तिहारमा फूलको बजारः बाँकेका पुष्प कृषक पलायन, धनगढी प्रोत्साहन गर्दै



वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेमा गतवर्ष करिब डेढ दर्जन कृषकहरू पुष्प खेतीमा आबद्ध थिए । उनीहरूमध्ये अधिकांशले तिहारकै लागि भनेर सयपत्री फूलको खेती गरेका थिए । उनीहरूले उत्पादन गरेका फूलहरू कोहलपुर र नेपालगन्जमा बिक्री हुन्थे । तर भारतबाट निर्बाधरूपमा आयात गर्न दिइएका फूलमाला र प्लाष्टिकका मालासँग प्रतिस्पर्धा गर्न नसक्दा गतवर्ष फूल बिक्री नभएर ठूलो घाटा व्यहोर्नुपरेको किसानहरू बताउँछन् । फलस्वरुपः यसवर्ष बाँकेमा अधिकांश किसानले व्यवसायिक रूपले फूल खेती गरेनन् ।

बाँकेकी अगुवा फूल उत्पादक कृषक एवं बिक्रेता बिन्दु चर्तीमगरले कृषकहरूले गतवर्षको घाटा पूर्ति गर्न नसकेपछि यसवर्ष फेरि फूलखेती गर्ने आँट नआएको बताइन् । ‘म किसानमात्रै नभई बिक्रेता पनि हुँ । मैले नै घाटा व्यहोर्नुपर्याे भने साना किसानहरूलाई कति अप्ठ्यारो प¥यो होला। त्यसकारण यसवर्ष कसैले पनि फूल खेती गर्ने आँट गर्न सकेनौँ । कोही किसानले पनि फूल खेती गरेका छैनन् ।’ चर्तीमगरले बाँकेको सबैभन्दा ठूलो बजार रहेको नेपालगन्ज उपमहानगरपालिकाले फूल खेतीलाई प्रोत्साहन गर्नु त परै जाओस् प्लाष्टिक माला र भारतबाट अवैधरूपमा आयातित मालाहरू पनि रोक्न नसकेर दुरुत्साहन गरेको बताइन् ।

उनले भनिन्, ‘तिहारको बेला सदरलाइनमा मेला लाग्छ । ती मेलामा फूल बेच्नका लागि सरकारले ठाउँ छुट्याउँदैन । पहुँचका भरमा प्लाष्टिकका माला बेच्नेहरूले नै स्टल कब्जा गर्छन् । त्यहाँ बेच्न राखिएका मालाहरू पनि भारतबाट क्वारेन्टाइन नगरी अवैध बाटोबाट ल्याइएका फूलहरू हुन्छन् । अनि यस्तो अवस्थामा किसानहरू पलायन नभएर के गर्ने ?’ बजारका हिसाबले अग्रणी जिल्ला बाँकेमा केही पुष्प कृषकहरू व्यावसायिक बन्ने बाटोमा लागिरहेका बेला सबै किसानहरू पलायन हुने अवस्था आइरहँदा उता सुदूरपश्चिमको धनगढी उपमहानगरपालिकाले भने किसानहरूका हरेक कदममा साथ दिइरहेको छ ।

धनगढीमा १४ जना कृषकहरूले सामूहिकरूपमा ९१ क्ट्ठा जमिनमा फूल खेती गर्ने गरेका छन् । यसबाहेक थप ५ जनाले पनि ४५ कट्ठा जमिनका फूल खेती गरेका धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ । धनगढी उपमहानगरपालिकाले सुरुमा इच्छुक कृषकहरूलाई दुई चरणको तालिम दिएर पुष्प खेतीमा प्रोत्साहित गरेको थियो । त्यसपछि समूह बनाएर खेतीमा आवश्यक प्राविधिक सहयोग र साधनमा अनुदान दिएको उपमहानगरपालिकाले फूललाई सुरक्षित तरिकाले भण्डारण गरेर राख्नका लागि कोल्ड च्याम्बर नै बनाइदिएको छ । स्थानीय कृषक समूहले उक्त च्याम्बरको बिजुलीको बिल पनि तिर्नुपर्दैन ।

धनगढीमा उत्पादन भएको फूलहरू काठमाडौँ हवाईमार्गबाट पठाउनु परे हवाई भाडामा प्रतिकिलो ९० रूपैयाँँमा भाडा लिन एयरलाइन्ससँग समन्वय गरेर त्यसमध्येको पनि ५० रूपैयाँँ भाडा उपमहानगरपालिकाले नै तिरिदिने गरेको कृषि कृषक सुशीला विष्टले बताइन् । अहिले उपमहानगरले प्लाष्टिकका मालाहरू बेच्न प्रतिबन्ध लगाएको र त्यस्ता मालाहरू बिक्रीमा राखेको पाइए कारबाही गरिने सूचना नै जारी गरेको छ। उपमहानगरले फूल माला नै प्रयोग गर्न पनि प्रोत्साहित गरिरहेको छ । नगर प्रहरी खटाएर माइकिङ गराउँदै प्लाष्टिकका माला बिक्रीमा राखेको पाइए कारबाही गरिने सूचना फैलाइरहेको छ ।

यसका साथै फूलमाला बेच्नका लागि बजारका ६ वटा स्थान पनि तोकिदिएको कृषक विष्टले जानकारी दिइन् । धनगढी उपमहानगरपालिकाकै वडा नम्बर ९ मा कृषि अध्ययन गरेका अछामका रोशन साउँद र दशरथ साउँदले व्यावसायिक पुष्प खेती गर्दै आएका छन् । देशभर कृषकहरूको सञ्जाल बनाएर खेती गरिरहेका रोशनले पनि धनगढी उपमहानगरपालिकाले किसानहरूलाई प्रोत्साहनदेखि बजारको वातावरण बनाउनेसम्म उदाहरणीय काम गरेको बताए । ‘हामीले त अनुदान नलिने नै नीति लिएका हौँ । तर अनुदान लिनुपर्नेलाई उहाँहरूले अनुदान दिनुभएको छ । तालिम दिनुभएको छ । अनि बजारमा प्लाष्टिक र भारतबाट आउने मालालाई रोक्ने काम गर्नुभएको छ ।

किसानहरूलाई यो नै ठूलो आड भरोसा हो,’ रोशनले भने । बाँकेका कृषकहरू पलायन हुँदा र धनगढीले पुष्प कृषकहरूलाई प्रोत्साहन गरिरहँदा दाङका किसानहरू स्थानीय सरकारले प्लाष्टिकका माला र भारतबाट आयातित फूललाई रोक्न नसक्दा आफूहरू मर्कामा परिरहेको बताएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिंगौराका लोकेन्द्र रोकामगरले पनि डेढ बिघा जमिनमा फूल खेती गर्दै आएका छन् । यसवर्ष ५० क्विन्टल फूल उत्पादन भएको उनले बताए । उनले दाङ जिल्लामा करिब डेढ दर्जन कृषकहरू फूल खेतीमा रहेका बताए ।

तर, घोराही उपमहानरसँगको छलफलमा उपमहानगरका प्रतिनिधिहरूले बजारमा आइसकेका प्लाष्टिक माला बिक्री गर्न नदिँदा ती माला बेच्ने व्यापारीहरू मर्कामा पर्ने भएकोले हाललाई प्लाष्टिक माला रोक्न नसकिने बताएको रोकामगरले उल्लेख गरे । प्लाष्टिक माला र भारतबाट आउने सस्तो फूलका कारण स्थानीय किसानका फूलहरू बिक्री नहुने जोखिम रहेको रोकामगरको भनाइ छ । स्थानीय सरकारहरूले बनाएका नीति तथा कार्यक्रमका साथै उनीहरूका सम्बन्धित ऐनहरूमा पनि प्लाष्टिक प्रतिबन्ध गरिने व्यवस्था गरिएको छ ।

तर, अहिले तिहारको बेला बजारमा प्लाष्टिककै मालाहरू बेच्न राखिएका छन् । पुष्प खेतीमा लागेका कृषकहरूलाई सम्बन्धित स्थानीय तहहरूले प्रोत्साहनको काम नगरेको कृषकहरू बताउँछन् । कृषकहरू लागत र बजारीकरणमा स्थानीय सरकारको सहयोगको अपेक्षा रहेपनि नपाइएको बताउँछन् । सरकारी सहयोग नहुँदा लागत धेरै पर्ने र भारतबाट आयात हुने फूलसँग प्रतिस्पर्धा गर्न नसकिने अवस्था रहेको उनीहरू बताउँछन् ।

नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले धनगढी, काठमाडौँ लगायतका केही स्थानीय तहले पुष्प कृषकहरूलाई प्रोत्साहनमा उल्लेखनीय काम गरिरहेको त्यसलाई अन्य स्थानीय तहले सिक्नुपर्ने बताए । एसोसियसनले प्लाष्टिकका प्रतिबन्धित मालाको बिक्री रोक्न र अवैध आयात रोक्न नीतिगत तहमा निरन्तर पहलकदमी लिइरहेको बताउँदै त्यसलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

देशभर बढ्दै छ माग र उत्पादन

तिहारमा देशभर एकैपटक हुने फूलको माग भने बर्सेनि उकालो लाग्दैछ । पछिल्लो समय व्यावसायिक रूपले पुष्प खेतीमा कृषकहरू लागेपछि फूलको उत्पादन पनि वृद्धि भइरहेको पुष्प व्यवसायीहरूको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनको दाबी छ । नेपालमा फूल उत्पादन बढ्दा अहिले फूलको ९० प्रतिशत माग स्वदेशकै उत्पादनकले धान्ने अवस्था आइसकेको एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार यस वर्षको तिहारमा ४० करोड रूपैयाँँ बराबरको फूल तथा मालाको कारोबार हुने अनुमान गरिएको छ । गत वर्ष ३७ करोड बराबरको फूलको कारोबार भएको उनले बताए । भाइटीकामा ४६ लाख फूलको माला खपत हुने अनुमान गरिएको श्रेष्ठले बताए । गत वर्ष ४५ लाख फूलको माला खपत भएको थियो । जसमा ३ लाख बढी मखमली फूलको माला खपत हुने अनुमान गरिएको छ । मखमली मालाको औसत थोक मूल्य ४५ रूपैयाँँ रहेको छ । मखमलीको भने सबै माग आन्तरिक उत्पादनले धान्ने अनुमान गरिएको श्रेष्ठले जानकारी दिए ।

गतवर्ष तिहारमा देशभर ४० लाख सयपत्री फूलको माला खपत भएकोमा यस वर्ष पनि सोही हाराहारीमा खपत हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । यस वर्ष सयपत्री फूलको मालाको औसत मूल्य ८५ रूपैयाँँ रहने देखिएको छ । गत वर्ष यस्तो मूल्य ८० रूपैयाँँ थियो ।एसोसिएसनका अनुसार नेपालमा हरेक वर्ष पुष्पखेती फैलिँदै गएको खेती र उत्पादन बढेसँगै पुष्प कारोबार पनि वृद्धि भइरहेको छ । देशमा मुख्यगरी काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, चितवन लगायतका जिल्लामा व्यावसायिक खेती राम्रो रहेको एसोसियसनले जनाएको छ ।

श्चिम नेपालको रुपन्देही, दाङ, पाल्पा र कैलालीमा व्यवसायिक फूल खेती भइरहेको अध्यक्ष श्रेष्ठले बताए । फूल खेती बिस्तारका लागि पश्चिम नेपालमा सयपत्रीबाहेक कस्ता फूल लगाउनु उपयुक्त हुन्छ भन्नेमा एसोसियसनले अध्ययन गरिरहेको पनि उनले बताएका छन् । मखमली फूल कहिले न ओइलिने भएकोले यसलाई दिर्घायु र स्वस्थ जीवनको प्रतीकको रूपमा लिइन्छ । त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदिबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइदिन्छन् । जसका कारण मखमली फूलको माग पनि बढी मात्रामा हुने गरेको हो ।

तिहारमा दिदी–बहिनीले दाजु–भाइलाई लगाउने मालाका साथै देवताको सजावट, गाई, कुकुर आदिलाई माला लगाउन फूलको माग बढ्ने गर्छ। फूललाई हिन्दू धर्ममा शुभ र पवित्र मानिन्छ । फूलमालाले वातावरणमा सुगन्ध र सौन्दर्य ल्याउँछ, जसले नकारात्मक ऊर्जा हटाएर सकारात्मकता ल्याउने विश्वास छ । तिहारमा लक्ष्मी पूजा, गौपूजा, कुकुर पूजा, भाइटीका आदि सबैमा फूलमाला अनिवार्य हुन्छ । भाइटीकाको दिन दिदी–बहिनीले दाजुलाई माला लगाउँदा परस्परको सम्बन्ध, माया र विश्वास अझ प्रगाढ हुने मान्यता रहीआएको छ ।

रोशन र दशरथको उदाहरणीय फूल खेती

कृषि विषय पढेका अछामको मेल्लेख गाउँपालिका घर भएका रोशन साउँद र दशरथ साउँदले धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा लोभलाग्दो फूल खेती गरिरहेका छन् । विशेषगरी सयपत्री फूलको उत्पादन गरिहेका उनीहरू १० वर्षदेखि कृषि पेशामा छन् । उनीहरूले अहिले कपिलवस्तुका भास्कर पङ्गेनीसँग मिलेर व्यावसायिक फूल खेती गरिरहेका छन् ।

उनीहरूले धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटानमा दुई बिघा जग्गा लिजमा लिएर व्यावसायिक पुष्प खेती सुरू गरी यसवर्ष सयपत्रीका एघार हजार बिरुवा रोपेका उनीहरूले १६ हजार माला बिक्री गर्ने लक्ष्य लिएको बताएका छन् । अहिले आफूहरू फूल टिप्ने र माला बनाउने काममा जुटिरहेको बताउँदै रोशनले भने, ‘हामीले काम पनि सिर्जना होस् भनेर माला बनाउने काममा स्थानीय आमा दिदी बहिनीहरूलाई रोजगारी पनि दिएका छौँ ।’

पङ्गेनीसँग मिलेर ‘१०८ दि डिभाइन एग्रो फार्म’ स्थापना गरी धनगढी र कोहलपुर ग्रिन सिटीसहित चार स्थानमा व्यावसायिक कृषि गरिरहेको रोशनले बताए । दुई बिघा दुई कट्ठा जग्गा भाडामा लिएर गरेको पुष्प खेतीबाट राम्रै आम्दानी भइरहेको रोशनले बताए । अहिले फूलेको बिरुवाले मंसिरसम्म उत्पादन दिने र त्यसपछि स्ट्रबेरी खेती गर्ने योजना रहेको उनले जानकारी दिए । सयपत्री फूल चाहिए मोबाइल नम्बर ९७६५४४२९८० मा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।

कृषक साउँद कृषकहरूको सञ्जाल र बजारीकरणमा साझेदारी गर्ने हो भने फूल खेतीमा धेरै राम्रो सम्भावना रहेको बताए । उनले उदाहरण दिँदै भने, ‘बाँकेमा धेरै किसानले प्लाष्टिकका माला र भारतबाट डाला र साइकलमा बोकेर ल्याउने फूलका कारण स्थानीय बजारमा प्रतिस्पर्धा गर्न नसकेको यसवर्ष खेती गर्नुभएन । तर हामीले बाहिर पनि पठाउने भएकोले हामीले खेती गर्न हिच्किचाएनौँ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २ गते आइतबार