सहमतिपछि शिक्षकले खोले तालाबन्दी



वीरेन्द्रनगर ।

शिक्षकहरूले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा लगाइएको तालाबन्दी खोलेका छन् । नगरपालिका र आन्दोलित शिक्षकहरूको छलफलपछि सहमति जुटेपछि नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा तथा खेलकुद शाखामा लगाइएको तालाबन्दी खोलेका हुन्।
वीरेन्द्रनगर नगरपालिकामा शिक्षक सरुवालाई लिएर चर्को विवाद सिर्जना भएको थियो ।

नगर शिक्षा ऐन विपरीत सरुवा गरिएको भन्दै शिक्षकहरूले आन्दोलन गरिरहेका थिए । असन्तुष्ट शिक्षक तथा नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरूले वीरेन्द्रनगर नगरपालिकाको कार्यालय अगाडि धर्ना दिनुका साथै नगर शिक्षा शाखामा तालाबन्दी गर्ने गरेको थिए । बिहीबार भएको छलफलपछि शिक्षक सरूवा, दरबन्दी मिलान, विद्यालय मर्ज (गाभ्ने) निर्णय यथावत राख्ने सहमति भएको छ । विवाद देखिएका विषय नगरको हिउँदे अधिवेशनमा संशोधन गर्ने निर्णय भएको छ ।

शिक्षकहरूले आफ्ना व्यक्तिगत समस्या नबुझी केही नजिकका व्यक्तिलाई फाइदा पु¥याउनका लागि सरुवा गरिएको आरोप लगाउँदै आएका थिए । तर, अन्तिममा शिक्षकहरूले यसबारे प्रष्ट भइसकेपछि धारणा परिवर्तन गर्न बाध्य भएका हुन् । यस विषयमा मंगलबार नगरपालिकाले र बुधबार शिक्षकहरूले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आ–आफ्नो दाबीसहितको धारणा राखेका थिए ।

तर, नगरपालिकाले कात्तिक १२ गते गरिएको सरुवाको निर्णय विद्यमान शिक्षा ऐन अनुसार नै भएको भन्दै यसमा हेरफेर नहुने दाबी गरेको थियो । शिक्षक सरुवाको निर्णयमा कुनै गलत स्वार्थ नरहेको वीरेन्द्रनगर नगरपालिकाको दाबी पुष्टि पनि भएको छ । नगरप्रमुख मोहनमाया ढकालले शिक्षकहरूका जायज माग सम्बोधन गर्न नगरपालिका सधैँ तयार रहेको भन्दै अनावश्यक अफवाह फैलाउने काम कोही कसैले नगर्न अनुरोध गरेकी छन् । उनका अनुसार नगरपालिकाले विद्यालय समायोजन, दरबन्दी मिलान र प्रधानाध्यापक व्यवस्थापनमा जोड दिएको छ ।

नगरपालिकाले आफ्नो १० वर्ष शिक्षा क्षेत्र योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको छ । नगर शिक्षा ऐन २०७४ को तेस्रो संशोधन २०८२ नगर सभाबाट स्वीकृत भई राजपत्रमा २०८२ साउन १२ मा प्रकाशित भएको छ । उक्त ऐनको दफा २६ मा प्रधानाध्यापकको व्यवस्थापनमा नगरपालिकाले आवश्यक कार्यविधि निर्माण गरी व्यवस्थापन गर्नेछ भन्ने उल्लेख छ ।

नगर शिक्षा शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्माका अनुसार विद्यालय समायोजन दरबन्दी मिलान तथा प्रअ छनौट तथा व्यवस्थापन सिफारिस समितिको निर्णयलाई २०८२ असोज २७ गते नगर शिक्षा समितिबाट व्यापक संशोधनसहित अन्तिम निर्णय वा रुप दिइएको थियो । नगर शिक्षा समितिको असोज २७ को निर्णयलाई २०८२ कार्तिक १२ गतेको कार्यपालिकाबाट व्यापक संशोधनसहित अनुमोदन गरिएको हो । नगर शिक्षा ऐन २०७४ को दफा २५ को आधारमा विद्यालय समायोजन दरबन्दी मिलान तथा प्रअ छनौट तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०८२ नगर कार्यपालिकाबाट अनुमोदन भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार