मेनका चौधरी । गुलरिया (बर्दिया) ।
मासु किन्न नसक्ने विपन्न वर्गका थारू समुदायले पहिलेपहिले चाडबाडका बेला माछा, घोंगी, गङ्गटा, सुतही मारेर चाड मनाउँथे । तर केही वर्षयता यस क्षेत्रका खेत, खोलानाला, तालतलैयामा घोंगी, गङ्गटा, सुतही जस्ता माछा प्रजातिका जलचर पाइन छाडेका छन् । बढैयाताल गाउँपालिका–५ जगतियाका ६० वर्षीय बलीराम थारू भन्नुहुन्छ, ‘पहिले धेरै मात्रमा घाेंगी, गङ्गटा, सुतही पाइन्थे । अहिले पाइनै छाडे ।’ आधुनिक खेती प्रणालीले गर्दा खेतमा रसायनिक मल र विषादीको प्रयोग बढ्न थालेपछि खेत, नदी, खोलामै यी प्रजाति मासिन थालेको उनको अनुमान छ । सिमसार र तालतलैयाहरूमा पानी कम हुनु, सुख्खा क्षेत्र बढ्नुले पनि यी माछाका प्रजातिहरू कम हँुदै गएको हुनसक्ने उनी बताउँछन् ।
पहिले स्थानीयले जाल तथा हेल्का वा हातले माछाको सिकार गर्थे । हिजोआज नदी, खोलानालाहरूमा विष हाल्ने, करेन्ट लगाउने चलन बढेपछि माछाका प्रजाति फस्टाउन नसकेको स्थानीय बताउँछन् । नेपालकै ठुलो ताल भनिने बढैयाताल १०७ विगाहमा फैलिएको छ । यो तालमा समेत दोहन हुन थालेपछि घोंगी, गङ्गटा, सुतही पाइन छाडेका छन् । बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीकाअनुसार पहिलेको तुलनामा अहिले थोरै मात्रामा यी प्रजाति पाइन्छन् । ‘तालमा पानी सुक्दै गएको छ, यहाँ आउने धेरै चराहरूले आहारा नपाउँदा चराहरूको बासस्थान समेत पाइन छोडेको छ । तालमा चराका चिरविर आवाज पनि सुनिन छाडेको छ ।’
अर्कोतर्फ यसको संरक्षण भन्दा पनि बढी यस्ता प्रजाति मारेर बिक्री गर्ने चलन बढेपछि उनीहरूको बासस्थाननै मासिन थालेका हुन् । घोंगी, गङ्गटा, सुतहीको परिकार स्थानीय घरबास (होमस्टे) हरूमा पाहुनाका लागि आकर्षण भएपछि सिकारीहरू व्यावसायिक रूपमैै यसको सिकार गर्न थालेका छन् । यस क्षेत्रमा दुई थरिका घोंगी पाइन्छन् । गङ्गटा पाँच थरीका र सुतही दुई थरीका पाइन्छन् । बालविशेषज्ञ डा विश्वनाथ यादवकाअनुसार घोंगी, गङ्गटा सुतहीमा प्रोटिन, क्याल्सियम पाइन्छ । जसले ग्यास्ट्राइटिसका लागिसमेत औषधिको काम गर्छ । हड्डी बलियो बनाउँछ । यिनै विशेषता बारे थाहा भएकाले पनि हुनसक्छ यसको उपभोग वृद्धि भइ यस्ता जलचर मासिन थालेको डा यादव बताउँछन् ।
माछा प्रजातिका यी जलचरहरू लोप हुने क्रममा पुगेको एकिकृत कृषि विकास तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख कमला अधिकारी बताउँछिन् । उनले भनिन्, ‘पहिले जस्तो खेती प्रणाली छैन । धानमा रसायनिक मलको प्रयोग गर्नु, विषादी प्रयोग गर्नु, नदी नालाहरूमा डोजर लगाएर ढुङ्गा गिट्टी उत्खनन् गर्दा यी प्रजातिको बासस्थानमा समेत खलल पुगेको छ ।’ उनले विगतमाझैँ पानी पर्न छाडेपछि सिमसार क्षेत्र मासिँदा जलचरहरू मासिन थालेको बताइन् । पहिलेका तुलनामा हिजोआज १० प्रतिशत मात्र घोंगी पाइने उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्