प्रतिक्विन्टल एक हजार कम मूल्यमै धान बेच्न बाध्य बाँकेका किसान



मूल्य तोक्ने, तर आफूले किन्ने कोटा घटाउँदै लैजाने अनि बजारमा धानले मूल्य पाइरहेको छ कि छैन भनेर अनुगमन पनि नगर्ने सरकारको रवैयाबाट किसानहरू वर्षाैँदेखि आजित छन् । यसवर्ष त झन् सरकारले तोकेको मूल्य आफूहरूका लागि मजाकजस्तै लागिरहेको जाफरपुर्वाकै किसान फरिरुद्धिन खाँले बताए । ‘मूल्य तोकेर मात्रै हुन्छ ? त्यो किसानले पाए कि पाएनन् भन्ने मुख्य कुरो हो । सरकारले तोकेको मूल्य त परै जाओस् हाम्रो लगानी पनि उठ्ने मूल्य पाइरहेका छैनौँ । यो त किसानहरूमाथि मजाकजस्तै हो,’ उनले भने ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ जाफरपुर्वाका फकिर मोहम्मद खाँले यस वर्ष करिब ६० क्विन्टल धान उब्जनी गरे । त्यसमध्ये उनले ४५ क्विन्टल धान बेचिसके । उनले आफूले २७ क्विन्टल मोटा धान दुई हजार चार सय रूपैयाँ प्रतिक्विन्टल र १८ क्विन्टल मसिनो धान दुई हजार सात सय रूपैयाँ प्रतिक्विन्टलका दरले स्थानीय व्यापारीलाई बेचेको बताए । जबकी यसवर्ष सरकारले मोटा धानको प्रतिक्विन्टल तीन हजार चार ६३ रूपैयाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६ सय २८ रूपैयाँ ३३ पैसा न्यूनतम समर्थन मूल्य तोकेको छ ।

सरकारले समर्थन मूल्य तोकेर के गर्नु, फकिरजस्ता बाँकेका धान उत्पादक किसानहरू सरकारले तोकेको मूल्यभन्दा करिब एक हजार रूपैयाँ कम मूल्यमै धान बेच्न बाध्य छन् । सरकारले तोकेको मूल्यमा धान खरिद गर्ने निकाय खाद्य तथा व्यापारी कम्पनी लिमिटेडले अझै कहिलेदेखि धान खरिद गर्ने हो यकिन गरिसकेको छैन । खरिद गर्नका लागि पनि नेपालगन्जस्थित कम्पनीको कार्यालयलाई जम्मा २० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य दिइएको छ । जुन गतवर्षको लक्ष्यभन्दा आधा हो । ‘त्यति त नेपालगन्ज वरिपरिकै किसानको बेच्न ठिक्क होला । हामीले कहाँ पालो पाऔँला,’ फकिरले खाद्यसँगको नैराश्यता प्रकट गरे ।

मूल्य तोक्ने, तर आफूले किन्ने कोटा घटाउँदै लैजाने अनि बजारमा धानले मूल्य पाइरहेको छ कि छैन भनेर अनुगमन पनि नगर्ने सरकारको रवैयाबाट किसानहरू वर्षाैँदेखि आजित छन् । यसवर्ष त झन् सरकारले तोकेको मूल्य आफूहरूका लागि मजाकजस्तै लागिरहेको जाफरपुर्वाकै किसान फरिरुद्धिन खाँले बताए । ‘मूल्य तोकेर मात्रै हुन्छ ? त्यो किसानले पाए कि पाएनन् भन्ने मुख्य कुरो हो । सरकारले तोकेको मूल्य त परै जाओस् हाम्रो लगानी पनि उठ्ने मूल्य पाइरहेका छैनौँ । यो त किसानहरूमाथि मजाकजस्तै हो,’ उनले भने ।

ट्रयाक्टर, धानको थ्रेसर लगायतका कृषि उपकरण पनि भएका किसान खाँले आफूसँग करिब ६० क्विन्टल धान रहेको बताए । फरिरुद्धिनका अनुसार पछिल्ला तीन वर्षमा धानको मूल्य निरन्तर घटेको छ । उनले भने, ‘परार साल चार हजार सम्ममा धान बिक्यो । पोहोरसाल तीन हजार आसपासमा झ¥यो । यस वर्ष त २५ सयमाथि कसैले दिनै मान्दैनन् ।’ यसरी सरकारले तोकेको मूल्यभन्दा झण्डै एक हजार कम मूल्यमै धान बेच्नुपरेपछि आफूले अहिले धान बेच्ने निर्णय गर्न नसकेको खाँको भनाइ छ । तर, धान बेच्न ढिलो भएमा गत वर्षजस्तै मूल्य बढेपछि बेचौँला भनेर राखेको करिब २० क्विन्टल धान अहिले पनि नबिकेर थन्केको जस्तै स्थिति हुने हो कि भन्ने चिन्ता पनि उनलाई छ । गत वर्षको धान देखाउँदै उनले भने, ‘यो धान भाउ बढेपछि बेचौँला भनेर राखेको थेँ, बढेन् । अहिले त यो पुरानो धान किन्न कोही व्यापारी तयार छैनन् ।’

यसरी धानको मूल्य नपाउँदा धेरै किसानले धानको मूल्य बढ्ने आशामा कुरिरहेको बताए । तर, सबै किसानले कुरिबस्ने सामथ्र्य राख्दैनन् । घरखर्च चलाउने, शिक्षा, स्वास्थ्यको खर्चदेखि हिउँदे बालीका लागि मलबीउको जोहो गर्न पनि उनीहरूलाई धान बेच्नुपर्ने बाध्यता छ । थोरै धान हुने किसानहरूले आफूसँग भएको धान घाटा खाएरै भएपनि बेच्न थालिसकेका छन् । विभिन्न स्थानमा स्थानीय व्यापारीहरूले धान संकलन गर्दै बजारमा रहेका ठूला व्यापारी तथा खाद्य मिलहरूसम्म पु¥याउने गर्छन् ।

त्यस्ता व्यापारीहरूले पनि किसानलाई धान बिकेपछि भुक्तानी दिने भन्दै उधारोमै धान संकलन गरिरहेका छन् । यता खाद्य व्यवस्था तथा व्यापार कम्पनीको नेपालगन्ज कार्यालयले धान किन्ने समय कुर्न पनि किसानहरूले त्यति चासो दिएको देखिएन । उनीहरू खाद्यले धानमा अनेक खोट देखाउने, गुणस्तर पुगेन भने फिर्ता पठाइदिने, पालो कुर्नै समय लाग्ने गरेको बताए ।

त्यसैमाथि किसानहरूले हिउँदे बाली लगाउने सिजन र खाद्यले धान खरिद गर्ने सिजन एउटै हुँदा झन्झट हुने गरेको उनीहरूको भनाइ छ । किसान फकिरले मिसन टुडेसँग भने, ‘गाउँमै आएर सरकारी काँटा लगाएको भए हामीलाई पनि फाइदै हुन्थ्यो । नेपालगन्ज लगेर जाउ । भाडा खर्च हुन्छ । त्यहाँ धान बेच्न एक हप्तासम्म कुर्नुपर्छ । यता खेती लगाउने बेला भएको छ । ट्रयाक्टर एक हप्तासम्म खडा गरेर राख्यो भने हाम्रो सबै आम्दानी गुमिहाल्छ । त्यो भएर खाद्यमा बेचेर पनि खासै फाइदा छैन ।’

डुडुवा गाउँपालिकाकै बलैपुरुवाका किसान बबुर यादवसँग करिब २० क्विन्टल धान छ । बजारमा धानको मूल्य दुई हजार चार सयभन्दा बढी दिन व्यापारीले मानिरहेका छैनन् । मूल्य बढेपछि बेचौँला भनेर पर्खिरहेका यादव अब धान नबेची नहुने स्थिति आइसकेको बताउँछन् । उनले गहुँ लगाउन मल र बीउ किन्नुपर्ने भएपछि समस्या भएको बताए ।

डुडुवाको बेतहनीमा एक व्यापारीले सञ्चालन गरिरहेको फर (संकलन केन्द्र)मा गहुँ बेच्न आएका उनले भने, ‘यो गहुँ बीउको लागि राखेका थियौँ । तर, योभन्दा राम्रो बीउ लगाउने भनेपछि भएको गहुँ बेचेर किन्छु भनेर आएको हुँ,’ उनले भने । अब गहुँ लगाउँदा चाहिने मलका लागि र घरखर्चका लागि धान बेच्नुबाहेक अर्काे विकल्प नरहेको उनले बताए । ‘अहिलेसम्म त भाउ बढेपछि बेचौैैँला भनेर बेचेको छैन । अब गहुँ खेती गर्दा मल चाहिन्छ । नेपालमा पाइँदैन । इण्डिया गएर किनेर ल्याउनुपर्छ । त्यसका लागि धान त बेच्नै पर्ने छ,’ यादवले भने ।

४५ क्विन्टल धान बेचिसकेका फकिर मोहम्मदले पनि हिउँदे बाली लगाउने र घरखर्च चलाउने प्रयोजनका लागि धान नबेची नहुने अवस्था आएको बताए । ‘अब खेती गर्दा ट्रयाक्टरमा तेल चाहियो । मल चाहियो । बीउ चाहियो । औषधि उपचार गर्नका लागि पनि पैसा चाहिएको छ । त्यही भएर बेचिदिएँ,’ उनले भने ।

बेतहनीबाट कृषि उत्पादन संकलन गरी नेपालगन्जमा ल्याएर बेच्दै आएका व्यापारीमध्ये एक अनिलकुमार साहुले धानको मूल्य घट्दै जानुमा मुख्य कारण भारतबाट आयातित चामल मुख्य कारण रहेको बताए । ‘मिलले पनि हामीसँग धान लिन मानिरहेको छैनन् । पोहोर सालकै धान बाँकी छ भन्छन् । किनकी बजारमा सबले इण्डियाबाट ल्याएको चामल किनेर खान्छन् । धेरैजसो उतै गएर किनेर ल्याउँछन् । अनि नेपालको धान नबिकेकोे अवस्था छ,’ साहुले भने ।

साहुको भनाइसँगै मेल खाने भनाइ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका प्रमुख रामशरण लामिछानेको पनि । खाद्यले तयार गरेको गत वर्षका २० हजार क्विन्टल चामल अहिले पनि कम्पनीको नेपालगन्जस्थित गोदाममा थन्किइरहेको उनले जानकारी दिए । ‘व्यापारीहरूले भारतबाट सस्तोमा चामल ल्याएर बेच्छन् । हामी चाहीँ उच्चतम मूल्य दिएर किनेको धानबाट चामल बनाउँछौँ । त्यसैले हामीले उनीहरूले भारतबाट ल्याउने चामलसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ । उपभोक्ताले पनि भारतबाट आयातित चामल नै धेरै उपभोग गरिरहेका छन् । अहिले बाटोसँग पहाडी जिल्लामा पनि भारतबाट आयातित चामल पुगेको छ,’ लामिछानेले भने ।

लामिछानेले किसानहरूले धानको समर्थन मूल्यजतिको मूल्य बजारमा नपाउनुका पछाडि धानको निर्बाध आयात नै प्रमुख कारण रहेको बताए । उनले सरकारले तथ्यांकका आधारमा अपुग धानमात्रै आयात गर्न दिने नीति नलिएसम्म किसानहरूले उत्पादनको मूल्य पाउन नसक्ने बताए । ‘कुन उपाय लगाएर हुन्छ, हामीसँग उत्पादन भएको धान र मागको तथ्यांकका आधारमा चाहिएको जति मात्रै धान चामल आयात गर्न दिने व्यवस्था गर्नु जरुरी छ । नत्र यहाँका किसानको धान नबिक्ने, मूल्य नपाउने अनि भारतबाट आयात भइरहने हो भने यो समस्याको समाधान सम्भव छैन,’ लामिछानेले भने ।

किसान फरिरुद्धिन खाँ पनि सरकारले किसानलाई चाहिने समान ल्याउन नदिने तर उताको कृषि उत्पादन निर्बाध आउन दिइरहनु अन्याय भएको बताउँछन् । ‘यदि उताको चामल जति पनि आउन दिने हो भने मल किन आउन नदिने । मल ल्याउँदा पुलिसले डण्डा लगाउँछ । कुनै मेसिनको सामान ल्याउनुप¥यो भने लुकाएर ल्याउनुपर्छ । नेपालमा आखिर किसानका लागि के व्यवस्था छ ?’ उनले आक्रोश व्यक्त गरे ।

हरेक वर्ष कृषि सामग्रीको मूल्य बढ्दै गएको, महंगी बढ्दै गएको अवस्थामा धानको मूल्य भने घटिरहँदा आफूहरू निराश अवस्थामा रहेको किसानहरूले बताएका छन् । उनीहरूले बजार अनुगमन गर्ने, खाद्यले धान खरिदको कोटा बढाउने र समयमै खरिद गरिदिने हो भने किसानहरूलाई राहत हुने बताए । यता खाद्य व्यवस्था तथा व्यापार कम्पनीको नेपालगन्जस्थित कार्यालयले अझै धान खरिद गर्ने मिति टुंगो लगाउन सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार