चरित्र शाह
आमा अँगेनामा रोटी पकाइरहेकी थिइन् । दिउँसोको तीन बजेतिर सानोबाबु र ठूलोबाबु विद्यालयबाट घर आइपुगे । ढोकाबाहिर जुता खोल्दै गरेका दुवैलाई हेरेर मुसुक्क हाँस्दै आमाले भनिन्, आयौ ? नाइँ आएनम्, दुवैले एकैस्वरमा भने । आएका छौ त । किन आएनम् भन्छौ ? आमाले पुनः प्रश्न गरिन् । आएको देखीदेखी किन सोध्नुभयो त ? हा हा हा जैैैसी करणी वैसी भरणी भन्दै भित्र पसे । लेऊ पानी खाऊ र आराम गर्दै गर, म खाजा बनाएर ल्याउँछु, दुवैजनालाई एकएक गिलास चिसो पानी दिइन् अनि आफूले नास्ताको तयारी गर्न थालिन् । उनीहरूले एक गिलास चिसो पानी एकै स्वासमा तनक्क पिए । विद्यालयको पोषाक खोले अनि घर बस्दा लगाउने पोषाक लगाए । आमाले एकएक ओटा गहुँका रोटी बनाएर दिइन् । दुवैजना कुरा गर्दै भोक शान्त पार्न निस्ता रोटी पकुल्लाउन थाले । उनीहरूको खवाई देखेर आमाले मनमनै भनिन्, ‘भोक मिठो कि भोजन मिठो ।’
दुवैजनामा दुई वर्षको फरक थियो । सानोबाबु पाँच वर्ष टेक्दै थियो भने ठूलोबाबु सात वर्षमा । सानोबाबुले खाँदै गरेको रोटीको टुक्रा एक्कासी आमा भएको कोठातिर फ्याँकिदियो र ठूलो ठूलो आवाजमा रुन थाल्यो । आमा एकाएक छक्क परिन् र सोच्न थालिन्, के भयो ? उनी आत्तिँदै उसको नजिक आइपुगिन् र सोधिन्, ‘के भयो बाबु ? किन रोटी फाल्यौ ?’ आमाले सानोबाबुलाई काखमा लिइन् र पर फ्याँकिएको रोटी समातेर दिँदै भनिन्, ‘लौ रोटी खाऊ ।’ सानोबाबुले अझै रुँदै, ‘म खान्न खान्न, त्यसले नै खान्छ’ भन्दै आँखाबाट ठूलाठूला आँसुका थोपा खसाल्दै रोइरहेको थियो । आमालाई अचम्म लागिरहेको थियो कि एक्कासी यो केटालाई के भयो ? भर्खरै यी दुवैजना सँगै मिलेर खाँदै थिए । आमाले फकाउन थालिन्, ‘भन बाबु भन के भयो ? नरोऊ । तिमीजस्तो ज्ञानी मान्छे रुन हुन्छ त ? के भएको हो ? जे हो नढाँटीकन भन्नुपर्छ ।
आफ्नो मम्मीसँग कुरा लुकाउन हुन्न नि । के ठूलोबाबुले पिट्यो ?’ त्यो कुरा सुनेर ठूलोबाबुले भन्न थाल्यो, ‘नाइँ नाइँ, मैले भाइलाई केही पनि गरेको छैन ।’ ठूलोबाबु आफू निर्दोष भएको कुरा बतायो । ‘सानोबाबुलाई के भयो त त्यसो भए ?’ आमाले ठूलो स्वरमा सोधिन् । ठूलोबाबु तर्सिएझैँ गरी भन्न थाल्यो, ‘खै के भएको हो मलाई थाहा छैन । मेरो रोटी पनि आफैले खान खोजेको होला नि ।’ उसको कुरा सानोबाबुलाई मन परेन र भन्न थाल्यो, ‘हैन मम्मी यसले झुट कुरा गर्दै छ । मैले त्यसको रोटी खान खोजेको हैन । यो त खराब छ जे पनि भन्छ ।’ उसको कुरा सुनेर आमाले फेरि सोधिन्, ‘त्यसो भए के भएको हो त ? ’सानोबाबुले रुँदै भन्न थाल्यो, ‘यसले मलाई किन त फोहोर कुरा भन्यो ?’ उसको कुरा सुनेर आमा अलमलमा परिन् र सोँच्न थालिन्, के रहेछ त यसले यसरी रुने गरी भनेको फोहोर कुरा ? कुनै अश्लील शब्द होला कि ‘के होला ? कुनै नराम्रो गाली गरेको पनि हुन सक्छ ।
बच्चालाई के थाहा ? कस्तो फोहोर कुरा र कस्तो सफा कुरा भनेर ? उनले अझै गम्भीर भएर सोच्न थालिन् । आमाले कारण पत्ता लाउन सकिनन् र सानोबाबुलाई नै सोधिन्, ‘भन बाबु यसले के बोल्यो त फोहोर कुरा ?’ आमाको कुरा सुनेर सानोबाबुले रुँदै भन्न थाल्यो, ‘यसले मलाई ठूलो भएर तँ केही बन्न सक्दैनस् भन्यो । म ठुलो भएर चोर गुण्डाबाहेक अरू केही बन्न सक्दैनँ रे । यसले मलाई चोर र गुण्डा बन्छस् भन्यो’ भन्दै अझै जोड जोडले रुन थाल्यो । उसको कुरा सुनेर आमाको मनमा चिसो पस्यो । उनी केहीबेर गम्भीर भइन् । उनलाई न रुनु न हाँस्नु भयो । आमाले त्यस कुरालाई सामान्य बनाउँन खोज्दै सानोबाबुलाई सम्झाउन थालिन्, ‘मेरो ज्ञानी बच्चा ! अरूले जे पायो त्यो भनेर हुन्छ त ? आफ्ू कस्तो हुने, पछि गएर कस्तो बन्ने त्यो त आफ््नै हातमा हुन्छ नि ! आफूले गरेर पो हुन्छ अरूले भनेर कहाँ हुन्छ । तिमी ज्ञानी भएर पढ्ने लेख्ने ग¥र्यौ भने त भोलि गएर तिमी राम्रो मान्छे बनिहाल्छौ नि ।’ आमाले सम्झाउँदा पनि उसले मानेन । बरु अझै पनि रोइरह्यो ।
अब के भनेर सम्झाउने हो ? आमाले उपाय सोच्न थालिन् । क्ेही त गर्नै प¥यो । आमाले राम्ररी सानोबाबुको मुखमा हेरिन् । उसको मनमा गहिरो चोट थियो । आँखाभरि आँसु डलबलडलबल पारेर आमालाई हेरिरहेको थियो । आमाले बाबु आऊ भन्दै दुई हात लामो पारेर थापिन् । बाबु आएर काखमा बस्यो । आमाले आँखाका आँसु पुछिदिइन् र च्वाप्प गालामा म्वाइँ खाइन् । सानोबाबु अझै पनि हिक्कहिक्क गरिरहेको थियो। सानोबाबु ! सानोबाबु ! हेर त ऐनामा तिम्रो मुखभरि पिठो दलिएको छ । कतिबेला दलेथ्यौैैैैै र ? आमाले सानोबाबुलाई ऐना हेर्न भनिन् ।
होइन ममी, मैले दलेको छैन पिठो ।
कहाँ नहुनु ! मुखभरि सेतै छ त । कि पाउडर लाएथ्यौ ? आमाले जिद्दी गरिन् । होइन पाउडर पनि लाएको छैन । त्यसो भए धेरै रोएपछि अनुहारमा पीठो वा पाउडरझैँ सेतो बस्दो रहेछ । तिम्रो अनुहार त सेतैसेतो फुस्रो भएको छ । जाऊ एकपटक ऐना हेर त अनि मुख धुने । आमाले ऐना हेर्न कर गरिन् । यतिखेर सानोबाबु जुरूक्क उठेर ऐनातिर गयो । राम्रोसँग चारैतिर आँखा घुमाउँदै ऐनामा आफ्नो अनुहार हेर्न थाल्यो । एकछिन पछि दौडेर आमाको नजिक आएर भन्न थाल्यो, झूठी मँमी । कहाँ छ मेरो मुखमा सेतो ? त्यत्तिकै झूठ बोल्ने ? आफू झूठ बोल्न हुने गरे हामी नहुने गरे । कट्टी । सानोबाबु रिसाएझैँ गरी अर्कोतिर फर्कियो । हामाले हा ! हा ! गरी हाँस्दै आफूतिर फर्काइन् र भनिन् ,अब त कुरा बुझ्यौ बाबु ? अर्काले भनेर हँदोरहेछ त ? मैले तिम्रो मुख सेतै छ भनेर सेतै भयो र ? भएन नि । यदि तिमीले पाउडर वा पिठो दलेको भए मैले नभनेको भए पनि सेतो हुन्थ्यो । हो कि नाई ?
हो । सानोबाबुले मुन्टो हल्लायो । अब कैले पनि अर्काको कुराको पछि नलाग । आफू के गर्छौ र कस्तो गर्छौ त्यसमा विश्वास गर । खान्छौ त पेट भरिन्छ । लेख्छौ त कपि भरिन्छ । पढ्छौ त जानिन्छ । अज्ञानी बन्छौ त पिटाइ खाइन्छ । ज्ञानी बन्छौ त माया पाइन्छ । अर्काले यस्तो भन्यो भनेर रुने, चिच्याउने, पिर मान्ने नगर है ? आमाले उदाहरण सहित सम्झाउने कोसिस गरिन् । सानोबाबुले शान्त भएर हस् भन्यो । केहीबेरपछि ठूलोबाबुको मन पनि पग्लियो र भाइलाई आफैँले सम्झाउनु पर्छ भन्ने सोचेर होला भाइलाई आफू पनि सम्झाउन अगाडि बढ्यो । उसले भन्यो, ‘भाइ मैले त त्यसै ख्याल्ख्यालमा जिस्काएको मात्रै हो । तिमी त मेरो ज्ञानी भाइ हौ नि । तिमी त ठूलो भएर सबैभन्दा धेरै ठूलोमान्छे बन्छौ । मलाई सपनामा भगवान्ले पनि आएर यस्तै कुरा भनेका थिए ।’ सानोबाबुले ठूलोबाबुको कुरा सुनेर केहीबेर घोरियो र मख्ख परेर हाँस्दै भन्न थाल्यो, त्यसो भए अघि किन त्यस्तो भनिस् त ? अबदेखि मेरो बारेमा यस्तो बोल्ने त के सोच्दा पनि नसोच् । ठुलोबाबुले मुन्टो हल्लाउँदै भन्यो, हस् ! हस् ! आऊ अब मिलम् । दुवैले मुसुक्क गर्दै हात मिलाए ।









प्रतिक्रिया दिनुहोस्