नेपालगन्ज ।
नेपालगन्ज विमानस्थलको नवनिर्मित टर्मिनल भवनको निर्माण पूरा भएसँगै नागरिक उड्डयन प्राधिकरणले परीक्षणका रूपमा सञ्चालनको तयारी गरेको छ । अन्तर्राष्ट्रिय मापदण्डमा स्वदेशी ठेकेदार, परामर्शदाता र डिजाइनमा उक्त टर्मिनल भवनको काम डेढ महिना अगावै पूरा भएपछि नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी लगायतको टोलीले शुक्रबार भवनको स्थलगत अनुगमन गरेको थियो ।
विमानस्थलको नयाँ तीनवटा ब्लक बनाएर निर्मित टर्मिनल भवन, विमान पार्किङ क्षेत्र, सवारी साधन पार्किङ, गेष्ट हाउस, ढल व्यवस्थापन, बगैंचा, फुटपात, शौचालय लगायतका संरचना निर्माण सम्पन्न भएका छन् । ‘शर्मा एण्ड कम्पनी’सँग सन् २०२२ डिसेम्बर १६ मा सम्झौता भई गरेर काम अगाडी बढाएकोमा करिब दुई महिना अघि नै निर्माण सम्पन्न भएको हो ।
नवनिर्मित तीन तल्ला भएको भवनमा अण्डरग्राउण्डसहित यात्रु कक्ष, प्रशासनिक कक्ष, विमान कम्पनीका कक्ष, व्यापारिक सटर, शौचालय, भन्सार, अध्यागमन, क्वारेन्टाइन लगायत विभिन्न कक्ष निर्माण गरिएको छ । २ अर्ब ७२ करोड रूपैयाँमा निर्माण भएको कुल ५५ हजार स्क्वायर फिटमा निर्मित उक्त भवनमा प्रतिघण्टा ६ सय ९८ जना यात्रु अटाउन सक्ने क्षमता रहेको छ ।
अनुगमनका क्रममा महानिर्देशक अधिकारीले नवनिर्मित भवन अन्तर्राष्ट्रिय उडानका लागि समेत उपयुक्त हुनेगरी निर्माण गरिएको र अब त्यसका लागि पहल अघि बढाइने बताए । पहिलो चरणमा भारतका केही ठूला सहरहरूमा हवाई उडानको पहल गरिने उनको भनाइ छ ।
नेपालगन्जवासीहरूले पनि नयाँ भवन निर्माण पूरा भएसँगै त्यसको सदुपयोगका लागि भारतका सहरमा पनि उडान सुरु गर्नुपर्ने माग गर्दै आएका छन् ।
भवनमा अन्तर्राष्ट्रिय उडान हुने सम्भावनालाई दृष्टिगत गर्दै घरेलु र अन्तर्राष्ट्रिय उडानका लागि अलग–अलग यात्रु प्रस्थान र आवागमन ढोकाहरू तयार गरिएको छ । नयाँ टर्मिनल भवनभित्र बगैंचाका साथै पाँचदेखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ । टर्मिनल भवनको पेरिफेरिमा ढल निकास तथा बढी भएको पानी निकासका लागि उचित नालाको विकास गरिएको छ भने एटिआर–७२ जहाज ३ वटा र ट्विअटर जहाज ५ वटा एकै पटकमा पार्किङ गर्न मिल्ने व्यवस्था पनि गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्