अधुरै रह्यो आमालाई घर बनाइदिने मोहनको सपना



३५ वर्षीय मोहन थारूको एउटै सपना थियो बुढी आमाको लागि नयाँ घर बनाइदिने । त्यसको लागि उनले इँटासमेत जम्मा गरिसकेका थिए । केही समयमै घरको जग हाल्ने उनको तयारी थियो । तर बुढी आमालाई घर बनाइदिने उनको सपना अधुरै रहेको छ । शुक्रबार दिउँसो छिमेकीहरूसँग घाँस दाउरा संकलनका लागि कोहलपुर नगरपालिका–२ विकासनगरस्थित जंगल गएका उनी अब कहिल्यै फर्किने छैनन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर नगरपालिका–११ भोला टोलका अन्दाजी ३५ वर्षीय मोहन थारूको एउटै सपना थियो बुढी आमाको लागि नयाँ घर बनाइदिने। त्यसको लागि उनले इँटासमेत जम्मा गरिसकेका थिए । केही समयमै घरको जग हाल्ने उनको तयारी थियो । तर बुढी आमालाई घर बनाइदिने उनको सपना अधुरै रहेको छ । शुक्रबार दिउँसो छिमेकीहरूसँग घाँस दाउरा संकलनका लागि कोहलपुर नगरपालिका–२ विकासनगरस्थित जंगल गएका उनी अब कहिल्यै फर्किने छैनन् । अचानक भएको उनको मृत्युको खबरले आमा बेहोसी अवस्थामा छिन् ।

आफन्तजन वियोगमा परेका छन् । गाउँकै इमान्दार व्यक्ति मोहनको मृत्युको खबरले सिंगो गाउँनै स्तब्ध बनेको छ । शनिबार दिउँसो मृतक थारू बस्ने घरमा पुग्दा पुरै सन्नाटा थियो । एकतले घरको ढोकामा ताल्चा लगाइएको थियो । घर पछाडी राखेका इँटाहरूले मोहनलाई कुरिरहेका छन् । एक स्थानीयले भनिन्, ‘सोझो मान्छे थियो । मरिगयो भन्छन् । हामा जेठा छोराकोमा गएकी छन् । हामीले पनि बिहान मात्रै थाहा पायौँ । बुढी आमालाई घर बनाइदिन्छु भन्थ्यो । आफैँ छोडेर गयो ।’ मोहन घरका कान्छा छोरा थिए । दुई दाई छुट्टै बस्दै आएका थिए । मोहन आमासँगै बस्थे ।

मोहनका दाई सोहनलाल थारू भन्छन्, ‘म दिउँसो भैँसी चराउन गएको थिएँ । राति साढे ९ बजेतिर यस्तो खबर आयो । म घटनास्थल पुग्दा मरिसकेको थियो । कसैको कुभलो नचाहने मान्छे कसरी यस्तो भयो । केही सोच्नै सकेको छैन ।’ उनले आफूले गाउँकै महिलाहरूसँग घाँस काट्न गएको भन्ने सुनेको उनले बताए । आमासँगै बस्दै आएको र दुई भाइले सल्लाह गरेर आमाको लागि घर बनाइदिने योजना बनाएको उनको भनाइ छ । घटनाको छानबिन हुनुपर्ने उनले बताए ।

मोहनको घरनजिकै भाडामा बस्दै आएकी माया बुढा उनी निकै सोझो मान्छे भएको बताउँछिन् । उनका अनुसार सबैलाई सहयोग गर्ने भावनाका मान्छे थिए । ‘गाउँका धेरै महिलाहरूले पैसा दिएर जंगलमा दाउरा काट्न लैजान्थे । पैसा पाइने भएपछि उनी पनि सहजै जान्थे । अरुजस्तो जथाभावी डुल्दैन थिए । अब घर बनाउँछु बज्जै भन्थ्यो । बिहान त्यस्तो सुन्दा त म हाँगाबाट खसेझैँ भएँ ।’ उनले मिसन टुडे दैनिकसँग कुराकानी गर्दै भनिन् ।

वडा नम्बर २ का वडाध्यक्ष हरि कठायतले मृत्युको खबर पाउनेबित्तिकै आफू घटनास्थल पुगेको बताए । ‘घाँस काट्न गएको भन्ने छ । तीन जना महिला पनि सँगै गएका रहेछन् । दुई जना बिहान मात्रै सम्पर्कमा आए । एकजना हिँजै घरमा आउनु भएको थियो । उहाँहरूले बाघले आक्रमण गरेपछि भागेको भन्नु भएको छ । थप कुरा प्रहरीको अनुसन्धान र पोष्टमार्टमपछि खुल्दै जाला,’ उनले भने ।

छिमेकीसँग घाँस काट्न गएका थिए मोहन

शुक्रबार दिउँसो अन्दाजी साढे ४ बजेतिर छिमेकी तीनजना महिलासँग मोहन घाँस काट्न गएका थिए । चारैजना कोहलपुर नगरपालिका–२ विकासनगरस्थित जनएकता सामुदायिक वन क्षेत्रमा गएको कोहलपुर प्रहरीले जनाएको छ । कौशिलानगर प्रहरी पोष्टका इन्चार्ज प्रसनि नन्दबहादुर परियारका अनुसार उनीहरू घाँस र दाउरा संकलन गर्ने प्रयोजनका लागि जंगलमा गएको बुझिएको छ ।

‘हामीले बुझ्दा चारजना गएका रहेछन् । एकजना पुरुष र तीनजना महिला रहेछन् । घर फर्किएका महिलासँग बुझ्दा आफूहरू फर्किने क्रममा बाघ देख्दा भागाभाग भयो भन्नु भएको छ,’ उनले भने । शुक्रबार राति घर फर्किएकी महिलाको भनाइ उद्धृत गर्दै प्रसनि परियारले दौडिने क्रममा जंगलमा मोहन थारू पल्टिएको बताएको जानकारी दिए । ‘उहाँले घर पुगेपछि घटनाबारे बताएपछि सबैजना गाउँले गएछन् हेर्दा त उनको मृत्यु भइसकेको रहेछ,’ उनले भने ।

आफूहरूलाई खबर आएर त्यहाँ पुग्दा मोहन मृत अवस्थामा फेला परेको उनले बताए । उनीसँगै गएका महिलाहरू भने राति खड्कवारको आर्मी चेक पोष्टमा सम्पर्कमा आएको जानकारी दिँदै उनले मोहनसँगै गएका देउमती खड्का र मिना भूसाल रहेको मिसन टुडेलाई जानकारी दिए । शनिबार दिउँसो मोहनसँगै गएका मिनाको घरमा पुग्दा धेरै आफन्तहरूको घुइँचो थियो । मिसन टुडेसँग कुराकानी गरेका मिनाका एक आफन्तले लामो समयको प्रयासपछि घरमा आएको र बेहोस अवस्थामा रहेको बताए ।

उनका अनुसार उनले अहिलेसम्म पनि कसैसँग बोल्न सकेकी छैनन् । ‘दुःखद् घटना भयो । एकजनाको ज्यानै गएको छ । उहाँहरू पनि बेहोस अवस्थामा हुनुहुन्छ । कृपया थप कुरा गर्न सक्ने अवस्थामा छैनौँ ।’ मिसन टुडेसँग अनौपचारिकरूपमा कुराकानी गरेका स्थानीयहरूले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘उहाँहरूले बाघ आयो, अनि भाग्यौँ, मोहनलाई बाघले आक्रमण गरेको भन्नुभएको छ । मृतक फेला परेको ठाउँमा पुग्दा त्यस्तो कुनै संकेत नै देखिएको थिएन ।’ एक स्थानीयका अनुसार मोहनको शव देख्दा कुनै चोटपटक देखिएको थिएन, नाकबाट हल्का रगत आएको थियो ।

घटना शंकास्पद ः बाघको आक्रमण कि भवितव्य 

शुक्रबार राति मृत भेटिएका मोहन थारूको मृत्युको घटना शंकास्पद देखिएको छ । उनीसँगै गएकाहरूले बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीसँग प्रारम्भिक बयान दिएका छन् । आफूहरूले सँगै हुँदा बाघले लखेटेको र भाग्ने क्रममा लडेको उनीहरूले बताएका हुन् । प्रत्यक्षदर्शी, सुरक्षा निकाय र आफन्तहरूले भने मोहनको बाहिरी शरीरमा कुनै पनि चोटपटक नदेखिएको बताएका छन् ।

बाघले आक्रमण गरेको खबर फैलिएलगत्तै शुक्रबार रातिनै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र बाँके राष्ट्रिय निकुञ्जको टोलीसहितको टोली घटनास्थलमा पुगेको थियो । तर शनिबार मृतक मोहनका दाई सोहनलाल थारूले इलाका प्रहरी कार्यालय कोहलपुरमा अनुसन्धानका लागि भन्दै जाहेरी दर्ता गरेपछि घटनाले अर्कै मोड लिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डमरपालले मृतकका तर्फबाट दाई सोहनलाल थारूले शनिबार घटनाको यथार्थ छानबिनका लागि जाहेरी दिएको बताए ।

‘शुक्रबार राति बाघको आक्रमणबाट मानिसको मृत्यु भएको खबर आएपछि हामी पुगेका थियौँ । आवश्यक प्रक्रिया पु¥याएर शव उठायौँ । अहिले मृतकका आफन्तबाट जाहेरी आएको छ । हामी थप अनुसन्धान गर्छौँ,’ उनले भने । मृतकका तर्फबाट जाहेरी आएपछि कोहलपुर प्रहरीले शनिबार मात्रै घटनास्थलको मुचुल्का उठाएको छ । त्यसपछि सँगै गएकाहरूसँग बयान लगायतका प्रक्रियागत कार्य गरिने इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मोहनको मृत्युको घटनासँग बाघले आक्रमण गरेको भन्ने सूचना फैलिएपछि बाँके राष्ट्रिय निकुञ्जले समेत घटनाबारे बुझेको जनाएको छ । निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीले मृतकको शवको प्रकृति हेर्दा बाघले आक्रमण गरेको जस्तो नदेखिएको बताए । उनका अनुसार बाघले आक्रमण गर्दा मानिसको शरीर छेदविच्छेद हुन्छ । तर उनको शरीरमा कुनै घाउ देखिएको छैन । बाघलाई देखाएर घटना अर्कैतिर मोड्न खोजिएको पंगेनीको भनाइ छ ।

‘बाघले लेखेटेको भन्ने आएको छ । रगत पनि छैन । कतै कोतरेको देखिँदैन । बाघको आक्रमण भन्ने दाबी नै शंकास्पद छ,’ उनले भने । यता कोहलपुर प्रहरीले मृतकको पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्रै विस्तृत जानकारी दिन सकिने जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार