कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर–११ स्थित लोकनगरमा एकीकृत डाटा सेन्टर निर्माण गरिएको छ । ४६ करोड लागतमा कोहलपुरमा एकीकृत डाटा सेन्टर निर्माण गरिएको हो । संघीय सरकारको पञ्जीकरण विभाग अन्तर्गत रहेको डाटा सेन्टर प्रादेशिक कार्यालय हो । यस कार्यालयले लुम्बिनी प्रदेश अन्तर्गत मात्रै सेवा प्रवाह गर्नेछ । कार्यालय सञ्चालनमा आएपछि डाटा संकलन र भण्डारको काम गर्नेछ ।
समान्तार रेलिगेड जेभीले उक्त डाटा सेन्टर निर्माण गरेको हो । निर्माण कम्पनीका पोजेक्ट म्यानेजर कार्तिक झाका अनुसार एकीकृत डाटा सेन्टर निर्माणको ९६ प्रतिशत काम सम्पन्न भइसकेको छ । ‘डाटा सेन्टरका लागि भौतिक संरचना निर्माण सम्पन्न भइसकेको छ । ती संरचनालाई हस्तान्तरण गर्नको लागि अन्तिम रुप दिने तयारीमा छौँ । अबको एक महिनाभित्रै भवन सरकारलाई हस्तान्तरण गछौँ,’ उनले भने । अहिले डाटा सेन्टरलाई अन्तिम रुप दिने काम भइरहेको प्रोजेक्ट म्यानेजर झाले बताए ।
डाटा सेन्टर निर्माणको काम २०७९ असार २० गतेदेखि निर्माण सुरु भएको थियो । निर्माण सुरु भएको दुई वर्षभित्रै कार्य सम्पन्न गर्ने योजनासहित समान्तार रेलिगेड जेभीले डाटा सेन्टर निर्माणको जिम्मा पाएको थियो । आफूहरूले निर्धारित समयमै योजना सम्पन्न गरेको र अब हस्तान्तरण गरेको झाको भनाइ छ । लोकनगरमा एक बिघा क्षेत्रफलमा डाटा सेन्टरको लागि मेक ब्लक निर्माण गरिएको छ । मेन ब्लकमा १६ वटा कोठा रहेका छन् ।
सुविधा सम्पन्न सर्भर रुमसमेत निर्माण गरिएको छ । यस्तै एउटा स्टाफ क्वाटरसमेत निर्माण गरिएको छ । सुरक्षा गार्ड पोष्टसमेत निर्माण सम्पन्न भइसकेको उनको भनाइ छ । पञ्जीकरण विभाग अन्तर्गत रहेको यो कार्यालय काठमाडौँ उपत्यका बाहिर रहेका दुई वटा कार्यालयमध्ये एक हो, हाल हेटौँडा र कोहलपुरमा निर्माण गरिएका कार्यालय निर्माणको अन्तिम तयारीमा छन् । अहिले कोहलपुरसँगै ललितपुरको खुमलटार र हेटौँडासमेत समेत डाटा सेन्टर निर्माणको काम भइरहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना प्रविधि विभाग अन्तर्गत एकीकृत डाटा व्यवस्थापन केन्द्र सिंहदरबारमा रहेको छ ।
के हो डाटा सेन्टर ?
ठूलो मात्रामा डाटा भण्डारण, प्रशोधन र वितरण गर्न कम्प्युटर प्रणाली र नेटवर्किङ उपकरणहरू राखिएको सुविधा हो डाटा सेन्टर । डाटा सेन्टरलाई डिजिटल संसारको मेरुदण्ड मानिन्छ । डाटा सेन्टरका मुख्य घटकहरू हुन्छन् । ती हुन्, सर्भरहरू, स्टोरेज सिस्टमहरू, नेटवर्किङ उपकरणहरू, कुलिङ सिस्टमहरू, पावर सप्लाई र सुरक्षा प्रणाली । डाटा सेन्टरहरू तीन प्रकारका रहेका छन् ।
एन्टरप्राइज डाटा सेन्टरहरू, कोलोकेशन डाटा सेन्टरहरू र क्वाउड डाटा सेन्टर रहेका छन् । यसका चुनौती र भविष्यका प्रवृत्तिहरूसमेत रहेका छन् । उर्जा खपत, सुरक्षा, स्थिरता, एज कम्प्युटिङ, कृतिम बुद्धिमत्ता र मेसिन लर्निङ रहेका छन् । कोहलपुरमा सञ्चालन हुने डाटा सेन्टरले ब्लूबुक, लाइसेन्स, राष्ट्रिय परिचयपत्रसहितका अन्य डाटा खरिद् र संकलन गर्नेछ ।









प्रतिक्रिया दिनुहोस्