबै यात्रुवाहक गाडीहरू त्यहाँका स्थानीयले उपलब्ध गराएको जग्गामा पार्क गर्ने र यात्रुहरू चढाउने र झार्ने काम सडकमै गर्ने गर्दछन् । यता वाटरपार्कमा पूर्वपश्चिम राजमार्ग हुँदै सुदूरपश्चिम जाने साना गाडीहरू पार्क गर्ने र सडकमै यात्रु चढाउने र झार्ने गरिएको छ ।
यी अवैध रूपमा सञ्चालित र सडकलाई अस्तव्यस्त बनाएर सञ्चालन भइरहेका बसपार्कहरू हटाएको दाबी उपमहानगरले गरेको थियो । सोमबार नगर प्रहरी खटाएर त्यहाँ पार्किङ भइरहेका सवारीसाधनलाई हटाएको थियो । तर अर्काे दिनबाट फेरि उस्तै अवस्था दोहोरिएको छ ।
वाटरपार्कमा पार्क गरिने गाडीहरू अहिले सडकमै रोकेर यात्रु चढाउने र झार्ने काम भइरहेको छ ।
एक गाडीका कर्मचारीले यात्रुहरू बसपार्कसम्म नजाने र पुष्पलाल चोकमै आएर गाडी चढ्न खोज्ने भएका कारण आफूहरू त्यहाँ रोकिनु बाध्यता भएको बताए । बसपार्क हुँदै पुष्पलाल चोकसम्मको सडकमा यात्रुवाहक सवारीसाधनलगायत अन्य सवारीसाधनहरू रोकेर राखिँदा यात्रा असहज हुने गरेको छ । यात्रुवाहक सवारीसाधनहरू बसपार्कबाट मात्रै छुट्ने र बाइपास हुँदै सिधै कारकाँदो चोक निस्कने व्यवस्था नमिलाउँदा यात्रुहरू बसपार्क नपुगी पुष्पलाल चोकमै कुर्ने गरेका छन् ।
यात्रुहरूलाई बसपार्कबाटै यात्रा सुरु गर्नुपर्छ भन्ने व्यवस्था नमिलाउँदा बसपार्क हुनु र नहुनुको कुनै अर्थ नभएजस्तै छ । सवारीसाधन सञ्चालकहरूले बसपार्क व्यवस्थापनको ठेक्का पाउने पक्ष आफ्नो स्वार्थसँग नमिलेपछि उसलाई अहसयोग गर्न बसपार्क बाहिर नै यात्रु चढाउने र झार्ने गरेको पनि देखिन्छ । यात्रुहरू नपुग्ने र बसपार्क सुनसान हुने गरेका कारण अहिले पनि बसपार्कभित्र निर्माण गरिएका व्यावसायिक सटरहरू भाडामा जान सकेका छैनन् ।
उपमहानगरका अनुसार बसपार्कका सडकमा सवारीसाधन रोकेर यात्रु चढाउने र अवैध बसपार्क बनाउने काम रोक्ने प्रमुख जिम्मेवारी रहेको ट्राफिक प्रहरी जनशक्ति अभाव र उपमहानगरको असहयोग रहेको तर्क गर्दै पन्छिने गरेको छ । पुष्पलाल चोकमा खटिएका एक ट्राफिक प्रहरीले भने, ‘दुई जना प्रहरी यहाँ खटिन्छौँ । बसपार्कदेखि कारकाँदोसम्म हेर्न दुई जनाले सम्भव नै छैन ।’
नेपालगन्ज नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटी नगर प्रहरीले मात्रै अहिले अव्यवस्था सुधार्न नसक्ने बताए । उनले ट्राफिक प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीले संयुक्त रूपमा व्यवस्थापन लागेपछि मात्रै सुधार हुने बताए । ‘नगर प्रहरीले के के व्यवस्थापन गर्ने ? ठेलादेखि बजार अनुगमनमा हामी नै खटिनुपर्छ ।यसमा ट्राफिक प्रहरीले कारबाहीको काम नगरेसम्म सुधार हुने देखिन्न । यो निर्णय प्रमुख जिल्ला अधिकारी, एसपी साब, नगरप्रमुख साबहरूको तहबाट भएको हो । उहाँहरूले नै आएर आह्वान नगरेसम्म सुधार हुने देखिन्न,’ बोगटीले भने ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका निमित्त इन्चार्ज वरिष्ठ सई ओम खड्काले पनि ट्राफिक प्रहरीले मात्रै उक्त व्यवस्थापन गर्न नसक्ने बताए । उनले भने, ‘बसपार्कको अफिस हेर्नेदेखि लिएर कारकाँदोसम्म हेर्नका लागि तीन जना कर्मचारी मात्रै छन् । पछिल्लो महिनामा मात्रै बाँकेमा खटिएको प्रदेश बाहिरको ट्राफिक प्रहरीको जनशक्ति ठूलो सङ्ख्यामा सरुवा भएको छ । ८५ जनाबाट ५६ जनामा सीमित भएका छौँ। यतिको जनशक्तिले यो सबै व्यवस्थापन गर्न सकिने स्थिति देखिन्न ।’
उपमहानगरले नै संरक्षण गर्दै आएको थियो अवैध बसपार्क
नेपालगन्जको सडकलाई अव्यवस्थित हुने गरी सञ्चालनमा रहेका यी बसपार्कहरू उपमहानगरका जनप्रतिनिधिकै संरक्षणमा सञ्चालित छन् । ती बसपार्कहरू लुकीछिपी नभै जनप्रतिनिधिहरूको सहमतिमै सञ्चालन भइरहेका स्वयं यातायात व्यवसायीहरू बताउने गर्दछन् ।नेपालगन्जका नगरप्रमुखसमेतको अनुमतिमा वाटरपार्क गेटमा बसपार्क सञ्चालनमा रहेको थियो ।
नगरप्रमुखले त लिखित रूपमैै बसपार्क सञ्चालनका लागि स्वीकृति दिएपछि विवाद भएको थियो । नगरप्रमुख विष्टले मिसन टुडेसँग यसबारेमा भने, ‘त्यतिखेर अस्थायी रूपमा बिसौनो चाहियो भनेपछि उपयुक्त विकल्पको खोजी नगरुन्जेलसम्मका लागि भनेर अस्थायी अनुमति दिएका थियौँ ।’
तर विवादपछि उक्त ठाउँ खाली गरिएको थियो भने त्यहाँ रोकिने सवारीसाधनहरू काँरकाँदोस्थित सडक डिभिजन कार्यालयअघि रोकेर यात्रु चढाउने र झार्ने गरिन थालिएको थियो । पछि सडक डिभिजनले पनि उक्त स्थानमा सवारी रोक्न नदिएपछि कारकाँदो चोकमा अवैध बिसौनी बनाइयो । त्यहाँ पनि जग्गाधनी र यातायात व्यवसायीको कुरा नमिलेपछि पुनः वाटरपार्क गेटमै बस बिसौनी बनाइयो ।
तर उपमहानगरले त्यसलाई हटाउन कुनै प्रयास गरेन । जिल्ला यातायात व्यवस्थापन समितिले मुख्य चोकहरूबाट पाँच सय मिटर दूरीमा सवारीसाधन रोक्न नपाइने भनेर गरेको निर्णयको पनि धज्जी उडाउँदै पर्यटकीय स्थल वाटरपार्क जाने बाटोकै मुखमा सवारीसाधनहरू रोकिँदै आएका थिए । यसलाई रोक्नुपर्ने माग पटक पटक उठे पनि उपमहानगरले त्यसलाई बेवास्ता गर्दै आएको थियो ।
आँखैअघि र दैनिक रूपमा यात्रामा असहजता उत्पन्न गराइरहेको यो समस्यालाई उपमहानगरले जहिल्यै बेवास्ता गर्दै आएको थियो । बसपार्क सुनसान भएर ३५ वटा सटरमध्ये आधाभन्दा बढी सटरहरू भाडामा जान नसकेको स्थितिमा पनि उपमहानगरपालिकाले अवैध बसपार्कहरू रोक्न ठोस कदम चालेको थिएन । तर, सरकार परिवर्तन भएर बालेन नेतृत्वको नयाँ सरकार आएसँगै उपमहानगर अव्यवस्था सुधार्र्न लागेको हो । उपमहानगरका नगरप्रमुख विष्टले पनि अब बाँकी समय बालेनले काठमाडौँको नगरप्रमुखलेजस्तै काम गरेर देखाउने बताउन थालेका छन् ।
उनले मिसन टुडेसँग भने, ‘अब यसको व्यवस्थापनमा हामी निरन्तर लाग्छौँ । अवैध बसपार्क हामीले हटाइसकेका छौँ । सडकमा पनि रोक्न नदिन प्रहरीलाई अनुरोध गरिसकेका छौँ ।’ उनले गुलरियातर्फ जाने सवारीसधानहरू जिल्ला प्रहरी कार्यालयभन्दायता रोक्न नपाइने नियम लगाइएको र बस बिसौनी आवश्यक भए जिल्ला प्रहरी कार्यालयभन्दा पश्चिममा मात्रै उपयुक्त जग्गा खोजेर यातायात व्यवसायीले सहमति गरेर आएमा उपमहानगरले अनुमति दिने उनले बताए ।
अर्काेतिर प्रहरीले पनि यस्ता बसपार्कहरूले उत्पन्न समस्यालाई नजरअन्दाज गर्दै आएको थियो । धम्बोझीमा अवैध बसपार्कले यातायात र सडक सुरक्षामा गम्भीर समस्या निम्त्याइरहेको सम्बन्धमा मिसन टुडे दैनिकले नै पटक पटक समाचार प्रकाशित गरेको थियो । ट्राफिक प्रहरी कर्मचारीहरूले नै अनुचित आर्थिक लेनदेनमा अवैध बसपार्क सञ्चालनमा अवरोध नगर्ने गरेको स्वयं यातायात व्यवसायीहरूले नै बताउने गरेका थिए ।
ट्राफिक प्रहरीको गतिविधि हेर्दा पनि अरु ठाउँमा सडकमा पार्किङ निषेध गरिएका ठाउँमा रोकिएका गाडीहरूलाई कहिलेकाहीँ कारबाही गरेकोजस्तो देखाए पनि उक्त क्षेत्रमा अवैध बसपार्क रहेका स्थानमा सडकमै घण्टौँ रोकेर बस्ने सवारीसाधनलाई कारबाही गर्ने गरेको थिएन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी उपमहानगरले नगर विकासको जग्गामा अनधिकृत रूपले सञ्चालन भइरहेको बसपार्क नहटाइरहेको अवस्थामा आफूहरूले केही गर्न नसक्ने स्थिति रहेको बताए ।
अहिले उपमहानगरले नै उक्त स्थान खाली गराएपछि अब बसपार्कबाट छुटेका गाडीहरू तोकिएको बस बिसौनीमा यात्रु चढाउन र झार्नबाहेक अरु उद्देश्यका लागि गाडीहरू सकडमा रोक्न नदिन निर्देशन दिइसकेको उनले बताए । उनले भने, ‘सडकमा कुनै बाहनामा गाडी रोक्न पाइँदैन । बिसौनीमा केही समयका लागि रोक्नेबाहेक अरु गर्न दिइँदैन ।’
नेपालगन्ज बसपार्क २०७६ सालमा उपमहानगरपालिको १६ करोड १६ लाख बढीको लगानीमा निर्माण गरेको थियो । मानिसहरूको चहलपहल बढी हुनुपर्ने बसपार्क प्रायः सुनसान हुन्छ । केही वर्षअघि जिल्ला प्रशासन कार्यालयले मुख्य चोकहरूबाट कम्तीमा आधा किलोमिटर वरपर सवारीसाधन रोकेर यात्रु झार्ने चढाउने गर्न नमिल्ने निर्णय गरेको थियो ।
उक्त निर्णयको पनि यातायात व्यवसायी, उपमहानगर र उपमहानगरपालिकाले धज्जी उडाइरहेका छन् । नेपालगन्जबाट दैनिक तीन सयभन्दा बढी यात्रुबाहक सवारीसाधन छुट्ने गरेकोमा बसपार्कभित्र त्यसको आधा सङ्ख्यामा मात्रै सवारीसाधनहरू पस्ने गरेका बसपार्कको व्यवस्थापन हेरिरहेका व्यवसायी मनप्रसाद आचार्य बताउँछन् ।
बाँकी सवारीसाधनले सडकबाटै र अवैध बसपार्कहरूबाटै यात्रुहरू चढाउने र झार्ने गरेका उनको भनाइ छ । नेपालगन्ज बसपार्कको एक करोड ४३ लाख र कोहलपुर बसपार्क ७१ लाख ७७ हजार रूपैयाँँ वार्षिक नगरपालिकालाई बुझाउनुपर्ने सम्झौता गरिएको छ ।
यातायात व्यवसायी भन्छन्, ‘साझा बस बिसौनी तोकिदिनुपर्छ’
नेपालगन्जको धम्बोझी चोकदेखि पश्चिम गुलरियातर्फ जाने बाटोमा नौ वटा यातायात प्रालिका छुट्टाछुुट्टै बस बिसौनी थिए । अहिले पनि गुलरियातर्फ जाने सवारीसाधनहरू मुख्य बसपार्क आउँदैनन् । तीनै निजी बस बिसौनीहरूमा पार्क गरिन्छन् । सवारीसाधन छुट्ने कुनै पालो छैन । यात्रुहरू चढाउनका लागि प्रालिहरूका कर्मचारीहरूबीच अस्वस्थ प्रतिष्पर्धा चल्छ ।
इरिक्सामा आउने यात्रुहरूलाई बाटैबाट फकाएर आफ्नो गाडीमा चढाउन मुख्य सडक सुर्खेत रोडको एक किलोमिटर परसम्म गएर प्रालिका कर्मचारीहरू बाटो छेकेर बसेका हुन्छन् । चल्दाचल्दैको इरिक्सामा झुण्डिएर उनीहरू यात्रुहरूलाई फकाउने प्रयत्न गर्छन् । जसले दुर्घटनाको जोखिम उच्च छ भने ती कर्मचारीहरू पनि जोखिम मोल्न बाध्य छन् ।
यस समस्याको समाधानका लागि गुलरिया रोडमै पायक पर्ने स्थानमा बस बिसौनी तोक्नुपर्ने यातायात व्यवसायीहरू बताउँछन् । सनराइज यातायात प्रालिका अध्यक्ष गोपाल रन्जितले गुलरिया जाने यात्रुहरूलाई मुख्य बसपार्कमै जानुपर्छ भन्नु अन्याय हुने बताए । मुख्य बसपार्कबाटै छुट्ने व्यवस्था गरेर गुलरिया सडकमै उपयुक्त स्थानमा बस बिसौनी तोक्नुपर्ने उनले बताए । यस विषयमा नगरप्रमुख विष्टसँग छलफल गर्ने सल्लाह भएको पनि उनले बताए ।
यता वाटरपार्क गेटमा बसपार्क सञ्चालन र व्यवस्थापन गर्नेमध्ये एक व्यवसायी मनोज विक पनि बसपार्क नगई सुर्खेत रोडबाटै चढ्न खोज्ने यात्रुका लागि सुर्खेत रोडमै उपयुक्त स्थानमा बिसौनी तोक्नुपर्ने बताउँछन् । उनले भने, ‘हामीले पनि रहरले यहाँ भाडा तिरेर बिसौनी राखेका थिएनौँ । यात्रुहरू बसपार्क जाँदै नजाने अनि यहाँबाट जसले सक्यो उसले मात्रै यात्रुहरू लैजाने, नसक्नेहरू खाली गाडी रहनु पर्ने स्थिति आएपछि पालो मिलाएर गाडी छुट्ने गरी हामी व्यवसायीहरूले नै सल्लाह गरेर यहाँ केहीबेरका लागि मात्रै रोक्ने व्यवस्था मिलाएका थियौँ ।’
नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कको व्यवस्थापनको जिम्मा पाएको बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्य भने अवैध बसपार्क बनाउनुका पछाडि अनधिकृत रूपमा अतिरिक्त शुल्क असुल्ने स्वार्थले काम गरेको बताउँछन् । उनले सबै यात्रुहरू बसपार्कबाटै चढ्दा सुरक्षित हुने, ठगिने सम्भावना कम हुने, टिकटको व्यवस्था हुने र यातायात सेवा पनि व्यवस्थित हुने बताए ।
यसैगरी राज्यले करोडौँ लगानी गरेर बनाएको व्यवस्थित बसपार्कको पनि सदुपयोग हुने उनको भनाइ छ । ‘हामी सबैका लागि र राज्यका लागि पनि बसपार्कबाटै सवारीसाधन छुट्ने व्यवस्था हुनु जरुरी छ । केही दिन असहज भए पनि व्यवस्थित सहरका लागि अहिलेको जस्तो भद्रगोल होइन कि व्यवस्थित नियम पालना गराउनुपर्ने खाँचो छ ।,’ उपमहानगरले पनि सबै सवारीसाधन बसपार्कबाट छुट्ने र बस बिसौनीबाट यात्रुहरू चढाउने र झार्नेबाहेक अरु स्थानमा बसपार्ककै जस्तो शैली अपनाएर गाडीहरू रोक्न बन्देज गरिने दाबी गरेको छ ।









प्रतिक्रिया दिनुहोस्