विकल्पको खोजीमा खरानी बनेका सरकारी कार्यालय



वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँके र बर्दिया जिल्ला कार्यक्षेत्र रहेको नेपालगन्ज गणेशमानचोकस्थित आन्तरिक राजस्व कार्यालयमा भदौ २४ गते प्रदर्शनका क्रममा आगजनी गरियो । आगजनीका कारण दुई दिनसम्म लगातार जलेको उक्त भवन कार्यालयको चारतले मुख्य भवन बस्नलायक नरहेको प्रारम्भिक प्राविधिक परीक्षणबाट थाहा हुन आएको छ । जलेका सामानका अवशेषहरू कार्यालयको प्रांगणमै थुप्य्राइएका छन् ।

सबैजसो कागजात र साधनहरू जलेर खरानी भएको उक्त कार्यालयका कर्मचारीहरू हात बाँधेर भने बसेनन् । कार्यालयले सेवाग्राहीलाई सेवा दिने वैकल्पिक उपाय खोज्यो । कार्यालयकै छेउमा रहेको अर्धजलेको क्वार्टरको भुइँतलाका दुई कोठामा पाँचवटा टेबल राखेर कार्यालयले करसम्बन्धी सेवाहरू सञ्चालन गरिरहेको छ । कार्यालयका कर अधिकृत उदय केसीले बचेखुचेका कम्प्युटर र टेबलहरू राखेर सेवा प्रवाहको वैकल्पिक उपाय खोजिएको बताए ।

उनले अहिले कार्यालयले अडिट रिपोर्टसम्बन्धीका कामबाहेक सबै कर संकलनसम्बन्धीका सेवाहरू सुचारु रहेको जानकारी दिए । कार्यालयका जलेका दस्ताबेज र अन्य स्रोतसाधनका सम्बन्धमा आउँदै जाने निर्देशनअनुसार गरिने भएपनि सेवा सञ्चालनका लागि आदेश कुरेर नबसेको केसीले बताए । कार्यालयले अहिले सेवा सञ्चालन गरिरहेको कोठाहरू साँघुरो रहेका छन् । जहाँ कर्मचारीहरूलाई नै बस्नका लागि टेबल राख्न नमिल्ने अवस्था छ ।

त्यही अवस्थालाई ध्यानमा राखेर कार्यालयले पहिले पार्किङ्ग सेड रहेको ठाउँमा अस्थायी टहरा निर्माणको काम पनि सुरु गरिसकेको छ । ‘अहिले हामी कर्मचारी नै बस्ने ठाउँ छैन । भएको भवन बस्न नमिल्ने भनिएको छ । त्यसकारण आदेश कुरेर बस्नेभन्दा पनि अहिले हामीसँग रहेको अधिकार प्रयोग गर्दै वैकल्पिक व्यवस्था तयार गरेर भएपनि सेवा सुचारु गर्नुपर्छ भनेर काम सुरु गरेका हौँ,’ केसीले मंगलबार मिसन टुडेसँग भने ।

आन्तरिक राजस्व कार्यालयले वैकल्पिक व्यवस्था गरेर सेवा सुचारु गरिसक्दा धेरै सेवाग्राहीको चाप हुने जिल्लास्थित भूमिसुधार तथा मालपोत कार्यालय भने अझै कहाँबाट सुरु गर्ने अन्यौलमा छ । किनकी कार्यालयसँग रहेको एकमात्र भवन आगजनीले बस्नका लागि अनुपयुक्त अवस्थामा पुगेको छ । कर्मचारीहरू बस्ने ठाउँसमेत छैन । मंगलबार कार्यालयका कर्मचारीहरू पार्किङ्ग सेडमुनि रहेका फलामका बेञ्चमा बसिरहेका थिए ।

कार्यालयका प्रमुख सविनसिंह चौधरीले अहिले आफूहरू मन्त्रालयबाट भाडाको घरमा कार्यालय सञ्चालनका लागि अनुमति कुरेर बसिरहेको बताए । कार्यालय भवन बस्न नमिल्ने भनेर प्राविधिकहरूले चेतावनी दिएपछि कार्यालयको वैकल्पिक व्यवस्थाका लागि नयाँ भवन खोज्नुपर्ने अवस्था आएको चौधरीले बताए । उनले भने, ‘मैले मन्त्रालयमा गएर सबै कुरा जानकारी गराइसकेको छु । सम्भावित भवनहरूको पनि खोजी गरेर विवरण पठाएका छौँ । त्यसमा निर्णय भएर आयो भने हामी आधारभूत सेवाहरूबाट सेवा प्रवाह सुरु गर्न सक्छौँ ।’

उनका अनुसार अहिले कार्यालयसँग रहेको बजेटबाट र सहयोग आह्वान गरेर फर्निचर तथा कम्प्युटरजस्ता साधनहरूको व्यवस्थापन गर्ने तयारी गरिएको छ । मालपोत कार्यालयकै सेवासँग जोडिएको नापी कार्यालयका कागजात र साधनहरू पनि जलेर खरानी भएका छन् । कुनैपनि साधन नबचेको उक्त कार्यालयको भवन प्राविधिक परीक्षणपछि केही मर्मतसम्भार गरेर बस्न मिल्ने अवस्थाको रहेको पाइएको छ । त्यसैकारण भवनको पुननिर्माणका लागि आवश्यक निर्णग गरिदिन मन्त्रालयमा अनुरोध गरिएको र मर्मतपछि मात्रै कार्यालय सञ्चालनका अन्य तयारीहरू गरिने कार्यालयका निमित्त प्रमुख नापी अधिकृत राजेन्द्र थापा बताए ।

‘कार्यालयले सेवा दिन अझै लामो समय लाग्ने देखिन्छ । हामीले मन्त्रालयमा चाँडो प्रक्रिया अघि बढाइदिन निरन्तर प्रयास भने गरिररहेका छौँ,’ थापाले भने । कार्यालयका सबै कामहरू अनलाइनमा आधारित भएको र मालपोतसँग पनि जोडिएको धेरै प्राविधिक कुराहरूको बन्दोबस्तपछि मात्रै सेवा दिन सकिने थापाले जानकारी दिए । जिल्लास्थित दुवै अदालतहरू पनि आगजनीपछि खरानी बनाइएका छन् । यी अदालतमा रहेका मिसिल, पुराना दस्ताबेजहरू जलाइएका छन् ।

अनलाइन सर्भर ध्वस्त बनाइएको छ । अहिलेसम्म यी दुवै अदालतको खरानी सफाइ गरिएको छ र बन्दी प्रत्यक्षीकरण र थुनुवाहरूको म्याद थपसम्बन्धी कामहरू मात्रै भइरहेका छन् । दसैँ बिदापछि कर्मचारी र न्यायाधीशहरू अदालतमा हाजिर हुनै बाँकी छ । अब कसरी अघि बढ्ने भन्ने विषयमा अदालतले बार र कानुन व्यवसायीसमेतसँग छलफल गरी निष्कर्षमा पुगिने जानकारी दिएका छन् । उच्च अदालत नेपालगन्जका सूचना अधिकारी बलबहादुर विष्टले बुधबार फुल बेञ्च र बार प्रतिनिधिसँगको बैठक आह्वान गरिएको जानकारी दिए ।

उक्त बैठकपछि अब थप सेवा सञ्चालनका लागि अपनाउन सकिने उपायबारे छलफल गरी निष्कर्ष निकालिने तयारी भएको उनले बताए । जिल्ला अदालतले पनि छलफलपछि थप सेवा सुरु गर्ने सम्बन्धमा निष्कर्ष निकालिने जानकारी दिएको छ । धेरै सेवाग्राहीहरू रहेको यातायात व्यवस्था कार्यालयको त विभागमै रहेको डाटा सेन्टरमा आगजनी भएकोले सवारी चालक अनुमतिपत्र र सवारी दर्तासम्बन्धी सबै सेवाहरू बन्द गरिएका छन् ।

तर, कार्यालयले सवारी दर्ता नवीकरण, बाटो इजाजतसम्बन्धी सेवा र सवारी जाँचपाससम्बन्धी सेवा दिइरहेको कार्यालयका वरिष्ठ शाखा अधिकृत कालीदास बस्यालले जानकारी दिए । यता नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय अझै पार्किङ्ग सेड चाइना एडले दिएको टेन्टमुनि डेस्क राखेर सञ्चालन भइरहेको छ । कार्यालय भवन आवश्यक मर्मतपछि मात्रै प्रयोग गर्नमिल्ने भनेर पहेँलो स्टिकर टाँसिएको छ ।

अहिले अत्यावश्यक सिफारिस, सामाजिक सुरक्षा तथा पञ्जीकरण, स्वास्थ्य शाखातर्फका सेवाहरू सञ्चालन भइरहेका छन् । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले भवनको प्रयाग गर्न मिल्ने कक्षहरूमा सामान्य मर्मतसम्भार गरेर कार्यकक्षहरू सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेपालगन्जका एक दर्जनबढी सरकारी कार्यालयमा आगजनी, तोडफोड तथा लुटपाट गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २२ गते बुधबार