गजल गुनगुनाउँदै बनारसतर्फ



कपिल लामिछाने

घरबाट निक्लँदै गर्दा जिन्दीका गजलकार वशिष्ठ अनूपको एक सेर याद आयो –

लपेटे चन्द उम्मीदें कमर में
मैं निकला हूँ अभी लम्बे सफर में ।

यात्रा वा सफर छोटै भए पनि यात्रा यात्रै हो । छाता ओढेर घरबाट निक्लेँ । धेरै दिनपछि पानी परेकाले पानीलाई स्वागत गर्नु थियो भने यात्रा पनि गर्नु नै थियो । अलि अलि रुझ्दै भिज्दै छाता ओढेर ढुक्कले हिँड्नुको पनि एउटा बेग्लै अर्थ र मजा रहेछ । साइतमा पानी पर्नुलाई हामी शुभ मान्छौँ । भदौ १२ गते (अगस्त २८ तारिख) बिहान साडे पाँच बजे भैरहवाको आकाश डम्म थियो । पानीका साना बाक्ला थोपाहरू धर्तीलाई सिञ्चन गर्दै थिए । भैरहवाको बुद्धचोक पुगेर एकछिन पर्खेपछि सुनौली (बेलहिया) जाने बस आयो । छाता झारेर बसभित्र छिरेँ । सुनौली पुगेर पैदलै सीमा पारि पुगेँ । सुनौलीको दसगजा काट्दा मन चसक्क भयो ।

देश छाड्दै छु । फेरि मन मसक्क भयो । देशको भाषा र साहित्यको शिर उँचो पार्न जाँदै छु । पारि ग्राहक पर्खेर बसेका ट्याक्सीले तानातान गर्न थाले । म एउटा ट्याक्सीमा बसेर हिँडिहालेँ । मलाई मोलमोलाइमा भुल्नु थिएन । यता पानी परेको थिएन । बाहिर बिहानैदेखि हप्प गर्मी थियो । यो भोजपुरी क्षेत्र हो । भैरहवा जस्तै हवा लागेका स्थाननाम यता पनि प्रशस्त रहेछन् । ट्याक्सीमा भोजपुरी गीत बजिरहेको थियो । दसगजा काट्दा छ बजेको थियो । धेरै होइन, थोरै भाषा फरक, वेशभूषा फरक, थोरै खानपान फरक, खेतीकिसानी फरक पाएँ । सांस्कृतिक साम्यता र भूमण्डलीकरणका कारणले धेरै फरकका बिचमा पनि उत्तिकै धेरै समानता पाएँ । सञ्चार र विद्युतीय उपकरण, औद्योगिक उत्पादन, चिया खाने तरिका र लत उस्तै रहेछन् । केही बानीबेहोरा पनि उस्तै । उनीहरू चिया पिउँछन् । हामी चिया खान्छौँ । फरक यत्ति त हो । चिया खाने भनेको सुनेर उनीहरू दङ्ग पर्दा रहेछन् ।

सुनौलीदेखि गोरखपुरसम्म जाने बाटो निर्माणाधीन छ । धेरै ठाउँमा बनिसकेको र केही ठाउँमा बन्दै गरेको छ । सडक जाम हुन अपाओस् भनेर ठाउँ ठाउँमा उपरीपथ (फ्लाईओभर) बनाइएको छ । निर्माण र विस्तार पूर्ण भएपछि आउन जान थप सहज हुनेछ । समयको पनि वचत हुनेछ ।
ट्याक्सीले झन्डै साडे दुई घन्टामा गोरखपुरको कचहरी बसपार्कमा पु¥याइदियो । बसमा आएको भए तीनचार घन्टा लाग्न सक्थ्यो । बनारस जाने वातानुकूलित बस खोजेँ । पाइयो । बस छुट्न आधा घन्टा समय बाँकी थियो । एउटा पसलमा पसेर चियाको तलतल मेटाएँ ।

गोरखपुर राप्ती नदीका किनारमा बसेको एउटा ठुलो सहर हो । यहाँ गोरखनाथको प्रसिद्ध मन्दिर छ, जहाँ दिनहुँ हजारौँ तिर्थालु पुग्छन् ।गोरखनाथको सम्बन्ध हाम्रो गोर्खासँग छ । यहाँ ठुला ठुला उद्योग छन् । प्रकाशन संस्था छन् । कलेज छन् । विश्वविद्यालय छ । रेल वे र रोड वेको ठुलो सञ्जाल छ । आमा रुँदै गाम बेसी मेलैमा । छोरो रुँदै गोरखपुर रेलैमा । उहिल्यै यो लोकगीत खुब घन्किन्थ्यो रेडियोबाट । गोरखपुरबाट बस साडे नौ बजे छुट्यो । अचिना यात्रु भेटिए । घरबाट एक्लै निक्लेको थिएँ । चिनारु भइयो । आत्मीयता साटियो । यात्रामा साथी साथमा लानुपर्छ भन्ने केही रहेनछ । तमिज भए जहाँ पुग्यो त्यहीँ साथी पाइँदो रहेछ । केही साथी त मेरा झोलामा पनि थिए ।

प्रसङ्ग हो, बनारसमा सम्पन्न अन्तर्राष्ट्रिय गजल सङ्गोष्ठीको । काशी हिन्दु विश्वविद्यालयको हिन्दी विभाग र साहित्य अकादमी (दिल्ली) को संयुक्त तŒवावधानमा सन् २०२५ अगस्त २९ देखि ३१ सम्म बनारसमा सम्भवतः प्रथमपटक अन्तर्राष्ट्रिय गजल सङ्गोष्ठी हुँदै थियो । सो अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा सहभागी हुन मलाई ६ जुनमा नै पहिले फोनबाट र पछि इमेलबाट आमन्त्रण गरिएको थियो । दुईचार गजल लेखेको भए पनि मैले तिनलाई प्रकाशन गरेको छैन । मैले गजललाई आफ्नो विधा बनाएको छैन । तर गजल पढ्छुु, सुन्छु र गजलका बारेमा केही लेखेको पनि छु । नेपाली गजलको आदिभूमि बनारसमा नेपाली गजलको विगत र वर्तमानको अवस्थाका बारेमा प्रकाश पार्न पाउनु मेरा लागि सुनौलो अवसर थियो । त्यसैले मैले आमन्त्रण स्वीकार गरेको हुँ ।

हिन्दी गजलको विकासमा दुष्यन्त कुमार त्यागीको ठुलो योगदान रहेको छ । अरबी, फारसी र उर्दू भाषामा रहेको गजललाई दुष्यन्त कुमारले हिन्दीमा प्रस्तुत गरेर नयाँ अध्याय थपेका हुन् । साये में धूप (सन् १९७५) उनको प्रसिद्ध गजलसङ्ग्रह हो । खासगरी सन् १९७० र १०७५ का बिचमा उनले गजल लेखे । उनका गजल विद्रोहको आगो ओकल्ने खालका छन् । उनका गजलका हरेक सेर उल्लेख्य छन् । एक सेर – कैसे आसमान में सुराग नहीं हो सकता÷ एक पत्थर तो तबियत से उछालो यारों । उनका गजलमा क्रान्ति र परिवर्तनको चाह र राह रहेको छ । सन् २०२५ सो गजलसङ्ग्रह प्रकाशित भएको पचासौँ वर्ष पनि हो । दुष्यन्त कुमारको पचासौँ स्मृति दिवस पनि हो । उपलक्ष्य यही हो । एउटा पुस्तक र त्यसका स्रष्टाप्रति कत्रो सम्मान ! मेरो पनि श्रद्धा सुमन दुष्यन्त !

मिर्जा असदुल्ला खाँ ‘गलिब’, मीर तकी ‘मीर’, फिराक गोरखपुरी, फैज अहमद फैज, दुष्यन्त कुमार, राहत इन्दौरी, निदा फाजली, वसीम बरेलवी, राजेन्द्रनाथ रहबर, कुँवर बेचैन, रतन पण्डोरवी, जोश मलसियानी आदि हिन्दीका पुराना प्रमुख गजलकार हुन् । यीमध्येमा दुष्यन्त कुमार आगोका फूलका रूपमा देखपरेका छन् ।

हिन्दी विभागका विभागीय प्रमुख वशिष्ठ अनूप एक प्रख्यात साहित्यस्रष्टा हुनुहुन्छ । उहाँका कविता, गीत, गजलका एक दर्जन सङ्ग्रह तथा यसभन्दा बढी शोध समालोचनाका ग्रन्थ प्रकाशित छन् । गीत लेखनपछि उहाँ गजलमा लाग्नुभयो र समर्पित भएर लाग्नुभयो । समकालीन हिन्दी गजलको एक सम्मानित नाम हो वशिष्ठ अनूप । “आप आएँ और नेपाली गजल पे बोलेँ ।” भन्दै हिन्दीमा उहाँले मलाई जोड लगाएर आमन्त्रण गर्नुभयो । मैले नाइँ भन्न सकिनँ । मेरा लागि गजल र हिन्दी गजललाई नजिकबाट बुझ्ने यो अवसर थियो भने नेपाली गजलको गुञ्जन त्यहाँसम्म पु¥याउने मौका पनि थियो । त्यसैले यात्रामा छु ।

बाटोमा साथी चाहिन्छ । भदौ ६ गते विख्यात बालसाहित्य स्रष्टा तेजप्रकाश श्रेष्ठको निवास तीनथाना, काठमाडौँमा हाम्रो पारिवारिक भेटघाट थियो । सो अवसरमा उहाँले भूमेको रोमाञ्चक यात्रा र पृथ्वीको उत्पत्ति तथा अन्य मेचे लोककथाहरू गरी दुई पुस्तक दिनुभयो । कतिखेर पढ्ने ? मेरो मनमा प्रश्न थियो । ७ गते शनिबार साहित्य–सन्ध्याको ऐतिहासिक कार्यक्रममा बिताएँ । ८ गते भैरहवा प्रस्थान गरेँ । बाटोमा भूमेको रोमाञ्चक यात्रा पढेर सकेँ । ९ र १० गते केही भेटघाट पारिवारिक काम अनि ११ गते एक अत्यावश्यक बैठकमा सहभागी हुन पुगेँ, दाङको लमहीमा । बनारसको बस यात्रामा बिसाई बिसाई पृथ्वीको उत्पत्ति तथा अन्य मेचे लोककथाहरू पुस्तक पढेँ । पहिलो पुस्तकलाई बुझ्न यो दोस्रो पुस्तक पढ्नैपर्ने रहेछ । पढेपछि थाहा पाएँ । पहिले पहिले मानिसहरू प्रतीक्षालय र यात्रामा पत्रपत्रिका र पुस्तक पढ्थे ।

म पनि पढ्थेँ । अचेल हरेकको हातमा मोबाइल हुन्छ र मोबाइलमै व्यस्त रहन्छन् । बसमा पुस्तक पढेको देखेर यात्रुहरूले मलाई आश्चर्य मानेर हेरेको मैले महसुस गरेँ । मानौँ म अर्कै ग्रहबाट आएको प्राणी हुँ । मेरा लागि भने यी अबोला प्रिय साथी भए । मलाई लाग्छ पढ्ने मान्छे कहिल्यै एक्लो हुँदैन र लेख्ने मान्छेलाई कहिल्यै फुर्सत पनि हुँदैन । मलाई सिर्जनाका लागि उत्साहित गर्नेहरू धेरै छन् । केही काँडा पनि छन् । “लेखेर के हुन्छ ?”, “कथाकुथुङ्ग्री लेख्दैमा कोही सिर्जनशील हुँदैन ।” विगतमा आफ्नै सहकर्मीका यस्ता काँडाले मलाई नचिथोरेका होइनन् । तर मलाई लाग्छ, काँडा नभएको भए गुलाबको फूलमा वासना लाग्ने थिएन । लेखन पठनले नै मलाई निम्तो आएको छ । यस्तो अन्तर्राष्ट्रिय सङ्गोष्ठीका लागि बनारस चौथोपटक जाँदै छु । … म कुनै चोटले टुट्ने गरेको छैन । म छिटो हार खाने मान्छे होइन । यस्तो बेला वशिष्ठ अनूपको एक सेर याद आउँछ – कोई ख्वाब टूटा है अक्सर झनककर÷ कोई ख्वाब फिर–फिर सजाना पड़ा है । मनै हो, टुट्न खोज्छ, म समालिएर पुनः कर्मपथमा डट्दै आएको छु, खट्दै आएको छु ।

बस बडहलगञ्ज पुगेछ । यो गोरखपुरको एउटा सहर हो । यो सहर धेरै नदीहरूले घेरिएको छ । घाघरा नदीको किनारमा अवस्थित छ र यो सहरलाई सरयू नदीमाथिको पुलले मउ जिल्लासँग जोडेको छ । यही सहरको सहडौली गाउँमा सन् १९६२ मा गजलकार वशिष्ठ अनूपको जन्म भएको हो । धन्य छ यो भूमि । बसबाटै यस धर्तीको माटोलाई नमन गर्दछु, म । केही समय पुस्तकसित कुरा गरेँ अन पुस्तक बन्द गरेर बाहिर हेरेँ । संयोग ! सरयूको पुल तर्दै रहेछौँ । सरयूको सन्दर्भ ऋग्वेद, रामायण, रामचरितमानस, कालिदासको रघुवंश महाकाव्य, बौद्ध साहित्यमा पनि आउँछ । यहाँ मैले सरयू नदीको सौम्य स्वरूप देखेँ । स्थानअनुसार नाम फेर्दै काली, महाकाली, शारदा, कर्णाली, घाघरा हुँदै यहाँ यो सरयू भएर आएको छ । वर्षाको बेला यतिखेर यो उर्लेको हुनुपर्ने हो ।

सायद शारदा र घाघरामै त्यो खहरे बेगलाई छाडेर अहिले यो सौम्य शान्त भएर बगिरहेको छ । नेपालको कर्णाली भारत पसेपछि घाघरा हुन्छ । काली र महाकाली शारदा बनेर बग्दै गर्दा सीतापुर पुगेर कर्णाली मिसिएपछि यो सरयू भएर आएको हो । ससाना खोला र नदीहरूलाई समेटेर सरयू बनेको छ । बिहारको रेलवेगन्जमा पुगेपछि यो यसभन्दा ठुलो भागीरथी गङ्गामा विलय हुन्छ । अरुलाई आफूमा विलय गराउनेको पनि अरुमा विलय हुँदो रहेछ नि । गजलमा यस्ता हाँगाबिँगा छन् कि छैनन् ? खोज्नु छ । बस आफ्नो गतिमा एकनासले गुडिरहेको छ । म बनारसलाई सम्झिरहेको छु । वाराणसी र काशी भनेको पनि यही हो । बनारस त अङ्ग्रेजले दिएको नाम हो । यो भारतको उत्तर प्रदेश राज्यको एउटा प्राचीन सहर हो, जुन संसारको प्राचीन सहरहरूमध्ये एक हो । यो गङ्गा नदीको किनारमा अवस्थित छ । यसलाई मन्दिरहरूको सहर, धार्मिक राजधानी, शिवको नगर, ज्ञानको सहरका रूपमा पनि चिनिन्छ । यो हिन्दु, बौद्ध र जैन धर्मको एक तीर्थस्थल हो ।

यो उहिल्यैदेखि शिक्षा, संस्कृति, सङ्गीतको केन्द्रस्थल पनि हो । कबीर, वल्लभाचार्य, रविदास, स्वामी रामानन्द, शिवानन्द गोस्वामी, मुन्सी प्रेमचन्द, जयशंकर प्रसाद, आचार्य रामचन्द्र शुक्ल, पण्डित रवि शंकर, गिरिजा देवी, पण्डित हरिप्रसाद चौरसिया, हजारीप्रसाद द्विवेदी, हरिवंश राय बच्चन र उस्ताद बिस्मिल्ला खान आदि धेरै दार्शनिक, कवि, लेखक, सङ्गीतकारको साधनामूमि पनि हो यो । तुलसीदासले रामचरितमानस यहीँ बसेर लेखेका थिए । गौतम बुद्धले पहिलो उपदेश यहीँ (सारनाथमा) दिएका थिए । यहाँ बनारस हिन्दु विश्वविद्यालयका साथै महात्मा गान्धी काशी विद्यापीठ र सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय छन् । यो धेरै विद्या, विधा र विषयको राजधानी हो । के यो गजलको पनि राजधानी हो ? यस प्रश्नको उत्तर खोज्नै छ ।

बस आजमगढ पुग्यो, तर जाममा पर्ने सम्भावना भएर होला, बसपार्कभित्र नछिरी मूल सडकमै रोकियो । बसबाट धेरै यात्रु ओर्ले । अझ धेरै चढे । यसबाट यो ठुलो आबादी भएको सहर रहेछ भन्ने बुझिन्छ । मैले पुस्तकलाई दोहो¥याउन नपाउँदै परिचालकले लालगन्ज भनेको सुनेँ । यो आजमगढको अर्को सहर रहेछ । यहाँ पनि यात्रु ओर्लने र चढ्ने काम भयो । मलाई लाग्छ, अब वाराणसी धेरै टाढा छैन । गजलधानी अब टाढा छैन ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ४ गते शनिबार