कथाः सम्झौता



चरित्रा शाह ।

दिनको चर्को घाम, रुखमुनिको शितल छायाँमा म बसिरहेकी छु । जस्तो छहारीमा बसे पनि जति शितलता महसुस गर्न खोजे पनि मेरो मन तातिरहेको छ । मन सेलाउन सकेको छैन । दुवै हात निधारमा अड्याएर म बसिरहेको छु मानौं मुहारमा बादलका धर्सा कोरिएका, आँखा पर क्षितिजमा टोलाइरहेका, कतिखेर लामो सुस्केरा त कतिखेर दीर्घ श्वास, मन उथलपुथल, विचारका लाखौँ तरङ्ग उठिरहेका । आन्नाले घरको गेट खोली र भित्र प्रवेश गरी । मुस्कुराउँदै नजिक आई तर म उसलाई हेरेर मुस्कुराउन सकिनँ । चाहेर पनि मेरा ओठहरू खुल्न सकेनन् । मैले कुनै जवाफ दिइनँ, न भावबाट न शब्दबाट । म कुनै कल्पनाको संसारमा हराइरहेझैं गरेँ, म निदाएझैँ गरेर बसिरहेँ आफ्नै सुरमा । सायद आन्ना मेरो त्यस्तो व्यवहार देखेर छक्क परी । ऊ केही बोलिन, चुपचाप मतिर हेरिरही ।

हिँजै मात्र म बुवाआमालाई भेट्न गाउँमा गएको थिएँ । मेरो बुवाआमा मातातीर्थमा बस्नुहुन्छ । त्यहीँ हाम्रो पुरानो घर छ । गाउँमा जाँदा म जुन अवस्थामा गएको थिएँ आज त्यो अवस्थामा छैन । मेरो रूपरङ सबै फेरिएको जस्तो लागेको छ । मभित्रको हर्षोल्लास र स्फूर्ती सबै हराएको छ, मानाँंै मेरो हृदय ओइलाएको छ । आन्नालाई हेरेर सदाझैँ मेरो मन फक्रिन सकेको छैन । आन्नाको हसिँलो मुहार सँधै मुस्कुराइ रहने ओँठ देखेर जस्तोसुकै कष्टमा पनि खुल्ने मेरा ओँठहरू आज खुल्न सकिरहेका छैनन्।

आन्नाले सोधी, “अमिर के भयो ?”
मैले ऊतिर हेरेँ र भनेँ, “केही होइन ।”
उसले सोधी, “कतिबेला आयौ ?”
मैले भनेँ, “दुईघण्टा भयो ।”
उसले सोधी, “खानाखायौ ?”
मैले भनेँ, “गाउँबाटै खाएर आएँ ।”
“बाआमालाई सञ्चै छ ?” उसले सोधी ।
मैले भनेँ, “अँ ! ठिकै छ सबैलाई ।
पुनः उसले सोधी, “अरू के छ त गाउँको खबर ?”
मैले अलिक झिजो मान्दै छोटकरीमा उत्तर दिएँ, “ठिकै छ ।”

मैले जवाफ त दिएँ आन्नाका सबै प्रश्नहरूको तर मन भारी पारेर । बाध्यताले झैँ, या भनौँ बोल्न अमन गरी गरी । मेरो बोलीमा कुनै उत्साह थिएन, न थियो कुनै उर्जा । सँधैको भन्दा भिन्न थियो बोली । उत्तरको शैली पनि भिन्नै । केही त अवश्य पनि ठिक छैन । मलाई यस्तै आभाष भैरहेको छ। केही कुराले तिमीलाई पिरोलिरहेको छ । “भन न भन के भएको छ ? सुखदुःख बाँड्नु पर्छ एकअर्कामा । तिम्रो सुखदुःख बुझ्न नसके म साथी के साथी ?” आन्नाले पुनः आफ्नो उत्सुकता व्यक्त गरी । मलाई भित्रभित्रै रिस उठ्यो तर बाहिर देखाइनँ । मनमनै भनेँ कति बोलेको होला ? तर मुखले व्यक्त गरिनँ, मौन रहेँ । आन्नाले यो कुराको केही आभाष पाई कि पाइन थाहा भएन तर फेरि सोधी, “के भयो सञ्चो भएन ? टाउको दुख्यो ?” म केही बोलिन । चुपचाप हेरिरहेँ ।

आन्नालाई तिखा शब्दवाणभन्दा पनि कठोर लाग्थ्यो मेरो मौनता । उसले बुझेकी थिई मेरो मौनता गहिरो पीडाको सङ्केत हो । आन्ना भन्सातिर पसी, म एक्लै घोरिएर बसेँ । केही बेरमै आन्ना पानीको गिलास लिएर बाहिर आई । मलाई सारा कुराको बेलीविस्तार लाउन मन थियो, दिल खोल्न मन थियो, टाउको दुखेको हैन मन दुखेको हो भन्न मन थियो तर भनिनँ । मैले सोचेँ, सुन्नेले नसुनेपछि बोलेर मात्र के गर्नु ? खानेले कुरा नखाएपछि कुरा राखेर पनि के गर्नु ? कति दिन मन खोलेँ कति आँसु पोखेँ, कति बिन्ती बिसाएँ, कति रहर देखाएँ कति इच्छा र अभिलाषाहरू जाहेर गरे,ँ निरर्थक केवल निरर्थक । छुनु पर्नेको दिल नछोएपछि, धुनेले मैला नधोएपछि, पुछ्नेले आँसु नपुछेपछि, थाम्नेले यो मन नथामेपछि, बाँड्नेले सुख दुःख नबाँडेपछि, साट्नेले खुसी नसाटेपछि कस्को के लाग्छ र ?

“भयो भयो फाल्दैन, तोलाको बचन खोला ।” कुन तरिकाले सम्झाऔँ ? कुन शब्दले सम्झाऊँ ? म शैलीहीन, म शब्दहीन, म उपायहीन । असफल ! असफल ! असफल । कैयौँ पटक आफैसँग हारेँ, चाहेरभन्दा बढी नचाहेरै मन मारेझैँ गरेँ । जित्न जानिनँ आफैँलाई, आफ्नै मनलाई र आफ्नै आफन्तलाई । मूल सुकेको पँधेरोमा हात थापेर पानी कहाँ आउँछ र ? पातबिनाको रुखले छहारी कहाँ दिन्छ र ? सबैभन्दा पहिला त सुकेको मूल जगाउनु छ । पर्खनु छ, पानीको मूल फुट्न वर्षात् आउनुपर्छ, रुखमा पात पलाउन शिशिर जानुपर्छ र बसन्त आउनुपर्छ । मेरो मनभित्र भावनाको समुन्द्र उर्लेको छ । मैले बसन्त सम्झिएँ, शिशिर सम्झिएँ, मैले दिन सम्झिएँ, रात सम्झिएँ । फूल सम्झिएँ, काँडा सम्झिएँ, अन्ततः जीवन सम्झिएँ, संसार सम्झिएँ । घोल्दाघोल्दै भाव तरङ्गहरू थोरै भए पनि विचारको नौनी निस्कयो अनि सानो आशाको बत्ती बल्यो ।
आन्ना हातमा पानीको गिलास समातेर मतिर आउँदै थिई । ममा भने भावहरू आउने जाने, सम्झिने बिर्सने, कतिखेर आँखा डुलाउने, कतिखेर आँखा टोलाउने भैरहेको थियो ।

हिजो घरमा गएको बेला आमाले भन्नु भएको थियो, “सबै छोराछोरीबाट सन्तोष छ, तेरो मात्र केही असन्तोष भयो । तेरो पनि एउटा सन्तान भैदिए शान्तिले मर्ने थिएँ । देश खोजी बगाल रोजी विदेशीसँग बिहे गरेर ….।” आमाका यिनै शब्दहरू मेरो कानमा गुञ्जिरहे । कि त बिहे नै नगर्नू, बिहे गरेपछि त बच्चा जन्माउनु पनि जीवनको महŒवपूर्ण परीक्षामा पास हुनु हो । त्यसमाथि दाइले पनि थपेका थिए यी दुई वाक्यहरू । यी दुईचार वाक्यहरूले नै मेरो मन हल्लाउन सफल भैदिए । मन बिगार्न धेरै कुरा गर्नु पर्दैन, दुई शब्द भए पुग्छ । पोल्नलाई आगोको लप्को चाहिँदैन सानो फिलिङ्गो भए पुग्छ । यिनै दुई वाक्यहरूले मलाई पोलिरहे ।

यो विवाह, यो सम्बन्ध, सम्झन्छु स्वजातका स्वदेशका साथीहरू पनि थुपै्र थिए । थुप्रैसँग बिहेको कुरा चलेको हो । मन पराउनेहरू पनि थुप्रै थिए। मैले पनि मन पराएको थिएँ कतिलाई । तर पनि के भयो भयो ? हाम्रो मन खुल्नै सकेन, लगन जुर्न सकेन । धर्म, संस्कार, जातभात, देशभेष सबै मिल्ने थिए । थिएनन् कुनै बाधा अड्चनहरू तर पनि बिहेमा मेरो मन गएन । ओँठहरू खुल्न सकेनन्, जिब्रो चल्न सकेन । जब आन्नासँग भेट भयो मेरो मन त्यसै त्यसै ऊतिर जोडिन थाल्यो । जोडिन चाहेर होइन, नचाहेरै मन जोडियो । हात तान्न खोज्दा खोज्दै हात जोडिए । थाहै भएन । खै कसरी जोडियो हाम्रोे सम्बन्ध । न आमा, न बाबा, न कूल खान्दान सबै बिर्सिएँ । सम्झिए पनि बिर्सिएझैँ गरेँ । मेरो मनलाई छेक्न सकेन कुनै कुराले । न आमाको आँसुले न बाबाको रिसले । न समाज न संस्कृति, न रीतिथिती, न मेरो विवेकले । मेरो मनको अगाडि सर्वप्रथम म आफैंले हारेँ र अन्य सबै कुराले हारे । मलाई लाग्छ सायद जन्म, मृत्यु र विवाह हाम्रो वशमा छैनन् । यो विवाह भन्ने कुरा देखेर नहुने, रोजेर नहुने खोजेर पनि नहुने ।

म नेपाल सरकारको एक सूचना अधिकृत, आन्ना विदेशबाट नेपालमा भैरहेको द्वन्द्वबारे अध्ययन गर्न आएकी अध्येता । उसले एक दशकदेखि नेपालको द्वन्द्वबारे अध्ययन गरिरहेकी थिई । सोही अध्ययनको क्रममा सूचनाको खोजी गर्दै आउँदा पहिलो पटक हाम्रो भेट भएको थियो । हामीहरूको विवाह भएको पनि आठ वर्ष पूरा भैसकेको छ । दाइका छोराछोरीहरू काकुकाकु गरी काखमा तेर्सिन्छन् । यताउता दर्गुछन् । मेरो मन भित्रभित्रै लोभिन्छ । म कल्पना गर्छु, मेरा पनि यस्तै भुराभुरी भैदिए …। सोच्न त मैले पनि धेरै सोचेको हो सन्तानको विषयमा । मेरो मनले खोजेकै हो आफ्नो रक्तवीज उमार्न यस धर्तीमा तर आन्नाको सोँच भिन्नै थियो ।

“देशमा क्रान्तिको राँको बलिरहेको छ । चारैतिर रक्तपात, हत्या, हिंसा, युद्धको भय, आतङ्क मच्चिरहेको छ, के बच्चा जन्माउनु ? जो आफ्नै जीवनको ठेगान छैन । थुप्रै अनाथ छन् । सहारा विहीन भएका छन् । कसैलाई मातृशोक, कसैलाई पितृशोक, कसैलाई सन्तानशोक, आतङ्क नभए एक सुर्ता, भएपछि सय सूर्ता ।” आन्नाका यस्तै विचारमा सम्झौता गर्न विवश थिएँ म पनि । मन मारीमारी सहमति जनाएको थिएँ तर अहिले मेरो मन बेस्सरी हल्लिएको छ । मेरो मनभित्र कुण्ठित बाबा बन्ने चाहना पुनः जगृत भएको छ । आन्नाले पानीको गिलास टेबलमा राखी र पानी पिउने आग्रह गरी र आफूले अङ्ग्रेजी पत्रिकामा आँखा दौडाउन थाली । उसका आँखाहरू पत्रिकामा दौडिए पनि उसको मन भने मतिरै दौडिरहेको आभाष भैरहेको थियो । उसले कति बेला कति बेला मतिर पुलुक्क हेर्थी र पुनः पत्रिकामा आँखा लगाउँथी । ऊ आश्चर्यमा थिई मेरो रूपरङ्ग र व्यवहार देखेर ।

मैले पानीको गिलास हातमा लिएँ । एकै सासमा पानी तनक्क पिएँ । ममा आशा र निराशाको अन्र्तद्धन्द्व चलिरहेको थियो । म भनुँ र नभनुँको दुुविधामा बसिरहेको थिएँ । कसरी भन्ने, कहाँबाट कुरा उठाउने ? म साँेचिरहेको थिएँ । दिन पनि ढल्किँदै गए, सूर्यले पनि बिदाईको रातो लाली छर्दै थिए । हामीलाई चिसो हावाले स्पर्ष गर्दै थियो । अमिर जाऔँ भित्र भन्दै आन्ना जुरुक्क उठी । म पनि उठेँ । हामी दुवै घरभित्र पस्यौँ । मैले टिभिको स्विच अन गरेँ र एनिमल प्लानेट च्यानल लगाएँ । त्यहाँ वनस्पति शास्त्रको अध्ययन नामक एउटा कार्यक्रम प्रसारण भैरहेको थियो । हामी दुवैका आँखा टिभितिर केन्द्रित हुँदै थिए । त्यति बेला हामी दुवै मनोवाद र मनोद्वन्द्वबाट विस्तारै टिभितर्फ मोडिँदै थियौँ ।

आन्ना हेर त ती रुखहरू कति हरिलाभरिला ! मायाका पोकाहरूले चारैतिरबाट घेरेका । मैले फलफूल लटरम्म परेको रुखको दृष्यतिर देखाएँ । आन्नाले त्यो दृष्य हेरी र ओ माई गड भन्दै जिब्रो टोकी । कति ठूलो भारी ?उभिनै पनि कति गाह्रो ? थिचिएको, मिचिएको, चल्नै नसक्ने । यस्तो जीवन पनि के जीवन ….? आन्नाले फलफूलविहीन रुख देखाउँदै भनी ऊ हेर त त्यो वृक्षको स्वतन्त्रता । ठाडो शिरले ठडिएको । न थिचाई न मिचाई न कुनै बन्धन, न भारी । मैले जुन वृक्षलाई जुन रूपमा देखाउन खोजेँ उसले त्यही वृक्षलाई मेरोभन्दा भिन्न रूपमा बुझी र आफ्नो विचार व्यक्त गरी । मलाई भित्रैबाट हाँसो उठ्यो । म अट्टाहसले हाँसेँ । आन्ना पनि हाँसी । यतिबेला मेरो मनभरिको कुण्ठा हाँसोसँगै निस्कयो र मनबाट भाग्यो । केही क्षणमा हाँसो थामियो । मन पनि हलुका महसुस भयो ।

मलाई अचम्म लाग्छ आन्नाको स्वभाव देखेर । बच्चाबच्ची भनेपछि हुरुक्कै हुन्छे । सँगै खेल्न र रमाउन मन पराउँछे । फुर्सतको समयमा छरछिमेकका केटाकेटी जम्मा गर्छे । मिठोमिठो पकाएर खुवाउँछे अनि गफगर्दै पार्कतिर घुमाउन लैजान्छे । त्यतिबेला ऊ साहै्र खुसी देखिन्छे । त्यो क्षणमा मैले उसलाई देख्छु ऊभित्र एउटा कोमल हृदय छ जो मातृ वात्सल्यले भरिएको छ । ऊ अरूका बच्चालाई यति भेरै माया गर्छे तर आफू भने बच्चा जन्माउन मान्दिन । म अनभिज्ञ छु अझैसम्म । यत्रा वर्षसम्म पनि मैले उसलाई जान्न र बुझ्न सकेको छैन । एकछिनपछि मैले आन्नाले देखाएको वृक्षलाई सङ्केत गर्दै भनेँ, “एक्लो रित्तो निरस । जिउँदो भएपनि सुकेको काठ जस्तै । मैले पुनः फलफूलको वृक्ष देखाउँदै भनेँ उसको वरिपरि सबै छन् । सहारा बनेर, पहरा बनेर बसेका छन् । वृक्षको धर्म फूल्नु फल्नु हो । प्रकृतिले आफ्नो सृजना धर्म निभाउनुपर्छ । यदि माटोमा उमार्ने शक्ति हुन्थेन भने संसारमा त्यसको कुनै अस्तित्व हुने थिएन ।

अब त बुझ्यौ मलाई के भएको छ ?” उसले भनी, “अहँ बुझिनँ । कुरो नघुमाएर भन, कुरा केहो ? के भएको छ ?” मैले भनेँ, “प्रकृति विरुद्ध गयौँ हामी, त्यही पीडा हो ।” उसले भनी, “प्रकृति विरुद्ध भन्नाले ?” मैले भनेँ, “मार्नु हुँदैन सिर्जना शक्ति आफूभित्रको ।” त्यसपछि आन्ना केही बोलिन, कुनै वादप्रतिवाद समर्थन वा विरोध केही गरिन । मैले पुनः भनेँ, “अब त कुरो बुझ्यौ ?” उसले मुन्टो हल्लाएर बुझेको सङ््केत गरी र साँेचमग्न हुन थाली । उसले सोँची आफनो स्वतन्त्रताको लागि अर्काको इच्छालाई दबाउनु पनि त भएन । ममा पनि सन्तानको इच्छा नभएको हैन तर यो समय र परिस्थितिको अगाडि आफ्नो मनसँग सम्झौता गरेकी थिएँ । आफ्नो इच्छाले मात्र कहाँ हुन्छ र ? सबैको मन एकै पनि त हुँदैन। मैले मात्रै चित्त बुझाउन सकेर भएन । अमिर, उसको बुवाआमा, नातासम्बन्ध सबैको मनले मानेको छैन । समाज छ, संस्कृति छ ।

घरपरिवार छ, सबैको साझा सम्बन्ध छ । हो हा,े ठिकै हो उसले भनेको । प्रकृति विरुद्ध भयो । समय र परस्थिति हेर सबैले हार खाए भने यो श्रृष्टि चल्ला पनि कसरी ? आन्ना मेरो नजिक आई यस्तै कुराहरू सोँच्दै । उसले राम्ररी मेरो मुखमा हेरी र केही भन्न खोजेझैं गरी तर उसको बोली फुटेन । मैले पनि उसलाई राम्ररी हेरेँ र गम्भीर हुँदै भनँ,े “हामी दुवैको दृष्य एउटै छ तर बुझाई फरक छ । तिमीले आफ्नै आँखाले हे¥यौ, मैले मेरै आँखाले हेरेँ । जस्को हृदय जस्तो छ उस्तै देखिँदो रहेछ । शरीरका आँखा एकै भए पनि हृदयका आँखा फरक हुँदा रहेछन्, यही त भयो हाम्रो बिडम्बना । मैले लामो सुस्केरा हालेँ र आन्नालाई हेरिरहेँ । उसले पनि मौनतापूर्वक मलाई हेरिरही । केहीबेरसम्म हाम्रा हृदयहरूले एकअर्कालाई पढिरहे । हामी दुवैको हृदयका बिच न्यानो स्पर्ष भयो, हाम्रा आँखाहरू भरिए । मन भरियो र दुवैको बिचमा भावमय मौन सम्झौता भयो ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ११ गते शनिबार