शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
३१ जिल्ला र तीन प्रदेश ओगटेको पश्चिम नेपाल पर्यटकीय दृष्टिले सम्भावनानै सम्भावना भएको क्षेत्रको रूपमा रहेको छ । यस क्षेत्रअन्तर्गत रहेका कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा पर्यटकीय सम्भावना अथाह रहेको छ । रारा र से–फोक्सुण्डो ताल, कालीकोट पचाल झरना, सुर्खेतको काँक्रेविहारमात्रै नभएर नेपाली भाषाको उद्गम थलो जुम्लाको सिञ्जा उपत्यकासहित कर्णालीमा दर्जनौँ पर्यटकीय स्थल रहेका छन् ।
उत्तरी छिमेकी देश चीन जोड्ने हिल्सा र धार्मिक पर्यटनको केन्द्र मानसरोवर अन्तरप्रदेशीय पर्यटकीय गन्तव्य हुन् । विश्वमा शान्तिको विगुल फुक्ने गौतम बुद्धको जन्मस्थान, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसहित विभिन्न भाषा, भेषभूषा, संस्कृति र रहनसहनको त्रिवेणी लुम्बिनी प्रदेश पर्यटकीय दृष्टिले निकै अघि रहेको प्रदेश हो । देशीविदेशी धार्मिक पर्यटकको प्रमुख रोजाइ खप्तड क्षेत्र, बडिमालिकामात्रै नभएर, ऐतिहासिक, धार्मिक र साँस्कृतिक दृष्टिले बहुल सभ्यता रहेको सुदूरपश्चिम प्रदेश आर्थिक समृद्धिसँग जोड्न सकिने थुपै्र सम्भावनाहरू छन् ।
तीन वटै प्रदेशमा रहेका विभिन्न पर्यटकीय स्थलहरूको भ्रमणका लागि हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरू भ्रमणका लागि पुग्ने गरेका छन्। यसरी देश तथा विदेशबाट भ्रमणका लागि आउने कर्णालीको प्रमुख पर्यटकीय स्थल हो, राराताल । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित यो ताल प्राकृतिक सौन्दर्यका दृष्टिले निकै मनमोहक रहेको छ । त्यहाँ पुग्दा पर्यटकहरू स्वर्ग पुगेको अनुभूति गर्छन् । पर्यटकीय दृष्टिले उत्कृष्ट गन्तव्य रहेको राराको विकासमा अझै ध्यान दिनुपर्ने देखिन्छ । थुप्रै अभावहरूसँग जुधिरहेको रारामा बर्सेनि हजारौँ पर्यटक पुग्ने गर्दछन् ।
आर्थिक वर्ष २०८१–०८२ मा कूल १९ हजार १ सय ४ जना आन्तरिक पर्यटकले रारा भ्रमण गरेका छन् । तीमध्ये पुरुषको सङ्ख्या १२ हजार ९ सय ३३ जना र महिलाको सङ्ख्या ६ हजार १ सय ७१ रहेको छ । रारा राष्ट्रिय निकुञ्जका अनुसार उक्त आर्थिक वर्षमा सार्क राष्ट्रभित्रका ७७ जना पर्यटकले रारा भ्रमण गरेका थिए । तीमध्ये पुरुषको सङ्ख्या ६४ र महिलाको सङ्ख्या १३ रहेको छ । रारा राष्ट्रिय निकुन्जका रेञ्जर ऋषिकेश यादव उक्त आर्थिक वर्षमा कूल २७६ जना बाह्य पर्यटक (विदेशी)ले भ्रमण गरेको बताउँछन् ।
उनका अनुसार तीमध्ये पुरुषको सङ्ख्या १६३ जना र महिलाको सङ्ख्या ११३ रहेको छ । चालू आर्थिक वर्ष २०८२–०८३ को हालसम्म कूल ३४६ जना पर्यटकले रारा भ्रमण गरिसकेका छन् । तीमध्ये २२६ जना पुरुष र १२० जना महिला रहेका छन् । रेन्जर यादव भन्छन्, ‘रारा भ्रमणमा आउने उपयुक्त सिजन यही हो । भदौ र असोज महिनामा धेरै पर्यटक आउँछन् । दसैँ बिदासँगै यहाँ पर्यटकको सङ्ख्या ह्वात्तै बढ्ने गर्दछ ।’ रारा पुग्ने पर्यटक कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै स्थलमार्गबाट र नेपालगन्ज र सुर्खेतबाट हवाईमार्गबाट समेत पुग्ने गरेका छन् ।
साना सवारी र मोटरसाइकलबाट समेत रारा पुग्न सकिन्छ । रारासहित कर्णालीको अर्को महत्वपूर्ण गन्तव्य हो, डोल्पास्थित शे–फोक्सुण्डो ताल। उच्च हिमाली भेगमा अवस्थित ताल पर्यटकको रोजाइमा पर्ने गरेको ताल हो । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालले भौगोलिक विकटता र आवश्यक सुविधा नभएका कारण शे–फोक्सुण्डो भ्रमणका लागि आउने सङ्ख्या न्यून रहेको बताए । पर्यटकीय महत्व बोकेको तालको विकास, संरक्षण, संवद्र्धन र प्रचारका लागि दीर्घकालीन योजना बन्न नसकेको उनले बताए ।
यसका लागि तीनै तहका सरकारले योजनाबद्धरूपमा अघि बढेर पर्यटकीय गतिविधि चलायमान गराउनसके पर्यटकीय गतिविधि बढाउन सकिने सम्भावना रहेको उनले बताए । आर्थिक वर्ष २०८१–०८२ मा लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय स्थल बर्दिया राष्ट्रिय निकुञ्जमा कूल २८ हजार ६७ जना आन्तरिक र बाह्य पर्यटकले भ्रमण गरेका छन् । तीमध्ये पुरुष १८ हजार ६६४ र महिलाको सङ्ख्या ९ हजार ४०३ जनाले निकुञ्ज भ्रमण गरेका हुन् । तीमध्ये नेपाली कूल १९ हजार १०, सार्क राष्ट्रका १ हजार ५ सय ४० जना र तेस्रो मुलुकका कूल ७ हजार ५ सय १७ जना पर्यटकले भ्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्वारा बर्दियाका रेन्जर सन्तबहादुर मगरले जानकारी दिए ।
बर्दिया बाघ पर्यटनका लागि प्रसिद्ध छ । यस्तै बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो । बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार निकुञ्जमा बाघसहित हात्तीसार, जंगल सफारीसहितको राम्रो सम्भावना रहेको छ । उनले सरकारले निकुञ्जको विकास र पर्यटकीय गन्तव्य स्थल बनाउनका लागि काम गरिरहेको बताए । यस क्षेत्रअन्तर्गत रहेका स्थानीय सरकार, प्रदेश सरकारका साथै निजी क्षेत्रसँग समन्वय गरेर विभिन्न गतिविधि सञ्चालन गरिएको उनको भनाइ छ ।
यस्तै सूदुरपश्चिम क्षेत्रको प्रमुख पर्यटकीय स्थलमध्येको एक खप्तड धार्मिक पर्यटनका लागि प्रसिद्ध छ । सुदूरपश्चिमको ‘भू–स्वर्ग’ उपनामले समेत चिनिने खप्तड बझाङ जिल्लामा रहेको छ । अध्यात्म, योग र ध्यानका लागि खप्तडलाई चिन्ने गरिन्छ । ठूल–ठूला पाटन (चौर), दह, जीवजन्तु र हिमाल त्यहाँको सौन्दर्यले भरिपूर्ण रहेको छ । खप्तड राष्ट्रिय निकुञ्जका सहायक वन संरक्षण अधिकृत बलराम यादव सुदूरपश्चिमका प्रमुख गन्तव्य क्षेत्रमध्येको एक खप्तड भएको बताउँछन् ।
ग्रामीण जीवन, पुराना शैलीका घरहरू र त्यहाँको सुन्दर प्रकृति पर्यटकका लागि विशेष आकर्षण रहेको उनले बताए । खप्तडमा आर्थिक वर्ष २०८१–०८२ मा कूल २ हजार ८१० जनाले भ्रमण गरेका थिए । तीमध्ये तेस्रो मुलुकका २४ जना, सार्क मुलुकका १६ जना र नेपाली पर्यटक २ हजार ७७० जना रहेका छन् ।
यसैगरी सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपि हिमाल बेसक्याम्प पनि पदयात्राका लागि प्रसिद्ध गन्तव्यको रूपमा रहेको छ । यसक्षेत्रको प्राकृतिक सुन्दरता, उच्च हिमाली दृश्यहरू र शान्त वातावरण यहाँका आकर्षण हुन् । अपि हिमाल सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल हो । यसले पदयात्राप्रेमीहरूका लागि दुर्गम र प्राचीन हिमाली क्षेत्रको अनुभव प्रदान गर्छ ।
यस्ता छन् तीन प्रदेशका पर्यटन नीति
सुदूरपश्चिममा केबलकार सपना
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२–०८३ मा ‘पर्यटन पूर्वधारः समृद्ध प्रदेशको आधार’ भन्ने नाराका साथ प्रदेशभरीका धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक र सीमसार तथा ताल तलैया क्षेत्रको संरक्षण विकास र पर्वद्धनका लागि ‘बाकावीर पर्यटन प्रवद्र्धन कार्यक्रम’ सञ्चालन गरिने उल्लेख छ । यस्तै देवाटवी धार्मिक पर्यटन सर्किटको निर्माण कार्य प्रारम्भ गरिने उल्लेख गरिएको छ ।
यस्तै राजनीतिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा योगदान पु¥याइ सुदूरपश्चिम प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने कार्य गरेका व्यक्तिहरूको जीवनी र योगदानका सम्बन्धमा अध्ययन, दस्तावेजीकरण, डकुमेन्ट्री निर्माण गरिनेछ । गसैगरी, खप्तड, बडिमालिका, दार्चुला माल्लिकाकार्जुन शिखर, सिगासधाम, रामारोशन लगायातका पर्यटकीय स्थलहरूको विकास कार्यक्रम सञ्चालन र तीन स्थानहरूमा केबलकार स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने, पर्यटन डिजिटल पोर्टल सञ्चालनका साथै पर्यापर्यटन विकासका लागि प्रदेशका हिमशिखर, हिमताल तथा झरना लगायतका प्राकृतिक सम्पदा संरक्षण गर्ने नीति लिइनेछ ।
बौद्ध सर्किट निर्माण र होमस्टे प्रवद्र्धनको योजना
आर्थिक वर्ष २०८२–०८३ मा लुम्बिनी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कूल १४ बुँदामा पर्यटन नीति समावेश गरेको छ । प्राचीन स्मारक, पुरातात्विक एवम् साँस्कृतिक सम्पदा तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धन गरी पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्ने, लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठन, प्रदेशभित्रका प्रमुख पर्यटकीय क्षेत्रलाई आकर्षक गन्तव्य स्थलको रूपमा विकास गर्न रूकुम पूर्व र रोल्पामा साहसिक तथा साँस्कृतिक पर्यटकीय गतिविधि सञ्चालन गर्ने, ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक, धार्मिक, जैविक एवम् प्राकृतिक महत्वका स्थान विशेषको संरक्षण गरी पर्यटन प्रवद्र्धन गरी प्राचीन स्मारक तथा संग्रहालय व्यवस्थापनसम्बन्धी कानुन निर्माण गरिने उल्लेख छ ।
लुम्बिनीलाई केन्द्र बनाई देवदह, रामग्राम, तिलौराकोट लगायतका सम्पदाहरू जोड्ने गरी बौद्ध सर्किटको विकास र प्रवद्र्धन र लुम्बिनी क्षेत्रका महत्वपूर्ण पर्यटकीय स्थलसम्बन्धी सूचना प्रवाह गर्न डिजिटल प्लेटफर्मको विकास गर्ने, नेपाल प्रवेश गर्ने स्थलमार्ग तथा विमानस्थलहरूमा पर्यटकीय गन्तव्यका सूचना र जानकारी विद्यतीय माध्यमबाट बहुभाषामा प्रकाशन गर्ने, स्थानीय समुदायको आयआर्जनका लागि प्राकृतिक सौन्दर्यता, मौलिक संस्कृति, अर्गानिक तथा रैथाने खाना र कोशेलीको प्रवद्र्धन गरी होमस्टे सञ्चालन गर्ने र प्रदेशमा रहेका उच्च हिमाल आरोहणका लागि स्थानीय तहसँग समन्वय गरेर बेसक्याम्प तथा पर्यटन मार्ग निर्माण गरिनेछ ।
‘संसारको नेपाल, नेपालको गन्तव्य कर्णाली’
कर्णाली प्रदेशले पनि आर्थिक वर्ष २०८२–०८३ मा कर्णाली प्रदेश पर्यटन गुरुयोजनाअन्तर्गत कार्ययोजना तर्जुमा गरी कर्णालीलाई ‘सुरक्षित पर्यटन गन्तव्य’को रूपमा विकास गरिनेछ । महत्वपूर्ण पर्यटकीय सम्पदा र स्थललाई पहुँचयोग्य बनाई ‘संसारको नेपाल, नेपालको गन्तव्य कर्णाली’ भन्ने अभियान सञ्चालन गर्ने, शे–फोक्सुण्डो ताल र रारा ताल जस्ता प्राकृतिक सम्पदासम्मको सुरक्षित पहुँचमार्ग निर्माण र विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गरिने उल्लेख गरिएको छ ।
यस्तै कर्णालीका पर्यटकीय क्षेत्रहरूको विकासका लागि ‘पर्यटन सूचना तथा अभिलेख केन्द्र स्थापना र डिजिटल म्याप’ निर्माणगरी सञ्चालन गर्ने र नीति क्षेत्र र स्थानीय तहसँगको समन्वय र साझेदारीमा रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, बन्जी जम्प, अल्ट्रा म्याराथन लगायतका साहसिक पर्यटकीय तथा होमस्टे प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
‘राज्यले पर्यटकमैत्री वातावरण बनाउनुपर्छ’
नोर्बु लामा
होटल व्यवसायी, जुम्ला
कर्णाली पर्यटकीय दृष्टिले राम्रो सम्भावना भएको क्षेत्र हो । यहाँ पर्यटकीय गतिविधि चलायमान गराउन सकियो भने आर्थिक उपार्जन गर्न सकिन्छ । यसका लागि राज्यले व्यवसायीहरूलाई उचित वातावरण सिर्जना गरिदिनुपर्छ । तीन तहका सरकार छन् । ती सरकारले व्यवसायका लागि वातावरण सिर्जना गरिदिए पुग्छ । हाम्रोमा आउने पर्यटकलाई हामी स्तरीय सेवा दिन तयार छौँ ।
अब दसैँ तिहारको माहोल सुरु भएको छ । यो पर्यटकहरू आउने समय हो । हाम्रो होटलमा विगतमा धेरै पर्यटनक आउँथे । कर्णालीका विभिन्न जिल्लाका पर्यटकीय स्थल घुम्न आउनेहरू हाम्रैमा आउँछन् । यसपटक खास्सै देखिएको छैन् । भर्खरै भएको आन्दोलनको प्रभाव हाम्रो व्यवसायमा समेत परेको छ । बुकिङसमेत क्यान्सिल भयो । अझै समय छ, हेरौँ के हुन्छ ।
‘बाँके, बर्दिया पर्यटकीय दृष्टिले उर्वर क्षेत्र हुन्’
भागिराम ओली
महासचिव, नाट्टा, बाँके
बाँके र बर्दिया पर्यटकीय दृष्टिले उर्वर क्षेत्र हुन् । यहाँ महत्वपूर्ण पर्यटकीय क्षेत्र छन् । विशेषगरी बाँकेबाट देशका विभिन्न क्षेत्रमा पर्यटकहरू जाने गर्दछन् । हिल्सादेखि मानसरोवर यात्रा गर्ने पर्यटक यतैबाट जाने गर्दछन् । तीनका लागि यहाँको पर्यटन व्यवसायलाई चलायमान बनाउन आवश्यक छ ।
नाट्टाले पर्यटकीय गतिविधि बढाउन काम गरिरहेको छ । दसैँ लागेसँगै धार्मिक पर्यटक बढेका छन् । उनीहरूलाई कर्णालीका विभिन्न क्षेत्र र सुदूरपश्चिमका धार्मिक पर्यटकीय स्थलहरूमा पठाउने काम गरिरहेका छौँ । यसैगरी नाट्टाले पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारमा समेत ध्यान दिएको अवस्था छ । यतिमात्रै होइन बाँकेबाट विश्वका विभिन्न देशमा घुम्न जानेहरूका लागिसमेत समन्वय गरिरहेको अवस्था छ ।









प्रतिक्रिया दिनुहोस्