कोहलपुर (बाँके) ।
मंसिर १७ गतेदेखि तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ । प्याब्सन कोहलपुरको आयोजनामा यही मंसिर १७ गतेदेखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्याब्सन कोहलपुरले तेस्रो संस्करणको रनिङ शिल्ड प्रतियोगिता कोहलपुर–११ स्थित खुला मैदानमा आयोजना हुनेछ । प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले हरेक वर्षझै यसपटकको प्याब्सन आयोजना गर्न लागिएको बताए ।
उनकाअनुसार प्रतियोगितामा आधारभूत र माध्यमिक तहबीच प्रतिष्पर्धा हुनेछ । माध्यमिक तह ‐९–१२) को एथ्लेटिक्स र छात्रछात्रा भलिबल प्रतियोगिता हुने अध्यक्ष केसीले जानकारी दिए । एथ्लेटिक्सतर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर छात्र÷छात्रा दौड प्रतियोगिता हुनेछ । आधारभूत तह ‐१–८) का १५ वर्ष पूरा नभएका छात्र÷छात्राबीच एथ्लेटिक्स र फुटसल प्रतियोगिता सञ्चालन गरिनेछ । एथ्लेटिक्सतर्फ १ सय, २ सय, ४ सय, ८ सय मिटर छात्र÷छात्रा दौड प्रतियोगिता उनले बताए ।
यसैगरी, आधारभूत तह ‐नर्सरी–३) का १० वर्ष पूरा नभएका छात्र÷छात्राबीच १ सय मिटर दौड, एथ्लेटिक्सतर्फ स्पोन मार्बल रेस र म्युजिकल चियर रेस हुने अध्यक्ष केसीले जानकारी दिए । तेस्रो संस्करणमा नयाँ खेलका रूपमा भलिबल र फुटसल विधा थप गरिएको छ । माध्यमिक तहको प्रतियोगितामा एथ्लेटिक्सतर्फ ५३२ र भलिबलमा ३४२ जना गरी जम्मा ८७४ जनाले सहभागिता जनाउनेछन् । यस्तै आधारभूत तह ‐१–८) मा एथ्लेटिक्सतर्फ ४४८ जना, फुटसलमा ३९० जना, आधारभूत तह ‐नर्सरी–३) तर्फ १२० जनागरी कूल ९६० जनाले सहभागिता जनाउनेछन्।
प्रतियोगितामा कूल १ हजार ८ सय ३८ जनाको सहभागिता हुने आयोजक प्याब्सन कोहलपुर नगर समितिले जनाएको छ । कोहलपुरमा प्याब्सन कोहलपुरमा २८ वटा विद्यालय आवद्ध रहेका छन् । तीमध्ये १९ वटा माध्यमिक विद्यालय र ९ जना आधारभूत विद्यालय रहेका छन् ।
‘नयाँ प्रतिभालाई बाहिर ल्याउने हाम्रो उद्देश्य हो ।
विद्यार्थीलाई कोरा किताबमा मात्रै सीमित गराउनु हुँदैन । त्यसैले हरेक वर्ष अतिरिक्त क्रियाकलापका रूपमा प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ,’ अध्यक्ष केसीले पत्रकार सम्मेलनमा भने । पत्रकार सम्मेलमा प्रतियोगिताका फिल्ड मार्सल दिनेश सिग्देल, प्याब्सन कोहलपुरका उपाध्यक्ष समीर घर्ती, प्रतियोगिताका सचिवालय सदस्य हेमकुमार रावत लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्