लुम्बिनीमा एनपीएलको ट्रफी टुर



काठमाडौँ ।

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुरको दोस्रो चरण लुम्बिनीमा सुरु गरेको छ । शनिबार र आज आइतबार सञ्चालन हुने टुरको उद्देश्य लुम्बिनी र बाँकेका विभिन्न स्थानमा पुगेर स्थानीय समर्थकहरूसँग भेटघाट गर्ने र प्रतियोगिताको उत्साह बाँड्ने रहेको बताइएको छ । यो दुई दिन लामो टुरमा लायन्सले लुम्बिनी र बाँकेका प्रमुख सहर र साँस्कृतिक स्थलहरू भ्रमण गर्नेछन् ।

टिमले यस यात्रामार्फत स्थानीय समुदायसँग नजिकको सम्बन्ध बनाउने र क्षेत्रीय गौरव प्रकट गर्ने जनाएको छ । पहिलो दिन शनिबार बिहान भैरहवा विमानस्थलबाट सुरु भएको टुर मायादेवी मन्दिर, सिद्धार्थ रंगशाल, बेलहिया सुनौली, बुद्ध चौक, स्टार क्रिकेट एकेडेमी, मणिग्राम, कालिका नगर, मिलन चौक, ट्राफिक चौक, गोल पार्क र सिद्ध बाबालगायत स्थानहरू भ्रमण गरिएको थियो ।

दोस्रो दिन आज बिहान ७ः०० बजे बेल्बासबाट सुरु हुने टुरले बाँकेसम्मको यात्रा तय गर्नेछ । सो दिन टिमले लमही, घोराही, भालुबाङ, तुल्सीपुर, कोहलपुर र नेपालगन्जको बागेश्वरी मन्दिरलगायत स्थानहरूमा पुग्नेछ । लुम्बिनी लायन्सले यो केवल ट्रफीको यात्रा मात्र नभएर लुम्बिनीको गौरव र नेपाली क्रिकेटको उत्सव भएको जनाएको छ । लुम्बिनीले दोस्रो सिजनका लागि अस्ट्रेलियाका डार्शी शर्ट र इटालीका थोमस ड्राकालाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।

गत सिजनका मार्की तथा कप्तान रोहित पौडेलसँगै सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारीलाई रिटेन गरेको लुम्बिनीले अक्सनबाट दिलिप नाथ, विशाल पटेल र शेर मल्ललाई अनुबन्ध गर्दा विश लिस्टबाट दुर्गेश गुप्ता र आदिल खान अनुबन्ध गरेको छ । एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि सुरु हुँदैछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार