शेरबहादुर ऐर । कैलाली ।
नेपाली कम्युनिस्ट पार्टीले प्रदेश तहमा आफ्नो पार्टीको एकता घोषणा सभा सुदूरपश्चिम प्रदेशबाट सुरु गरेको छ । सातवटै प्रदेशमा सन्देश सभा गर्ने सो पार्टीले बताएको छ । जस अनुसार, शुक्रबार पहिलोपटक धनगढीमा सन्देश सभा आयोजना भएको हो । एकता सभाअघि पार्टीले धनगढी चौराहा र क्याम्पस चोकबाट जुलुस निकालेको थियो । जुलुस धनगढी रंगशाला पछाडिको खुला भागमा पुगेपछि आमसभामा परिणत भएको थियो ।
शुक्रबार सुदूरपश्चिममा आयोजित एकता सन्देश सभाको नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सह–संयोजक माधवकुमार नेपालको सहभागितामा घोषणा सभा गरिएको थियो । सो अवसरमा बोल्दै संयोजक प्रचण्डले आर्थिक व्यवस्थापन गर्न नसक्दा यो पटक मान्छेको उपस्थिति हुनेमा आफूहरूलाई शंका लागेको बताएका थिए । यसअघि सभामा ठूलै रकम खर्च गर्नुपर्ने भएपनि यो पटक केन्द्रबाट पैसा पठाउन नसकिएको प्रचण्डको भनाइ रहेको थियो ।
‘आज हामीलाई कता–कता मनमा त्यति राम्रो उपस्थिति हुँदैन की, किनकी विगतमा हामीले यत्तिको सभा गर्नका अली ठूलै रकम खर्च गर्नुपरेको थियो । तर, यो पटक हामीले केन्द्रबाट कुनै रकम खर्च गर्न सकेनौँ । बिना आर्थिक व्यवस्थापन जनताको उपस्थिति अलि न्यून हुने हो कि भन्ने चिन्ता थियो । अर्कोतिर सुरक्षा व्यवस्था एक दुई दिन अघि मात्रै पनि धनगढीमा कतिपय पार्टीका कार्यक्रममा व्यवधान आएका कुरा हामीले सोसल मिडियाबाट हेरिरहेका थियौँ । सुरक्षा व्यवस्था के होला भन्ने पनि हाम्रो मनमा प्रश्न थियो । तर, यहाँका नेता कार्यकर्ताले ती सबै प्रश्नको बलियो उत्तर दिनुभयो,’ उनले भने ।
प्रचण्डले कम्युनिस्ट पार्टीमा कुनै पुच्छर राख्न आवश्यक नभएको बताएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टी सबैको विचार अट्न सक्ने पार्टी भएको बताए । ‘अब कम्युनिस्ट पार्टीमा कुनै पुच्छर राख्न आवश्यक छैन । नेपाली कम्युनिस्ट पार्टीमा अब एकीकृत समाजवादी छैन । माओवादी छैन । अरू कुनै केन्द्र छैन,’ उनले भने, ‘सबै एउटै पार्टीमा समाहित भएका छौँ । विगतमा कम्युनिस्ट पार्टी नेपाल भनेर भूगोलको नाम राखियो । किनकि पार्टी जनताको हुन्छ । त्यसै भएर हामीले नेपाली कम्युनिस्ट पार्टी बनायौँ ।’
नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले आफ्नो पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्ने बताए । नेपालले राजनीतिमा लाग्नेहरूमा इमानदारी र समर्पण हुनु पर्ने बताए । उनले राजनीतिक दलहरूमा अपराधीकरण व्याप्त रहेको समेत बताए । ‘दलहरूमा दलालीकरण, ठेकेदारीकरण, व्यापारीकरण, भ्रष्टीकरण, अपराधीकरणको प्रवृत्ति चुलिएको छ,’ उनले थपे, ‘त्यसलाई अन्त्य गरेर नेपालको राजनीतिलाई स्वच्छ बनाउने कामको अगुवाइ अब नेपाली कम्युनिस्ट पार्टीले गर्नेछ ।’
‘अहिले देशका कुशासन व्याप्त छ । भ्रष्टाचार व्याप्त छ । त्यसलाई अन्त्य गर्ने काममा यो पार्टीले अगुवाइ गर्नेछ,’ उनले भने, ‘राजनीतिमा लाग्नेहरूमा जबसम्म इमान्दारी हुँदैन, समर्पणको भावना, देश बनाउने हुटहुटी र चिन्ता हुँदैन, तबसम्म देश बन्ने अवस्थामा पुग्दैन । हामीलाई देश र जनताको चिन्ता छ ।’ नेपालले आफ्नो पार्टीले स्वच्छ राजनीतिको अगुवाइका साथै समाजावादको कार्यक्रमका साथ अघि बढ्ने पनि बताए । नेकपा निष्पक्ष निर्वाचन गराउने सरकारको साथमा रहने उनले स्पष्ट पारे ।
‘अहिले बन्नुभएको प्रधानमन्त्रीलाई पनि तपाईँ अघि बढ्नुस्, राम्रो काम गर्नुस् भनेर सन्देश पठायौँ । समयमा निष्पक्ष चुनाव गराउनुस्, हामी साथ दिन तयार छौँ,’ उनले भने, ‘त्यसैले सबै नेताहरू उस्तै हन्? होइन, राम्रा पनि छन् ।’ नेपाली कम्युनिस्ट पार्टीका नेता डाक्टर भीम रावलले पार्टीलाई शक्तिशाली बनाएर अगाडि बढ्ने बताए । ‘प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते होस् वा अरु दिन प्रमुख राजनीतिक शक्ति नेपाली कम्युनिस्ट पार्टी हुन्छ,’ उनले भने, ‘हामी विगतका कमजोरीलाई दोह¥याउँदैनौँ ।’ नेता रावलले वर्तमान सरकारले सन्धी–सम्झौता गर्न नपाउने बताए ।
‘यो सरकारले चुनाव गर्ने प्रमुख जिम्मेवारी पाएको छ,’ रावलले भने, ‘तर असमान सन्धी, सम्झौता गरिरहेको छ भन्ने सुनेको छु । दीर्घकालिन प्रवृत्तिका सम्झौता गर्ने जिम्मेवारी यो सरकारलाई छैन ।’ निर्वाचनका लागि जनताको ताजा जनमत लिन नेपाली कम्युनिस्ट पार्टी तयार रहेको रावलले बताए । ‘निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन गर्ने वातावरण यो सरकारले बनाउनुपर्छ,’ उनले भने ।
रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि नै मिसन ०८४ नभइ पतन ०८४ आउँछ भनेर आफूले भनेको बताए । ‘मैले त्यही बेलामा भनेको थिएँ, मिसन ०८४ होइन पतन ०८४ आउँदैछ भनेको थिएँ,’ रावलले भने । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रकाश शाहले एमाले अध्यक्ष केपी ओलीको अहंकारले नेकपा एमालेमा पहिरो गएको बताए । उनले ओलीको अहंकारका कारण कम्युनिस्ट पार्टी छिन्नभिन्न भएको आरोप लगाए ।
एमालेका पूर्वकेन्द्रीय सदस्य समेत रहेका उनले ओलीको कठालो नेपाली कम्युनिस्ट पार्टीले समात्ने जिकिर गरे । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले जेनजी पुस्ताले गरेको आन्दोलन जायज भएको बताए । उनले जेनजी आन्दोलन जायज भएकाले नेकपाले समर्थन गरेको बताए । ‘नवयुवा जेनजी पुस्ताले गरेको आन्दोलन जायज थियो । उनीहरूले देखेको सपना पुरा गर्नुपर्छ । तपाईँहरूको आन्दोलनलाई सबैभन्दा पहिले समर्थन गर्ने पार्टी नै हामी हौँ’, उनले भने ।
देश अहिले निकै संकटमा रहेकाले तोकिएकै समयमा निर्वाचन हुन आवश्यक रहेको उनले बताए । अहिले मुलुक संकटमा रहेको भन्दै जोगाउनुपर्ने अवस्था रहेको उनले बताए । उनले समयमै निर्वाचनको आवश्यकता रहेको समेत बताएका थिए । सभामा नेपाली काँग्रेस, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टीका असन्तुष्ट कार्यकर्ताहरू सो पार्टीमा प्रवेश गरेका थिए । उनीहरूलाई संयोजक प्रचण्ड र सह–संयोजक नेपालले माला र टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्