ठूलो घोटाला व्यहोरेको नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकलाई खारेजी नभै पुनरुत्थान गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक अघि बढेको छ । बैंकका निक्षेपकर्ताहरूलाई बचत फिर्ता गर्न नसक्ने स्थिति देखिएपछि निक्षेपकर्तालाई नै सेयरधनी बनाएर बैंक पुनरुत्थान गर्ने प्रक्रियामा राष्ट्र बैंक अघि बढेको हो । उक्त विकल्पमा सहमत गराउनका लागि राष्ट्र बैंकको टोलीले अहिले बचतकर्ताहरूसँग छलफल गरिरहेको छ । बचतकर्ताहरूलाई उनीहरूको बचत सेयरमा परिणत हुँदा हुने फाइदाका बारेमा बुझाउने र सहमतिमा ल्याउने प्रयासमा राष्ट्र बैंकको टोलीले काम गरिरहेको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालको बैंकिङ इतिहासको सबैभन्दा ठूलो घोटाला व्यहोरेको नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकलाई खारेजी नभै पुनरुत्थान गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक अघि बढेको छ । बैंकका निक्षेपकर्ताहरूलाई बचत फिर्ता गर्न नसक्ने स्थिति देखिएपछि निक्षेपकर्तालाई नै सेयरधनी बनाएर बैंक पुनरुत्थान गर्ने प्रक्रियामा राष्ट्र बैंक अघि बढेको हो । नेपाल राष्ट्र बैंकले टोली खटाएर सञ्चालन गरिरहेको बैंकको स्थितिबारे गरिएको विस्तृत लेखापरीक्षण (डिडिए)बाट बैंक अहिलेकै अवस्थामा चल्न नसक्ने निष्कर्ष आएको छ ।
किनकी बैंकको दायित्व र सम्पत्तिबीच एक अर्बको फरक रहेको उक्त प्रतिवेदनले खुलाएको छ । २०८२ असोज ६ गते सार्वजनिक उक्त प्रतिवेदनपछि राष्ट्र बैंकले बैंकका बचतकर्ताको बचत रकमलाई सेयरमा रुपान्तरण गरेर बैंक बचाउने विकल्प अघि सारेको हो । उक्त विकल्पमा सहमत गराउनका लागि राष्ट्र बैंकको टोलीले अहिले बचतकर्ताहरूसँग छलफल गरिरहेको छ । बचतकर्ताहरूलाई उनीहरूको बचत सेयरमा परिणत हुँदा हुने फाइदाका बारेमा बुझाउने र उनीहरूलाई सहमतिमा ल्याउने प्रयासमा राष्ट्र बैंकको टोलीले काम गरिरहेको छ ।
समस्याग्रस्त बैंक सम्हाल्न नेपाल राष्ट्र बैंकले गठन गरेको व्यवस्थापन समूहका संयोजक टीकाराम खतिवडा हाललाई बचतकर्ताको बचत रकमको सुरक्षाका लागि सेयरमा परिणत गर्ने मोडेल नै सबैभन्दा उपयुक्त हुने निष्कर्षमा राष्ट्र बैंक पुगेको बताउँछन् । राष्ट्र बैंकको उक्त व्यवस्थाबारे छलफलका लागि केही दिनअघि आयोजित एक कार्यक्रममा खतिवडाले भने, ‘कि त बैंक खारेजी गर्नुपर्याे र निक्षेपकर्ताहरूको निक्षेप फिर्ता गर्नुपर्याे । तर, अहिले बैंकको दायित्व र सम्पत्तिबीच एक अर्बको फरक रहेकोले त्यो सम्भव छैन ।’
उनले राष्ट्र बैंकले आफ्नो ढुकुटीबाट पैसा निकालेर निक्षेपकर्ताहरूलाई फिर्ता दिन नसक्ने पनि बताए । बैंकका ऐन नियमले पनि त्यसो गर्न नमिल्ने उनले जानकारी दिए । उनका अनुसार त्यसका लागि नेपाल सरकारले नै प्याकेज घोषणा गर्नुपर्ने हुन्छ । त्यसकारण राष्ट्र बैंकको उच्च तहको व्यवस्थापनले विभिन्न तहको छलफल गरेपछि निक्षेपकर्तालाई सेयरधनीमा रुपान्तरण गर्ने ‘डिपोजिट टु इक्यिुटी स्वाप’को निष्कर्षमा पुगेको खतिवडाले बताए ।
उक्त विकल्पमा जानका लागि राष्ट्र बैंकले पहिलो चरणमा अपचलनमा संलग्न भनेर मुद्दामा अभियोजन गरिएका यसअघिका सबै सेयरधनीको सेयरलाई घटाउने निर्णय गरेको छ । राष्ट्र बैंकको व्यवस्थापन समूहले कात्तिक १ गते एक सूचना जारी गर्दै विभिन्न १८ जना व्यक्ति र एक कम्पनीको नाममा रहेका सबै संस्थापक सेयरका साथै ७ जना व्यक्ति र एउटा कम्पनीको नाममा रहेका साधारण सेयरहरूलाई एक प्रतिशतमा झारिएको जानकारी दिएको छ । उक्त निर्णयपछि २१ लाख ३६ हजार ६० कित्ता संस्थापक सेयर अब २१ हजार तीन सय ६० कित्तामा झरेको छ।
यस्तै साधारणतर्फ पहिले कायम १२ हजार ६ सय ८४ कित्ता सेयर अब १२६ दशमलव ८५ कित्तामा झरेको छ । यसबाट अब बैंकको ९९ प्रतिशत सेयर खाली रहेकोले उक्त सेयर बैंकका निक्षेपकर्ताहरूलाई पहिलो प्राथमिकतामा राखेर दिनेगरी राष्ट्र बैंकले प्रक्रिया अघि बढाएको छ । खतिवटा भन्छन्, ‘बदमासी गर्ने संस्थापक सञ्चालकहरू बाघको दाँत र नङ्ग्रा निकालिएको जस्तो अवस्थामा हुन्छन् । उनीहरू संस्थाबाट आउट हुन्छन् ।’
अब दोस्रो चरणमा निक्षेपकर्ताहरूसँग बचत रकमलाई सेयरमा परिवर्तन गर्न छलफल भइरहेको बैंकको टोलीका सदस्य विष्णु विश्वकर्माले जानकारी दिए । निक्षेपलाई सेयरमा परिवर्तन गर्न धेरैजसो बचतकर्ताहरूले अस्वीकार गरेका छन् । उनीहरूले आफूहरूले नगद रकम बैंकमा जम्मा गरेको र नगदै पाउनुपर्ने माग गरिरहेका छन् । विशेषगरी कम रकमका बचतकर्ताहरूले बचत फिर्ता नभएमा आफूहरूको दैनिक जीवन चल्न नै अप्ठ्यारो हुने बताएका छन् ।
तर, बैंकले तिहारयता बचतकर्ताहरूलाई बचत फिर्ता नै गर्न सकेको छैन । जेनजी आन्दोलनयता धितोमा राखिएका जग्गाजमिनहरूको लिलामसम्बन्धी काम पनि ठप्प भएपछि त बचत फिर्ताका लागि ऋण र ब्याज असुली पनि ठप्प जस्तै छ । असुली भैहालेमा पनि सबै बचतकर्ताको रकम फिर्ता गर्न सकिने स्थिति छैन । ठूला बचतकर्ताहरूको बचत फिर्ता हुने सम्भावना निकै कम रहेको छ । यस्तो स्थितिमा समाधानको उपायको रूपमा सेयरमा रुपान्तरण गर्नु नै एकमात्र विकल्प रहेको खतिवडा बताउँछन् ।
‘सबैले निक्षेप फिर्ता नै चाहिन्छ भन्ने हो भने समाधान निस्कँदैन । कसै न कसैले सम्झौता नगरिकन समाधान निस्कने अवस्था छैन ।’ खतिवडा बचत रकमलाई सेयरमा रुपान्तरण गर्दा ६० प्रतिशत बचतलाई संस्थापक सेयरमा र ४० प्रतिशत साधारण सेयर किन्न सुझाइएको बताउँछन् । त्यसो गर्दा साधारण सेयरलाई संस्था सञ्चालन भइसकेपछि बिक्री गरेर बचतकर्ताहरूले फाइदा लिन सक्ने सम्भावना हुने उनले बताए ।
तर, राष्ट्र बैंकको यस प्रस्तावमा बचतकर्ताहरूको मिश्रित प्रतिक्रिया आएको छ ।
विशेषगरी साना बचतकर्ताहरूले बचत रकम फिर्ता पाउनुपर्ने माग चर्काेरूपमा उठाइरहेका छन् । कतिपय साना बचतकर्ताहरूले बचत फिर्ता पाउन नसक्दा औषधोपचार र दैनिकी चलाउने समस्या भइरहेको बताइरहेका छन् । खतिवडा पनि भन्छन्, ‘दैनिकी चलाउनै समस्या भएका बचतकर्ताहरूलाई सेयर किनेर बस्नुस् भनेर हामी भन्न सक्दैनौँ । तर जसले हैन म लगानी गर्छु भन्ने छ भने यो एक राम्रो अवसर हुनसक्छ । यसले विन विन सिचुएसन बनाउँछ । बैंक पनि चल्ने, निक्षेप पनि सुरक्षित हुने, भोलि राम्ररी चल्यो भने त फिर्ता पनि आउने भन्ने राष्ट्र बैंकको भनाइ हो ।’
बंैकको बचतलाई सेयरमा रुपान्तरणपछि बैंकको नामदेखि कार्यक्षेत्रसमेत नयाँ भएर आउनसक्ने उनले बताए । ‘नाम कर्णाली विकास बैंक राख्नैपर्छ भन्ने छैन । बोर्डलाई बर्खास्त गरिसक्यौँ । अब नयाँ व्यवस्थापन, नयाँ बोर्ड, नयाँ सिइओ, नयाँ सेयर होल्डर सबै नयाँ हुन्छ । अनि कार्यक्षेत्र पनि फरक हुनसक्छ । अहिले क्यापिटलको हिसाबले राष्ट्रियस्तरको विकास बैंक पनि हुनसक्छ,’ खतिवडाले भने । उनले अहिलेको संकट बचतकर्ताहरूका लागि अवसर पनि हुनसक्ने तर्क गरे ।
स्रोतका अनुसार अदालती प्रक्रियाबाट अनियमिततामा संलग्न दोषीहरूबाट बिगो असुल गरी बैंकको घाटा कम गर्ने अर्को विकल्प पनि छ । यद्यपि, यो प्रक्रिया लामो र झन्झटिलो हुने भएकाले यसलाई तत्कालको समाधान नभई दीर्घकालीन बैंकअपको रूपमा मात्र हेरिएको छ । अदालती प्रक्रियाबाट असुल हुने रकम बैंकको सम्पत्तिमा थपिनेछ ।
बचतकर्ताहरूले बचत फिर्ता पाउने अर्काे बाटो अदालती प्रक्रियाबाट अनियमिततामा संलग्न दोषीहरूबाट बिगो असुल गर्ने हो । तर, उक्त प्रक्रिया निकै लामो भएकोले प्रभावकारी हुने देखिँदैन । यसैगरी, पुर्नकर्जा निक्षेप सुरक्षणको विकल्पमा जाँदा पनि पाँच लाखसम्मको निक्षेपको मात्र सुरक्षण गर्ने र बैंकलाई खारेजीमा पठाउनुपर्ने प्रावधान छ ।
यस्तो छ बैंकको हालको स्थिति
समस्याग्रस्त कर्णाली विकास बैंकको विस्तृत लेखापरीक्षण (डिडिए) प्रतिवेदनले बैंक अहिले बचत रकम र उठ्नुपर्ने रकम तुलना गर्दा करिब १ अरब अन्तर रहेको खुलाएको छ । बैंकमा निक्षेप चार अर्ब ३० करोड रहेकोमा ऋण लगानी दुई अर्ब ५५ करोड र असुल्नुपर्ने ब्याज एक अर्ब मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ । यसका आधारमा उठाउनुपर्ने रकम साढे ३ अर्ब रूपैयाँ र दायित्व भने चार अर्ब ३० करोड हुँदा करिब १ अर्ब घाटामा रहेको छ ।
बैकमा तत्कालीन सञ्चालक तथा व्यवस्थापनका कर्मचारीहरूको मिलोमतोमा तीन अर्ब २० करोड अपचलन गरेको भन्दै सिआइबीले मुद्दा अभियोजन गरेको छ । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा दायर मुद्दाको सुनुवाइ जेनजी आन्दोलनको आगजनीपछि ठप्प छ ।
नेपाल राष्ट्र बैंकले २०८१ पुस १० गते समास्याग्रस्त घोषणा गरी व्यवस्थापन आफ्नो हातमा लिएकोमा त्यसपछिका ११ महिनामा बैंकबाट करिब ६० करोड रूपैयाँ मात्रै बचत फिर्ता भएको छ ।
राष्ट्र बैंकले खटाएको व्यवस्थापन टोलीका सदस्य विष्णुबहादुर विश्वकर्मा जेनजी आन्दोलनपश्चात् बजारबाट साँवा र ब्याज उठाउन झनै अप्ठ्यारो स्थिति सिर्जना भएको बताउँछन् । ‘मालपोत र नापी दुवै बन्द हुँदा धितो लिलामी गर्ने काम हुने स्थिति छैन । अर्काेतिर ऋणीहरू भागेर हिँड्नुपर्ने स्थिति छ,’ विश्वकर्माले भने । २०६० सालमा स्थापना भएर बाँके, बर्दिया र दाङ जिल्ला कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको बैंकमा चार अर्ब ६४ करोड ३१ लाख रूपैयाँ निक्षेप, दुई अर्ब ९७ करोड ७६ लाख रूपैयाँ कर्जा रहेको थियो ।
बैंकमा एक लाख एक हजार एक सय २५ जना व्यक्तिगत र ६ हजार एक सय २२ जना गरी कूल एक लाख सात हजार दुई सय ४७ जना बचतकर्ता छन् भने एक हजार ५६ जना ऋणी छन् । समस्याग्रस्त घोषणापछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा ३ सदस्यीय व्यवस्थापन समूह खटाएको छ ।
उक्त समूहले बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिइ कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका काम गरिरहेको छ । कर्णालीमा आर्थिक अनियमितताको २०७० सालदेखि नै अपचलन सुरु भएको राष्ट्र बैंक र सीआइबीको अध्ययनले देखाएको छ ।
अदालतको सुनुवाइ अनिश्चित
कर्णाली विकास बैंकको बचत अपलचत मुद्दाका प्रतिवादीहरू पक्राउ नपर्दै र थप सुनुवाइ अघि नबढेकै अवस्थामा भदौ २४ गते उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा आगजनी भयो । उक्त आगजनीमा उक्त मुद्दाका मिसिलहरूसमेत जलेर नष्ट भए । जसकारण अहिले हजारौँ बचतकर्ताको दैनिकीसँग जोडिएको बैंक अपचलनको उक्त मुद्दाको सुनुवाइ अनिश्चित अवस्थामा छ ।
अदालतका सूचना अधिकारी बलबहादुर विष्टका अनुसार अहिले उक्त मुद्दाको मिसिल खडा गर्नका लागि उच्च सरकारी वकिलको कार्यालय र कानुन व्यवसायीसँग मुद्दाका मिसिलका प्रतिलिपिहरू माग गरिएको छ । ती प्रतिलिपि प्राप्त भएपछि र न्यायाधीशहरूले त्यसका आधारमा मुद्दाको सुनुवाइ अघि बढाउन सक्ने देखेपछि मात्रै सुनुवाइ सुरु हुनेछ ।
यता उक्त मुद्दाका प्रतिवादीहरू अहिलेपनि खुलेआम घुमिरहेका बताउँदै प्रहरी प्रशासनको आलोचना भइरहेको छ । तर, मिसिल नहुँदा उक्त मुद्दाको सुनुवाइ नै नहुने स्थिति रहेकोले सबै प्रक्रिया अवरुद्ध जस्तै स्थितिमा रहेको विष्टले बताए । उक्त अपचलन प्रकरणमा एक सय नौ जना (मृत्यु भइसकेका समेत)लाई प्रतिवादी बनाएर २०८२ साउन १४ गते अदालतमा मुद्दा दायर गरिएको थियो ।
मुद्दामा प्रतिवादी बनाइएकामध्ये चार जनालाई मुद्दा दायर हुनुअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो । पक्राउ परेकाहरूका सम्बन्धमा २०८२ साउन २१ गते बन्दीप्रत्यक्षीकरणको आदेश आइसकेको छ । उक्त आदेशबाट बैंकका संस्थापक अध्यक्ष एवं तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, तत्कालीन अध्यक्ष पशुपतिदयाल मिश्र र बैंकका तत्कालीन वित्त प्रमुख वेदप्रकाशसिंह ठकुरी पुर्पक्षका लागि कारागार चलान भएका छन् भने राष्ट्र बैंकका कर्मचारी भुवन बस्नेत धरौटीमा छुटेका थिए ।
एक सय नौ जना प्रतिवादीमध्ये दुई जनाको मृत्यु भइसकेको छ । एक सय तीन जना अझै फरार रहेका छन् । सिआइबीले गरेको अनुसन्धानपश्चात् बैंकमा तीन अर्ब २० करोड ११ लाख ५४ हजार हिनामिना भएको पाइएको छ । जसमध्ये एक अर्ब सत्ताइस करोड एक्काईस लाख त्रिसट्ठी हजार रूपैयाँँ संस्था र विभिन्न बैंकबाट अनधिकृतरूपमा आपसी मिलेमतो गरी हिनामिना भएको पाइएको छ ।
अदालतमा दायर मुद्दामा बैंकका धेरै उच्च पदस्थ अधिकारी र कर्मचारीले बचत दुरुपयोग तथा विभिन्न जालसाजीपूर्ण कार्यहरूमार्फत ठूलोे रकम हिनामिना गरेको आरोप लगाइएको छ । प्रतिवादीहरूमध्ये अधिकांश बैंकका ऋणीहरू रहेकोले उनीहरूको मुद्दा टुंगो नलागेसम्म वा अदालतले निकास नदिएसम्म बैंकको ऋण उठ्न नसक्ने स्थिति छ । यसले सबैभन्दा ठूलोे मारमा बैंकका बचतकर्ताहरू रहेका छन् । बैंकमा २०७० सालदेखि नै अनियमितता सुरु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्