सुर्खेत ।
कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माणका लागि ४२ करोड बजेट विनियोजन गरेको छ । पूर्वाधार निर्माणलाई निरन्तरता दिन बजेट विनियोजन गरिएको हो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार भूकम्पबाट प्रभावित जाजरकोट, रूकुम पश्चिम र सल्यान जिल्लाको निर्माणाधीन विद्यालय तथा सरकारी स्वास्थ्य केन्द्रहरूको पुनर्निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
मन्त्रालयका प्रवक्ता एवम् सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले यो वर्ष पूर्वाधार निर्माणलाई निरन्तरता दिन ४२ करोड १० लाख बजेट विनियोवजन गरिएको जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर पूर्वाधार निर्माण योजनालाई अघि बढाइएको हो । अघिल्ला आर्थिक वर्षहरूबाट पूर्वाधार निर्माण थालिएको छ । सोही योजनालाई सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले बताए ।
‘तीन तहकै सरकार र विभिन्न संघ संस्थाहरूको सहयोगमा केही पूर्वाधार निर्माणका काम सम्पन्न भएका छन् । केही काम निरन्तर रूपमा अघि बढिरहेका छन्’ प्रवक्ता सुवेदीले भने, ‘अत्याआवश्यक निर्माण गर्नुपर्ने पूर्वाधारका काम सरकारले पहिलो चरणमा अघि बढाएको थियो ।’ कर्णाली प्रदेश सरकारले बढी क्षति भएका तीन जिल्लालाई प्राथगमिकतामा राखेर पूर्वाधार निर्माण गरिरहेको छ । यो वर्ष पनि पूर्वाधार निर्माणको निरन्तरका लागि बजेट विनियोजन गरिएको हो ।
केही समय अघि कर्णाली प्रदेश सभाको प्रदेश मामिला समितिले सरकारलाई दश बुँदे सुझाव र निर्देशन दिएको छ । प्रदेश सरकारबाट चालू आर्थिक वर्ष २०८२–०८३ मा थप बजेट विनियोजन गरी सम्बन्धित निकायसँगको समन्वयमा तत्काल कार्यान्वयन गर्नुपर्ने जनाइएको छ । भूकम्प लगत्तैको उद्धार र राहतका लागि निर्माण गरिएका अस्थायी पुल, बाटो आदी संरचनाको भुक्तानी कार्य सम्बन्धित निकायबाट हुनुपर्ने र त्यसका लागि प्रदेश सरकारले आवश्यक कार्य तथा समन्वय गर्नुपर्ने औल्याइएको थियो ।
यसैगरी आर्थिक वर्ष २०८२–०८३ का लागि स्थानीयस्तर तथा जिल्ला तहबाट प्राप्त भएका योजनाहरूको कार्यान्वयन हुनुपर्ने जनाइएको छ । भूकम्पबाट जीर्ण तथा चर्किएका घरमा बसोबास गर्ने नागरिकको पुनःस्थापना र सुरक्षाका लागि आवश्यक कार्य गर्नुका साथै रोजगारी, व्यवसाय र जीविकोपार्जनका लागि सहुलियत कर्जाजस्ता आवश्यक कार्य गर्नुपर्नेमा जोड दिइएको हो । २०८० कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव चार म्याग्निच्युटको भूकम्प गएको थियो ।
भूकम्पबाट सरकारी कार्यालय,विद्यालय, प्रहरी कार्यालय,खानेपानी,सिंचाइ आयोजनामा क्षति पुगेको थियो । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार भूकम्पले सबैभन्दा जाजरकोट र रूकुमपश्चिममा क्षति पु¥याएको छ । पूर्वाधार निर्माण गरेर पहिलेकै अवस्थामा काम गर्नका लागि तीन तहकै सरकार लागि परेका छन् । भूकम्प जाँदा १५४ जनाको मृत्यु भएको थियो, भने ३७२ घाइते भएका थिए । भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको थियो । जाजरकोटमा १०१ र रूकुममा ५३ गरी १५४ जनाले ज्यान गुमाएका थिए । घाइते हुनेहरूमा जाजरकोटका १५८, रूकुम पश्चिमका २०२, दैलेखका तीन जना, सल्यानका दुई जना, कालीकोटका एक जना र जुम्लाका ६ जना गरी ३७२ जना घाइते भएका थिए ।









प्रतिक्रिया दिनुहोस्